उपन्यास लेख्ने कुस्तीवाज

कविता विमल लामिछाने May 2, 2026, 2:48 pm

विमल लामिछाने
विमल लामिछाने
के सफलता हो र ? निरीहमाथि शासनको छडी घुमाउनु

के गौरव हो र ? आफ्नै नागरिकको निद्रा र सपना लुकाउनु ?

पुरानाको ‘ओठेभक्ति’ले वाक्क भएका यी आँखाहरू

नयाँको ‘डोजर–नीति’मा आज आफ्नै चिहान देख्दैछन् ।

नारामा त न्याय थियो, तर व्यवहारमा दमन छ

सडक चिल्ला त होलान, तर फेर्ने हावामा विष छ

इतिहासले ठगेका ती किनाराका मानिसहरू

आज आफ्नै भोटको उपहार— घर न घाटका बन्दैछन् ।

खबरदार ओ शासक !

एउटा कुशल कुस्तीवाजले उपन्यास लेख्न खोज्दा

साहित्य मर्दछ, शब्दहरू रगतले लतपतिन्छन्

जहाँ संवादको ढोका बन्द हुन्छ र दम्भको पर्खाल उठ्छ

त्यहाँ लोकतन्त्र होइन, जंगी शासनको छायाँ नाचिरहेछ ।

तिमीलाई सहरको रङको चिन्ता छ,

तर भोको पेटलाई चुल्होको चिन्ता छ

तिमीलाई सुन्दरताको चिन्ता छ,

तर निमुखालाई बासको चिन्ता छ

हरियो बर्दी र बुटको आवाजले जब बस्ती थर्किन्छ

बुझ, त्यो राष्ट्रवाद होइन, नागरिकको अपमान हो ।

पहाड रित्तिँदै छ, युवाले धर्ती छाड्दैछन्

जलवायुको संकटले ढोका ढक्ढक्याइरहेछ

यस्तो ‘त्रि–आयामी’ यथार्थलाई दुई आयाम’मा नहेर

सत्ताको आत्ममुग्धतामा आफ्नै धरातल नबिर्स ।।

सचेत होऊ ए नागरिक !

विकल्पको नाममा हामीले ‘नायक’ त खोज्यौँ

तर बिर्सियौँ, विधि र थिति विनाको नायक त निरंकुश हुन्छ

धोका त पुरानैले दिएका हुन्, जसले थिति बिगारे

तर नयाँले त थितिको घाँटी नै थिच्न थाले !

राष्ट्र केवल नक्सा र ढुंगाको थुप्रो होइन

राष्ट्र त नागरिकको ‘गरिमा’ र ‘जीविका’को नाम हो

जहाँ मान्छेको अस्तित्व र आत्मसम्मान सुरक्षित रहन्छ

साँचो राष्ट्रियता केवल त्यहीँ जीवित रहन्छ ।

अब डोजरले होइन, विवेकले बाटो खन

लाठीले होइन, संवादले मनहरू जोड

किनकि इतिहास साक्षी छ–

जुन सत्ताले जनतालाई दबाउन थाल्छ

त्यो सत्ताको पतनको दिनगन्ती सुरु भइसकेको हुन्छ । ।

दमक, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।