नारायण दाइ, मोनसान्टो र फरियाको टालो

कविता संप्रस पौडेल 'दिवस' June 13, 2026, 6:09 pm

संप्रस पौडेल 'दिवस'
संप्रस पौडेल 'दिवस'
सम्हालेर पैतृक घर

सकारेर बाँझिइसकेका बारीहरू

खोज्दै लोकल बहर

च्यातेर आमाको थोत्रो फरिया

पोको पार्दै चिचिन्नाको बीऊ

तिमीले के सिकाइरहेछौ अर्को पुस्तालाई नारायण दाइ रु

भान्साको भित्तोमा

टाँसेर काँक्राको बीऊ

बिजुली गए जाअ‍ोस्

सङ्गालेर दियालो

भरेको छाकका लागि

ढिकी र जाँतोमा

छुट्याएर दिउल

तिमीले कस्तो संस्कार देखाइरहेछौ नारायण दाइ रु

कहिलेकसो सहरको मिडियामा बोल्छौ

र फेरि अर्कोपटक

एन्जाइटी मानसिकताबाट प्रशिक्षित

हिप्नोटाइजको भट्टाबाट उत्पादित

तिम्रो नाकैमुनि प्रक्षेपित साइनाइड

गाउँ छिर्नुअगाडि नै आइलागेपछि वातहरू

चाख्छौ कि चाख्दैनौ नारायण दाइ रु

बुध्दिन्द्रीयको खराबीको उपज पैदा भएको

हेमलकको घुएँत्रो तिम्रो आँगनमा पार्सल बनेर आउँदा

दायाँबायाँ नहेरी

उठाएर स्वाँट्टै पिउँछौ कि पिउँदैनौ नारायण दाइ रु

ए नारायण दाइ,

हजुरआमाजस्तो संग्रह गर्न किन सिकाउँछौ रु

हजुरबाजस्तो आहार किन रूचाउँछौ रु

तिम्रा सङ्गतले युवा टिक्छन् कि टिक्दैनन्

तिम्रा तत्वज्ञानको सूत्र कतै बिक्छन् कि बिक्दैनन् रु

छाड्देऊ यी बकम्फुसे कुरा

ए नारायण दाइ,

कटहर खाइसकेपछि

पोलिखानलाई कोप

खोप्यौ कि खोपेनौ रु

कैलीगाईलाई टुटेधारो लाग्दा

ओखतिलाई गाँजा

रोप्यौ कि रोपेनौ रु

भनन अझै पनि

सहरसँग गाउँजोड्ने त्यान्द्रो कति खिप्छौ रु

अनि वर्षौँदेखिको डलरे आरोप कति खेप्छौ रु

विद्रोहको ज्वाला

विरोधको हुङ्कार

क्रान्तिको रौद्रता

अनि

नैराश्यको हाइब्रिड सोचले पेलेपछि

बिलाउँदोछ जेठोबुढो ।

नारायण दाइ,

तिमी कागुनो हुनु, कपुरबोट हुनु, पोखरेली हुनु

तर आत्महत्याको बीज मोनसान्टो कहिल्यै नहुनू ।

मनहरी- ५, मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।