गीत

गीत श्रमिक बराल May 3, 2026, 6:40 pm

श्रमिक बराल
श्रमिक बराल
भेट छुट्यो, मनै सुक्यो, मायाले भिजाइदेऊ न

लौ न सानु ! कता जानुॽ त्यतै बोलाइदेऊ न

बर्खा लागे खहरे नि, बढेर उर्लिँदोरै’छ

घाम–पानी पायो भने, फूल पनि फक्रिँदोरै’छ

मनै दुख्यो, आँसु सुक्यो, त्यतै डोराइदेऊ न

लौ न सानु ! कता जानुॽ त्यतै बोलाइदेऊ न

आँगन त टेडो छैन, नाच्ने ढङ्ग पुगेन किॽ

जीवन छैन हरियाली, कतै रङ्ग पुगेन किॽ

मनले कुट्यो, शिरै झुक्यो, हेर्दै टोलाइदेऊ न

लौ न सानु ! कता जानुॽ त्यतै बोलाइदेऊ न

पोखरा, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।