आउने-जानेहरूको ती कोठातर्फ नजर पर्दा अनुहारमा फरकपन देखिन्छ । केही आगन्तुकले नजरसँगै घृणाले नाक खुम्च्याउँथे। कोठामा बसेका र सुतेर पनि ननिदाएकाहरुको पनि आउने जाने प्रति नजर त पर्नेनै भयो । नजर जुद्धा कोठामा रहेकाहरुले पनि कटाक्ष गर्दै आँखा तर्दथे । अरूले झैँ कटाक्ष गर्नुको सट्टा बिर्खबहादुर भने शून्य नजरले टोलाइरहन्थ्यो। थुनुवालाई भेटन पाउने समयमा लविको छेउको फलामे च्यानल गेटनेर रहेको खाली स्थानमा दैनिक भिड्भाड हुन्छ । प्रायको नाम बोलाइन्छ । एक एक गरी भित्रकाले खाली भाँडा दिने र बाहिरबाट भेट्न आउनेले ल्याएका पोका भाँडा भित्रदिने क्रमचल्छ । बिर्खबहादुर भनेर बोलाएको कुनै दिन सुनिदैन । भेटको समय पछि कोठामा रहेने कसैको हातमा फलफुल, कसैको हातमा मासु चिउरा. कसैको हातमा सेलरोटी र अचार । बिर्खबहादुरलाई भने भेटन आउलान् भन्ने प्रतिक्षा पनि छैन खानाको आश पनि छैन । नजिकमा रहेको कसैले दिएको थोरै खाए पनि, ऊ मौन नै रहन्थ्यो । उसका आँखा भने भित्रै कतै विगतमा हराइरहेका थिए । अरुले जस्तो बहिरका मान्छेले आँखा गाडेर हेर्दा बिर्खबहादुरले हेर्नेलाई आँखा तरेर पनि हेर्दैन । उसका आँखा आफैमा उदास छन् ।
चलचित्रका दृष्य जस्तै उसको मनमा पटक पटक विगतका घटनाहरु घुमिरहन्छन् । बिर्खबहादुर चार–पाँच वर्षको हुँदा उसका बाबु कृष्णबहादुर ज्यानमारा मुद्दामा जेल परे। किन, कसरी—उसलाई थाहा थिएन । बज्यैले कहिलेकाहीँ भन्थिन्-“मेरो छोरा सोझो थियो, उसलाई फसाइयो…” बाबु जेल परेको एक वर्ष नहुँदै उसकी आमाले दोस्रो विहे गरिन् । भरभराउँदो युवती कसरी बसुन् ज्यान केसमा जेल परेको लोग्नेलाई बर्षौ पर्खेर ? अदालतले तोकेको २० वर्ष उनको लागि त सिङ्गै एक युग थियो । हुन पनि २४ वर्षे उनको जवानीले २० वर्ष पछिसम्म पर्खन सक्दैनथ्यो । उमेरको तिर्खा र भविष्यको डरले ममतालाई जित्यो। बिर्खबहादुर टुहुरो हुन पुग्यो । अब उसको संसार एउटै थियो-उसकी बज्यै । उसको बाबु भने पनि आमा भने पनि उसकी बज्यै । टुहुरोको एक मात्र सहारा बज्यै।
आफु कालो अक्षर भैँसी बराबर भएकी बज्यैले छोरालाई समेत पढाउन नपाएकोमा पश्चाताप थियो । नातीलाई नजिकमा रहेको प्राथमिक विद्यालयमा भर्ना गराइदिन् । छ वर्षको बिर्खबहादुर टुकु टुकु विद्यालयमा जान सुरु गर्यो । घरमा दाजु भाइ दिदी बहिनी कोही नभएको बिर्खबहादुरलाई विद्यालयमा धेरै साथीहरु हुने, खेल्न पनि पाइने, सर, मेडमहरुसँग पढ्न पनि पाइने, दंग थियो । सर मेडमले भन्ने गर्थे "टुहुरो भए पनि कस्तो फुर्ति, कस्तो चलाख " । उसको खुशी धेरै दिन टिक्न सकेन । उसको दौतरी त के माथिल्लो कक्षाका दाइ दिदीसँग खेल्दा पनि उसले जित्थ्यो ? उ मिसिएको समान उमेरको टिम पनि सधै विजयी । तर जीतको खुशियाली भन्दा पनि उसलाई हार्ने व्यक्तिले प्रयोग गर्ने "ज्यानमाराको छोरा" उपनामले खिन्न बनाउथ्यो । खेल जित्दा पनि उसैलाई दोष, हार्दा पनि उसैलाई गाली । 'ज्यानमाराको छोरा” भन्ने शब्दले उसको मनमा गहिरो चोट पार्थ्यो। त्यो शब्द केवल गाली होइन, उसको अस्तित्वमाथि प्रहार थियो । एक दिन उसँगैको साथीलाई कुहिनोले घच्च लागेछ । उसले साथीलाई घच्याउने चाहनाले त्यसो गरेको पनि थिएन । उसले रोए जस्तो अभिनय गर्दै शिक्षकलाई लगाइहाल्यो सर ज्यानमाराको छोराले हान्यो । शिक्षकहरुले न्याय गर्छन् भन्ने ठान्थ्यो बिर्खबहादुर । त्यस दिन शिक्षकले पनि अगाडी बोलाएर "बाबु जस्तो हुने होइन" । गल्ती गरे जेलमा परिन्छ भन्ने थाह छैन । मात्र भनेन् अन्तिममा "ज्यानमाराको छोरा" भन्न पनि बाँकी राखेनन् । शिक्षकलाई त्यो सामन्य थियो तर उसको लागि आकासै खसेजस्तो भयो । शिक्षकले बाबु जस्तो नबन" भन्नु उसको लागि संसारकै सबैभन्दा ठूलो गाली र सजायभन्दा ठूलो चोट थियो। त्यस दिनदेखि उसले विद्यालय मात्र होइन, शिक्षकमाथिको विश्वास पनि गुमायो । त्यस दिन जेन तेन बस्यो र झोला बोकेर घर फर्क्यो। बेलुकी बज्यैले खाना बोलाउँदा पनि उ खान मन गरेन । करलगाएर बज्यैले बनाएको खाना खुवाइन । भोलिपल्ट खाना खान हतार गर्ने र भौकै भए पनि विद्यालय जान्छु भन्ने बिर्खबहादुरले खाना खान पनि खोजेन र विद्यालय जान हतार पनि गरेन । बज्यैले खाना बोलाउदा उल्टै खाना पनि खान्न स्कुल पनि जान्न पो भन्न थाल्यो । बज्यैले पढेलेखेर ज्ञानी मान्छे बन्नु पर्छ, स्कुल जानु पर्छ । भनेर सम्झाइन उसले मानेन । दिक्क भएर बज्यैले स्कुल नगए पनि नजालास् खाना त खा भने पछि मात्र थरै खाना खायो । त्यस दिन देखि विद्यालयमा गएन । गाउँमा उसका मिल्ने साथीहरुसँग खेल्थ्यो । विद्यालय घरको नजिकै थियो । विदाको दिन विद्यालयमा जान्थ्यो र विद्यालयको चौरमा खेल्थ्यो । उसको लागि पढाइ लेखाइ विराना भए ।
उ बज्यैको एक मात्र साहारा थियो । उसको पनि एक मात्र आमा भने पनि, बाबु भने पनि, अभिभावक भने पनि, माया गर्ने मान्छे जे भने पनि बज्यै नै थिइन । बज्यैलाई छोरा जेल परेको, बुहारी घर छाडेर गएको सबै दुख विर्साउने त्यहि बिर्खबहादुर थियो । त्यसैको मुख हेरेर त्यसैको साहराको लागि उनि बाँच्ने निहुँ थियो ।
पढाइ लेखाइ रोकिए पनि समय त रोकिने भएन । उसकी बज्यै झनै बुढी हुदै गइन् । जीवनका ठुला ठुला बज्रपात सहने बानी परेको उनको शरीर पनि कुप्रिइ सकेको, मासुले छाडेर हाड र छालामात्रको फुकिढल भै सकेको थियो । एक दिन निकै विरामी परिन् । खडाइले बारेको र खरले छाएको तिनीहरुको घर तथा झुप्रोमा विरामी हुँदा अस्पताल लैजाने पैसा थिएन । झुप्रोमा त थोत्रा, झुत्रा झुत्रा परेका एक जोर ओडने ओछ्याउने र नाति बज्यैका टालटुल पारेर बनाएका लगाउने कपडा, दुईजनालाई खाना पकाउने ताउली, भजालो र खाना खाने थाल र बटुका मात्र । सम्पत्ति भने पनि त्यहि थियो जायजेथा भने पनि त्यहि झुप्रो । अस्पताल जान गाडी भाडा तिर्ने अस्पतालको शुल्क तिर्ने पैसा उनीसँग कसरी होस् । बिर्खबहादुर कमाउन सक्ने भएको थिएन । फुकिढल बुढि मान्छे ज्याला मजदुरी गर्न सक्ने कुरै भएन । तीन, चार दिन कामज्वरो आयो पाँचौँ दिनको दिन बज्यैले अन्तिम सास फेरिन् । बिर्खबहादुरको सहाराको अन्तिम त्यान्द्रो पनि चुँडियो। बिर्खबहादुरको एकै पटक बाबु ढले, आमा ढलिन, साहारा ढल्यो, सबै ढल्यो । नजिकका छिमेकी मिलेर उसकी हजुर आमाको अन्त्येष्टि गरिदिए । दुईचार दिन घरमा मान्छे आए अनि घर सुनसान भयो । नजिकका छिमेकीले मायाले दिए खान पाउने, अन्यथा भोकै बस्नेमा बिर्खबहादुर पुग्यो ।
बिर्खबहादुर एक्लो भयो । उसकोलागि संसार आफन्त विहिन र सुन्य । उ जता खाना पाइन्छ त्यतै हिड्ने, भौतारिने गर्न थाल्यो । कहिले बजार तिर भौतारियो । कहिले गाउँ चाहर्यो । गर्दा गर्दा लफडा केटाहरुसँग संगत भयो । खानको लागि कहिले प्लास्टिक बटुलेर बेच्यो, कहिले खाली सिसि । कहिले पसल र होटलका मान्छेले गराएको सानो तिनो काम गर्यो, त्यसको ज्याला स्वरुप एक पेट खाना खान पायो । एउटा होटलमा भाँडा माझ्ने काम गरे खाना पनि दिन्छु, पकेट खर्च पनि दिन्छु भन्दा उसले मान्यो । त्यस होटलमा काम गर्दा उसका हातहरु फाटे, घाउ घाउले भरिए, हातका छाला उक्के, हातका काप काप कुहे जस्ता भए । उसलाई सबैले हेयको भावले हेरें । यस होटलको काम र पाएको थोरै ज्यालाले उसको विश्वास भने जगायो । आफ्नो कमाइमा बाँच्न सकिने रहेछ भन्ने महसुस गर्यो । होटलमा खाना खाना आउने धेरै मान्छेलाई उसले देख्यो । कसै कसैले उसलाई निकै मायाको भावले पनि हेरें त्यसले उसलाई यो संसारमा दयालु मान्छे पनि रहेछन् भन्ने पनि भयो ।
होटलको कामले खाना त चलेको थियो । उसलाई होटलाका साहु साहुनी र धेरै मान्छेले गर्ने अवहेलनाले भने उसलाई मुटुमै घोच्थ्यो । साहुले कामको पारिश्रमिक भनेर दिएको दुई चार सय पनि उसको खल्तिमा हुन थालेको थियो । उसले आफ्नो कमाइ दिनुपर्ने कोही थिएन । साहुले दिएको सबै उसैको खल्तिमा हुन्थ्यो । हुन त उसलाई पनि नयाँ नयाँ कपडा लगाउँन, अरु मान्छे जस्तै होटलको टेवल कुर्चिमा बसेर मनपर्ने मिठा मिठा परिकार मगाएर खान मन लाग्थ्यो । साथीहरुले साइकल चडेको देखेर पनि उ लोभिन थालेको थियो । उसका साथीहरु लुकी छिपी रक्सि खाने पनि गर्न थालेका थिए । उसलाई भने रक्सि मन पर्दैनथ्यो । रक्सिको कुरा निकाल्दा उसकी बज्यैले उसको बाबु सोझो मान्छे रक्सि पिउनाले गर्दा उसलाई फसाए भनेर पटक पटक भनेको स्मरण हुन्थ्यो । बजारका केहि केटा साथीहरु लागुपदार्थ दुर्वेसनमा पक्रिए । बिर्खबहादुरलाई भने लागु पदार्थ सेवन गर्ने पनि मन गरेन ।
एक दिनको कुरा हो एउटा घरका सबै मान्छेहरु घुम्न गएर चार पाँच दिनको लागि केटा मात्र एक्लै घरमा बस्नु पर्ने भएको रहेछ । उसको घरमा ठूलो टिभी थियो । त्यसमा नेट जोडेर युटुभ र विभिन्न भिडियोहरु हेर्न मिल्ने थियो। घरमा एक्लो भएको केटाले उसका साथीहरुलाई "म एक्लै छु बेलुकी हाम्रो घरमा भिडियो हेर्न आउनु" भनेको रहेछ । चिनेको एकजनाले बिर्खबहादुरलाई पनि फिल्म हेर्न जाउँ भन्यो । फिल्माका हिरो हिरोइनका तस्विरहरु उसले पनि देखेको थियो । ती हिरो हीरोइनलाई देखाउने फिल्म कस्तो हुने रहेछ उसलाई पनि हेर्ने मन भयो । जाउँ भन्ने साथीसंगै बिर्खबहादुर पनि उसको घरमा गयो । सबै भएर फिल्म हेरें । फिल्मको कथामा हिरोले दुख, कस्ट सहेर, मेहनत गरेर राम्रो मान्छे भएको र उसको जीत भएको देखाइएको थियो । उसलाई त्यो कथाले मनमात्र छोएन सपना पनि देखायो । अर्को दिन पनि साथीहरुले फिल्म हेर्ना जाउँ भने । त्यस समुहमा उसको उमेका भन्दा अलि ठूला १५ – २० वर्षका केटाहरु पनि रहेछन् । एक पटक फिल्म लगाए पनि, फिल्म सुरु के भयएको थियो, एक अली ठूलो केटाले "यस्ता फिल्म मात्र के हेर्नु ब्लु फिल्म हेरौं" भन्यो । त्यस दिन त्यहाँ जम्मा ८-१० जना मात्र केटहरु थिए । फिल्म त थाहा थियो तर ब्लु फिल्म भन्ने कुरा उसकोलागि नौलो लाग्यो, उत्सुकता जाग्यो । पछि हेर्दा त नाङ्गा मान्छे पो देखिन थाले । उसलाई पहिला हेरेको फिल्मको कथा, हिरो हिरोइन मन परेका थिए । यस पटक त्यस्ता हिरो हिरोइन थिएनन् । फिल्ममा कथा थिएनन् । केवल नाङ्गा केटा केटी र यौनसंपर्कका कुरा मात्र देखाइएको रहेछ । उ एक्लै निस्केर जाने कुरा भएन ढोका पनि बन्द गरिएको थियो । करिव एक घण्टामा भिडियो सकियो । सबै केटाहरु निस्के । बाटो सुनसान भैसकेको थियो। मान्छेको आवत जावत अलि कम थियो । त्यो घरबाट बाहिर निक्केर हिड्दै थिए, त्यसै क्रममा हिड्दै गरेका दुईजना १५-१६ वर्षका केटीहरु बाटोमा विपरिततर्फबाट आउदै गरेका देखिए । बिर्खबहादुर पनि उनीहरूसँगै थियो-न बुझेको, न सोचेको… केवल भीडसँग बगेको।
उसको समुहमा रहेका अलि ठुला केटाहरुले ती केटीहरुलाई बाटो छेके र गिज्याउन थाले । केटीहरु अक्कन बक्क भए, बोल्दै नबोल्ने भए । ती केटाहरु मध्यको एक केटाले एउटी केहटीको हात समात्यो र अर्को केटीलाई पनि अरुले समाते त्यहि ब्लु फिल्म हेरेको घरतर्फ लगे । केटीहरुलाई सबै मिलेर घर भित्र लतारे । बिर्खहाबादुर पनि रमाइलो मान्दै तीनै केटाको पछि पछि लागेको थियो । उसको घरको कोठामा पुर्यएर केहि छिन पहिला हेरेको भिडियो फेरी लगाए । अनि केटीहरुको शरीर नङ्ग्याउन थाले । कटीहरु वल्लो पल्लो घरका छिमेकीले सुन्ने गरेर जोर जोरले रुन र कराउन थाले । उ ति केटाहरुको समुहमा सबै भन्दा सानो थियो । ती केटीहरुको रुवाइले उसलाई पनि नरामाइलो लग्यो । उसको मनले भन्यो—तिनीहरुलाई छाडिदिए हुन्थ्यो । ऊ त केवल 'भीडको पछि लागेको न थियो । उ बोल्न सकेन । केवल मौन दर्शक भयो । एकै छिन पछि त्यहाँ त स्थानीय मान्छे र प्रहरी पुगें । त्यहाँ भएका सबै केटाहरुलाई प्रहरीले पक्रे र प्रहरी थानामा लिएर गए । भोलीपल्ट ती सबै केटाहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगियो । सबै केटाहरुलाई जक (जबरजस्ती करणी)मुद्दा लगाइयो । न्यायालयले मुद्दाको किनारा लगाउदै उनीहरुलाई जक अपराध अनुसार सजाय सुनायो ।
बिर्खबहादुरको भोगाइ धेरै थियो तर उसको उमेर भने जम्मा १२ वर्षमा टेकेको थियो । १८ वर्ष नपुगेको भनेर उसलाई बाल सुधार गृहमा पठाइयो। बालसुधार गृहमा उ जस्तै धेरै साथीहरु थिए । कोही चोरी, कोही पकेटमारा, कोही ज्यान मार्ने उद्योग, जस्ता मुद्दामा पुगेका थिए । एक दिनको कुरा हो त्यहाँ जिल्लाको शिक्षाको ठूलो मान्छे आउछन् रे भन्ने खवर भयो । बालगृहका व्यवस्थापकले ती आउने मान्छेलाई हामीलाई पढ्ने व्यवस्था गरिदिन भन भनेर सम्झाए । बिर्खबहादुर उसका साथीहरुलाई समेत भेट्न आएका ती जिल्ला शिक्षा अधिकारीलाई हामीले पढ्न चाहन्छौं शिक्षक पठाइदिनुस् भनेर सामुहिक रुपमा अनुरोध गरें । ती मान्छेले हुन्छ, म पठाइदिन्छु । तिमीहरु परिस्थितिले यहाँ परेका छौ, तिमीहरुले लेखपढ गर्नु पर्छ । संसारमा जेलमा परेका मान्छेहरुले जेलमा नै पढेर विद्वान, लेखक र ठूला नेता बनेका छन्। "तिमीहरुले पनि पुस्तक पढ्ने बानी गर" भनेर सम्झाए । उसले आफ्नो छेउमा बसेको साथीलाई हेर्यो, जो भोक मेटाउन एउटा पाउरोटी चोर्दा समातिएको थियो। अर्कोतिर एउटा यस्तो केटो थियो, जो साथीहरूको उक्साहटमा परेर नशाको दलदलमा फसेको थियो। उ र उसका साथीहरुलाई उनले भनेको कुरा मन पर्यो । दुई चार दिन पछि एक जना हाम्रो दाइ जस्तो व्यक्ति हामीलाई पढाउन आए । त्यहाँको व्यवस्था मिलाउने र हामीलाई सम्झाउनेले भन्दै थिए । यि त उनै जिल्ला शिक्षा अधिकारीका छोरा हुन् । हामीलाई ति शिक्षक निकै मन परेको थियो । तिनको न्यानो बोली, मायालु व्यवहार । उनले हामीलाई आफ्नै भाइबैनी जस्तो गर्थे, सम्झाइ बुझाइ पढाँउथे र हामीलाई साथीजस्तो गर्थे, ठट्टा गर्थे, हामीसंगै रामउँथे । उनले हामीलाई अपराधी जस्तो व्यवहार गरेरन् । उनले पनि भन्ने गर्थे “तिमीहरू खराब होइनौ, परिस्थिति खराब हो,” तिमीहरुले अव मेहनत गरेर पढाइमा राम्रो गर्नु पर्छ । हुन पनि कस्तो राम्रो पढेका, एकै जनाले गणित, विज्ञान, अंग्रेजी सबै राम्रोसंग पढाउन जानेका र बुझाउन सक्ने । ती शिक्षकको बोली र व्यवहारले बिर्खबहादुरको मनमा आशाको सानो दियो बल्यो। विडम्वना उनी धेरै दिन बसेनन् । उनको त्यहाँ बस्ने अवधि सकियो रें भन्ने सुनियो । पछि अलि पाका शिक्षकहरु आए । उनिहरुले पनि अर्थि त दिन्थे तर उनिहरु कहिले आउने, कहिले नआउने, झारा टारे जस्तो गर्थे । नजानेको कुरा सोध्दा उल्टै हप्काउथे । जे भए पनि बिर्खबहादुर र उसका साथीहरुको पढाइ हुँदै थियो कक्षा पनि चढ्दै थिए ।
फेरी अर्को घटना घट्यो । एक दिन एकाएक त्यहाँ भएका ठूला दाइहरुले हल्ला गर्न थाले । "खाना राम्रो छैन, हाम्रो सुविधा अरु कसैले खाइदियो, हामीलाई सुविधा दिइएन" । हल्ला गर्दा गर्दै त्यहाँ भएका एक जनाले नजिकको भित्तामा एक लात्ता हाने । अरुले पनि थपे । एकसल ईटा भएको त्यो भित्री पर्खाल भत्कियो । ईटाहरुको थुप्रो नै लाग्यो । अनि कोही ईटा लिएर भान्सातर्फ लागे कोही ईटा पर्खाल बाहिर फ्याक्न थाले । बिर्खबहादुर बसिरहेको त्यो घर र उसको पाठसाला एकै छिनमा रणभुमिमा बदलियो । आगो लाग्यो । गेटका पुलिसहरुको भागाभाग भयो । त्यहाँबाट सबै बाहिर निस्के, कसैले भन्दै थिए "हामी नभागौं" । ठुला दाइहरुले भाग भाग भनेर उक्साउदै भागाभाग गरे । बिर्खबहादुर र उसका केहि साथिहरु के गरौं ? कसो गरौं ? भनी अलमलमा पर्दै थिए । त्यति बेलै दमकलहरु आए र हतियार सहितका प्रहरीका भेनहरु पनि आए । ठुलो समुहमा आएको टोलीले गेटको नजिकै बिर्खबहादुर र उसका अलमलमा परेका केटाहरुलाई सबै भन्दा पहिला समायो । भाग्ने भागीहाले बिर्खबाहादुर सहितका अलमलमा पर्नेलाई प्रहरीले सबै भन्दा पहिला समातेर हतकडी लगायो । अनि त्यहाँ जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा ल्याएर राखे । बिर्खबहादुर पनि विभिन्न मुद्दालागेर हिरासतमा रहेका मध्ये एकजना भएको छ । उसको अनुहारमा न अपराधको बोध छ, न त उसको अनुहारमा तिनीहरुतर्फ हेर्ने प्रति आक्रोस छ । उसका आँखा शान्त छन्, तर त्यो शान्ति भित्र गहिरो आँधी लुकेको छ । न त उसलाई भेट्न आउने मान्छे छन् न त अरुलाई जस्तो मिठामिठा परिकार आउने गर्छन् । ऊ सोचिरहेको छ-मेरो अपराध के हो ? मैले के गल्ती गरेँ ? सायद बिर्खबाहुरले गरेको सबैभन्दा ठूलो अपराध एउटै थियो-एक ज्यानमाराको छोरा भएर जन्मनु ।
रमाकान्त शर्मा, चितवन