अधुरो मिलन

कविता गोविन्द सुबेदी May 26, 2026, 8:29 am

गोविन्द सुबेदी
गोविन्द सुबेदी
धेरैपछि तिमीले हालखबर भए नि सोध्यौ,

के भन्नू आफ्नो भन्न नपाएको मान्छेसँग ।

शब्दहरू ओठमै आएर रोकिन्छन्,

मनका भेलहरू

आफैंभित्रै डुबेर हराउँछन् ।

कति पटक सोचेको थिएँ—

यदि तिमीले सोध्यौ भने,

सबै भन्छु,

मनको कुना–कुनामा थन्किएका

ती अधुरा भावनाहरू खोल्छु ।

तर जब तिमी आयौ,

शब्दहरू किन यति पराइ भए ?

सायद समयले

हामीबीच दूरी मात्र होइन,

भावनाको भाषा नै फेरिदियो ।

जहाँ पहिले

नजरले कुरा बुझ्थ्यो,

आज त्यही नजर

अपरिचित झैँ टोलाउँछ ।

तिमीले सोध्यौ—

“कस्तो छौ?“

र म मुस्कुराएँ,

त्यो मुस्कानमा

कति आँसु लुकेको थियो,

तिमीले देखेनौ,

शायद देख्न चाहेनौ ।

के भन्थेँ र ?

ती रातहरूको कथा

जहाँ निद्रा आउँदैनथ्यो,

तिमी सम्झिँदा

समय रोकिन्थ्यो,

र मनले हजारौँ प्रश्न सोध्थ्यो—

“किन टाढा भयौ?“

तिमीलाई थाहा थिएन,

म भित्र कति पटक

तिमीलाई बोलाएको थिएँ,

तर आवाज

हावामा हराउँदै गयो,

र म आफैंभित्र

कैदी बन्दै गएँ ।

धेरैपछि आएको तिमी,

अब अपरिचितजस्तो लाग्छौ,

जससँग म

आफ्नो मन खोल्न सक्दिनँ ।

किनकि अब

त्यो सम्बन्धको परिभाषा

बदलिएको छ ।

पहिले तिमी मेरो थियौ,

आज तिमी केवल

एक सम्झना हौ,

सुन्दर तर टाढा,

नजिक आउन नसकिने ।

के भन्नू तिमीलाई?

त्यो प्रेमको कथा

जुन अधुरै रह्यो,

त्यो विश्वास

जुन समयले चोर्यो,

र त्यो आशा

जुन बिस्तारै मरेको थियो ।

तिमीले हालखबर सोध्यौ,

तर मसँग

हालखबरभन्दा बढी

घाउहरू छन्,

जसलाई शब्दमा उतार्न

अब मसँग शक्ति छैन ।

त्यसैले म चुप लागेँ,

मुस्कुराएँ फेरि,

र भित्रैबाट भनेँ—

“म ठिकै छु,“

तर त्यो “ठिकै“

मेरो सबैभन्दा ठूलो झुट थियो ।

धेरैपछि तिमीले सोध्यौ,

तर अब

भन्ने समय बितिसकेको छ,

भावनाहरू

पुराना किताबजस्तै बन्द छन्,

र म—

अब त्यो मान्छे होइन

जसले तिमीलाई

सबै कुरा भन्न सक्थ्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।