हराएका जीवनहरु

कविता प्रकाशचन्द्र खतिवडा May 26, 2026, 8:18 am

प्रकाशचन्द्र खतिवडा
प्रकाशचन्द्र खतिवडा
कविता लेख्नु कविको धर्म ठानिए पनि

अक्सर म अकविता लेख्न रुचाउँछु

मलाई कविहरु अराजक ठान्छन

म परिवर्तनको कविता लेख्छु ।

म रोज्दिन भव्य महल

झुपडी मै रमाउँला

म चुस्दिनँ श्रमिकको पसिना

दश नङ्गानै खियाउँला

म खोज्दिन वैभवी जीवन

ढिडो रोटो नै खाउँला

म बर्जित गरिएको छु

मूलबाटो हिड्नलाई

जबरजस्त म हिड्ने छु मूलबाटो

तिनीहरुलाई धकेल्दै,

तिनीहरु आँखा तरी हेर्लान

म मुसुक्क मुस्कुराउनु पर्ला ।

दुःखको सगर बगिरहेछ

डुङ्गा उतार्ने माझी छैन

अनिकाल टार्ने महापुरुष भेटिएको छैन

गरिवीको खाडल गहिरि रहेछ

गरिवीको खाडल पुर्ने सारथि भेटिएको छैन

आफ्ना आफ्ना डम्फु बजाउन व्यस्त छन मान्छेहरु

जीवनको सुन्दर सपना खोसाउँदै

बेवारिशे विपनाको खोजी नगरी

मृत्यु हेरी बस्छन अभिशप्त जिन्दगीहरु

जीवन अर्घेलो थाप्ने प्रपञ्चमा

जीवनको सौदाबाजी गुमाइ रहेछन मान्छेहरु ।

तिम्रो र मेरो भविष्य विथोल्नेहरु

जीवनको छक्का पञ्जा हानि रहेछन

जीवन सुकोमल फूल हो भनुँ कसरी ?

लुटेराहरु जीवन लुटि रहेछन

पुष्पाहार पहिराउनु पथ्र्यो

मालीहरु निराश भए पनि ।

म काँडाको बिचमा उभ्भिएको छु

पाइताला टेक्ने ठाउँ छैन

म हाँसेर रोइरहेको छु

आँसु पुछिदिने कोही छैन

जीवन संघर्ष हो भनुँ कसरी ?

म जीवन देखि भागि रहेको छु ।

भागेर मुक्ति मिल्दैन

मागेर छाक टर्दैन

मैले फाल्नु छ

कुरीति र कुशासन

मैले ढाल्नु छ

बेथिति र कुसंस्कार ।

म मोर्चामा सामेल हुँला

मेरो यात्रा जारी राख्दै

म पुगुँला गन्तव्य

अनि खोजौला हराएका जीवनहरु ।

सुन्दरहरैंचा –०६, दुलारी, मोरङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।