उ अरु कसैकी हुँदा पनि

कविता गोविन्द सुबेदी June 20, 2026, 1:10 am

गोविन्द सुबेदी
गोविन्द सुबेदी
उ अरु कसैकी हुँदा पनि

मलाई सम्झिन्छे—

सायद आदतले,

सायद दोषबोधले,

वा स्मृतिको कुनै अड्किएको कुनाले ।

उसको हाँसो अर्कैको काँधमा टेकिएको छ,

तर मौनतामा

मेरो नाम अझै बाँचिरहेको छ ।

उसले बोल्दिन,

तर सम्झनाले

दिनदिनै मलाई बोलाइरहन्छे ।

म उसकै हिजो हुँ—

आज होइन, भोलि त झन हुदै होइन ।

तर हिजो कहिल्यै

मर्न जान्दैन रहेछ ।

उ प्रेममा होइन,

स्मृतिमा अड्किएकी छ ।

र म—

उसको वर्तमान होइन,

तर उसले कहिल्यै

छोड्न नसकेको

अधुरो अध्याय हुँ ।

उसले आफ्नो भाग्य रोजेकी छ,

तर आत्माले

अझै मलाई रोजिरहेछ ।

त्यसैले त

उ अरु कसैकी हुँदा पनि

मलाई सम्झिन्छे—

र म,

त्यो सम्झनामा

चुपचाप बाँचिरहेछु ।

गैंडाकोट–२, नवलपरासी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।