कोड ००९१३१२Z

कविता तोमनाथ उप्रेती June 11, 2026, 8:46 am

तोमनाथ उप्रेती
तोमनाथ उप्रेती
त्यो कागजको टुक्रा होइन

मेरो समयको मुटु हो

००९१३१२ Z

अक्षर होइन

मेरो सपनाको हस्ताक्षर हो।

त्यो बिहान

जब हात काँप्दै थियो

कलमले होइन,

आँखाभित्रको डरले लेखिएको थियो भविष्य।

कक्षाकोठाको मौनतामा

घडीले समय होइन

धड्कन गनिरहेको थियो।

र म

उत्तर खोजिरहेको विद्यार्थी

आफ्नै भाग्यसँग परीक्षा दिइरहेको मान्छे थिएँ।

००९१३१२Z

त्यो केवल कोड थिएन

त्यो मेरो गाउँको धुलो थियो

आमाको चिसो चियाको बाफ थियो

बुवाको मौन आशा थियो।

त्यो अक्षर “Z”

जस्तो अन्त्य जस्तो देखिन्थ्यो

तर त्यही अन्त्यभित्र

सुरुवात लुकेको थियो

मेरो नयाँ जन्मको।

परीक्षाको हलमा

जब कलम रोकियो

मलाई लाग्यो

मैले उत्तर होइन

आफ्नो डर लेखिसकेको छु।

समयले मलाई सोध्यो

तँ को होस्?

र मसँग एउटै उत्तर थियो

म ००९१३१२ Z हुँ।

त्यो दिनदेखि

म नम्बर होइन

स्मृति भएँ।

अंक होइन,

अनुभव भएँ।

आज पनि जब आँखा बन्द गर्छु

त्यही कोड बोल्छ

मलाई सम्झाउँदै

जीवन पनि एउटा परीक्षा हो

जहाँ पास–फेलभन्दा ठूलो कुरा

बाँच्ने साहस हुन्छ।

रतुवामार्इ ५, मोरङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।