झोला, जागिर र म

संस्मरण/स्‍मृति रमाकान्त शर्मा June 23, 2026, 6:24 pm

रमाकान्त शर्मा
रमाकान्त शर्मा
नजिक जस्तो लागे पनि चारघण्टा त कराकर हिड्नु पर्छ त्रिपुरकोटबाट दुनै पुग्न । कालागौडा नपुगेसम्म चिया, नास्ता खाने ठाउँ पनि छैन । बीच बीचमा खच्चरहरुको हुल, घण्टीको टिन टिनको संगित । बाटो छेउ तथा भेरीको किनारतर्फ काठका फलेकहरुले बारिएको, काठकै फलेकहरुले बारी कोठा निकालिएको, भुइमा समेत काठकै फलेकहरु विच्छाइएको चारकोठे घरमा चिया र नास्ता पसल । दुनै पुग्न अझै दौडेपनि दुई घण्टा हिड्नु त छदै थियो । एक छिन विश्राम पनि हुने भनेर चिया नास्ताको लागि झोला विसाइयो । हिडाइले थाकेको हुनाले धेरै बोल्न पनि मन लागेको छैन । चिया नास्ता बनाउने कोठा र हामी बसेको पाहुना बसेर चिया नास्ता खाने कोठाको फलेकले प्रत्यक्ष अनुहार हेर्न छेके पनि फलियाले कुरा सुन्न र सुनाउन रोकेको छैन । हामी भएको कोठामा विद्यालय र शिक्षकहरुका कुरा निस्के । कुरा हुदै थियो पल्लो कोठामा चिया बनाउदै गरेका २२ /२५ बर्षको युवा पसलेले आफ्नो कुरा थपी हाले । आजकल जिल्ला शिक्षा अधिकारी कालो झोला बोकेर खुर खुर दौडने र कति बेला कुन विद्यालयमा पुग्ने निश्चित नहुने हुनाले शिक्षकहरु १० बज्न नपाउदै विद्यालयमा पुग्नको दौडन थालेका छन् । विद्यालयमा नियमित हुनथाले । उनले कालो झोलाको कुरा निकाले । हुन पनि म एकै ठाउँमा धेरै नबस्ने, चिया पनि मौकापरे खाने, अन्यथा सरासर हिड्ने हुनाले मलाई अनुहारले ठम्याउन सक्दा रहेनछन् । त्यस कालागौडाको सानो ठाउँबाट जुफालको उकालो लागे पनि लामो समय पछाडि बोक्ने कालो झोला देखिने, दुनैतर्फ लागे पनि त्रिपुराकोटतर्फलागे पनि परै डाँडाले छेल नपारेसम्म मान्छे नदेखिए पनि पछाडि बोकेको झोला देखिने हुनाले होला मलाई भन्दा पनि मैले बोक्ने झोलालाई चिन्दा रहेछन् । त्यस पसलमा आउने धेरै शिक्षक र कर्मचारी पनि हुन्छन् । त्यहाँ बस्ने शिक्षकले एक पटक जिल्लाको शिक्षाको बारेमा कुरा गर्ने नै भए । अनि मेरो बारेमा त्यस ठाउँमा पटक पटक कुरा चल्दो रेहछ । ती चिया पसले भाइले त्यही झोलाको कुरा निकाले । उनले मोरो बोलीले मलाई चिन्दा रहेनछन् । मलाई रमाइलो लाग्यो । भाइ यताआउनुस् त भनेर बोलाएँ . अनि कुनामा राखिएको मेरो झोला देखाउदै भने, यही त होइन त्यो जि शि अ ले बोक्ने कालो झोला ? चिया पसले भाइ अलिकति लजाउदै, अलिकति हाँस्दै हो भनेर मेरो मुखमा हेरे । झोला देखे पछि मलाई पनि चिने । केही समय गफगाफ भयो । चिया, चना खाइयो र दुनैतर्फको धुले बाटोमा धुलो उडाउदै पाइला अगाडि बढाइयो । म भन्दा मैले बोक्ने झोला परिचित रहेछ त्यस ठाउँमा ।

हुन त झोला सम्वन्धमा म सानो हुँदाको व्यवहार र मेरो सानी छोरीको ब्यवहार मिल्छ । मेरो बा बाग्लुङ्ग सदरमुकाम पुगेर वा अन्यत्र गएर फर्केपछि पिडीको थाममा झुण्डाइएको झोला कतिवेला मौका मिलाएर छामौं जस्तो लाग्थ्यो मलाई । त्यस्तै मेरो छोरीलाई हुँदो रहेछ । म काठामाण्डौ गएर वा जागिरबाट घरमा पुग्दा सानी छारीले उनी कलेज पढ्न जाने अवधिसम्म पनि मेरो झोला नहेरी छाडदिनथिन् । कहिले झोलामा खानेकुरा हुन्छ, कहिले हुदैन । केही नयाँकुरा हुन्छ, केही पुरानै तर एक पटक हेरेर त्यसमा भएका सवैकुरा एक एक केलाएकी हुन्थिन् । कहिले म नजिकै भएको अवस्थामा, हेरकी छैनन् होला भन्ने मान्दा मान्दै पनि हेरी सकेकी र सानासाना कुराको याद गरी सकेकी हुन्थिन् । झोलामा ल्याएको केही कुरा दिन खोज्दा त्यस कुराको बारेमा छोरीले थाह पाइसकेको कुराले म जिल्ल पर्थे ।

भोट जान बैशाख १२ गते विहानै दुनैबाट निस्केका थियौ, स्रोतव्यक्ति शेरबहादुर र म । पछाडि बोकेको त्यही कालो झोला अटेस मटेस थियो । विहान सेवेरै उठेर दुईघण्टा जति यात्रा गरे पछि , धारापनी भन्ने ठाउँबाट केही अगाडी पुगेका थियौं । एकजना सहताराको परिचित व्यक्ति विपरित दिशाबाट आउदै रहेछन् । मेरो झोला खुलेको देखेछन् र भने "झोलाको च्यान खुला छ" । म आत्तिदै हेर्छु त झोलाको आधिभाग च्यान खुलेको छ । म झसङ्ग भए कसरी यस्तो भयो । पन्ध्र स्रोह्र दिनको लागि खाजा, फेर्नकोलागि सामान्य एक जोर कपडा, औषधी र सियो धागो समेतका धेरै सामान अटाएको थिएँ त्यो झोलामा । केही समान खस्यो कि भन्ने डर लाग्यो तर फर्कने कुरा भएन । सवै सामान फोसलेर झोलामा के के छ र के के खस्यो भनेर केलाउने कुरा पनि भएन । झोला टनाटन थियो । आँखाले भ्याउने जति पछाडितर्फको बाटो नियालें अनि झोलाको च्यान लगाए । १५/ १६ दिनको लागि राखेको कुनै सामान खसेको भए के गर्ने होला भन्ने डर पनि लाग्यो । १६ दिनको पैदल यात्र पछि फोक्सुण्डो तालकोबाटो फर्केर दुनै पुग्दासम्म धन्नै केही हराएर खाँचो भएन ।

जागिरको तीन चार बर्ष मात्र भएको थियो । एक दिन केशरमहल शिक्षा मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेको थिएँ । म गणेशले जस्तो केन्द्र र मन्त्रालयका मन्त्री र माथिल्लो तहको कर्मचारी नेतृत्वको वरिपरि घुम्नभन्दा कार्तिकेय (दाजु)ले जस्तो पृथ्वको चक्कर लागाउन चाहने मान्छे । मलाई शिक्षा मन्त्रालयका कर्मचारीले खासै चिन्दैनथे । शिक्षा मन्त्रालको कर्मचारी प्रशासनमा कुनै शाखा अधिकृतको सरुवाको कुरा चल्दै रहेछ । त्यसै क्रममा कर्मचारी प्रशासनको उपसचिवले त्यसलाई झोला बोकाए अर्को जिल्ला पठाए बल्ल खान्थ्यो भनेको स्पस्ट सुने । कुरा के रहेछ भने कुरामा उल्लेख भएका व्यक्ति कुनै जिल्ला शिक्षा कार्यालयमा शिक्षा प्रसाशन, निरीक्षण समुहका शाखा अधिकृत रहेछन् । उनले पाएकपर्ने जिल्लाको शाखा अधिकृतमा सरुवा खोजेका रहेछन् । त्यसको लागि विभिन्न ठाउँबाट भनसुन पनि गर्न लागाएका रहेछन् । शिक्षा मन्त्रालयमा शाखा अधिकृत दिएको अझै नजिकमा खोज्दछ भन्ने परेको रहेछ । झोला बोकाउने भनेको जागिरबाट बिदा गर्ने भनिएको हैन रहेछ । शाखा अधिकृतबाट विद्यालय निरीक्षकमा सरुवा गरेमा उनलाई स्वाद खान्छ वा दुःख पाउछ भनेर व्यङ्ग गरेका रहेछन् । झोला बोकाउने भनेको उनलाई विद्यालय निरीक्षकमा सरुवा गर्ने भनेको रहेछ । आँफु सधै झोला बोकेर विद्यालय पुग्ने, त्यसरी धेरै विद्यालयमा पुग्दा आँफुले राम्रै गरेको छु भन्ने लाग्थ्यो । एक विद्यालयमा सिकेका कुरा अर्को विद्यालयमा पुर्‍याउने, शिक्षकहरुसंग छलफल गर्ने, समुदायका व्यक्तिहरुसंग अन्तरक्रिया गर्ने, समुदायलाई विद्यालय उमेरका सवै वालवालिका विद्यालयमा भर्ना गर्न र विद्यालयमा सहयोग गर्न अनुरोध गर्ने, त्यसैमा आफुलाई गौरव गर्ने गर्थे । विकटमा रहेका विद्यायमा समेत पुगेर कक्षा अवलोकन गर्ने र शिक्षकहरुसँग शिक्षण सिकाइमा सुधारको लागि अन्तरक्रिया गर्दा, गर्नै पर्ने काम गरेको छु भन्ने ठान्थे ।

मैले आदर्श ठानेको, अनुभव आर्जनगर्न पाइने, आर्जन गरेको अनुभव बाँड्न पाइने, गाउँगाउँ र समाजमा घुम्दा समाजबाट धेरै कुरा सिक्न पाइने, समाजको संस्कृति, रहन सहन, कला, समाजका भोगाइहरु, सामाजिक समस्या,जानकारी हुने भन्ने ठानेको पदलाई शिक्षा मन्त्रालयमा झेले भनिदो रहेछ । त्यो पद त दण्डित गरेर पठाउने पो रहेछ । झोलामा विहान वेलुकीलाई आवश्यक सामग्री बोकेर हिड्नेलाई अंग्रेजीमा व्यागप्याकर (bag packers) भनिदो रहेछ । नेपालीमा झेले जागिर पनि भनिदो रहेछ । शब्दको अर्थ जस्तो भए पनि,कसैले नकारत्मक रुपमा लिएपनि, म भने यस्तो जागिरलाई कार्यालयको टेवलमा बसेर गर्ने तथा टिप्पणी उठाउने, निर्णयको लागि पेश गर्ने,फाइल सार्ने, दिनभर एकै ठाउँमा बस्ने जागिर भन्दा धेरै उत्तम ठान्दथे र ठान्दछु । विद्यालय निरीक्षक हुँदा मलाई झोला बोक्नु र विद्यालय विद्यालयमा पुग्नु अनिवार्य थियो । शाखा अधिकृतमा सरुवा गर्नको लागि म कहिल्यै पनि शिक्षा मन्त्रालयमा गइन । दुई बर्षको लागि क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चल काठमाण्डौमा शाखा अधिकृतको जागिर खाँदा अनुभव गरें, एकै ठाउँमा बसेर गर्ने शाखा अधिकृत भन्दा विद्यालय निरीक्षक धेरै उत्तम रहेछ । मेरो झोले जागिर राजनीतिक दलको नेतृत्वलाई प्रश्न गर्न नसक्ने नेतृत्वले जस्तो सुकै निर्देशन दिएपनि, धारणा राखेपनि चुपचाप समर्थन गर्ने कार्यकर्तालाई बुझिने गरेको झेलसँग भने मेरो प्रसङ्ग मेल खादैन । बरु एकजना शिक्षकले म शिक्षण सिकाइको लागि आवश्यक सामग्री झोलामा बोकेर हिड्छु, त्यसैले म झोले शिक्षक भन्ने धारणासँग भने मिल्दछ ।

विभागीय प्रमुख, माथिल्लो पदका कर्मचारी, कार्यालय प्रमुख मात्र होइन तल्लो तहका कर्मचारीहरुले पनि सामान्य फाइल ब्याग समेत कार्यालय सहयोगी, मातहतको कर्मचारी र सेवाग्राहीलाई बोकाएर हिडेको देखेको छु । त्यसो गर्दा आफुलाई ठुलो व्यक्ति भएको महसुस गरेको पनि देखेकै कुरा हो । कहिले काँही दुईवटा झोला भएको कारणले साथी सरह एक छिनलाई सहयोगको लागि झोला बोक्न दिइए होला तर झोला बोकाउन पाएकोमा मख्ख परिएन । प्रस्ट भन्दा म आफुले कार्यालय प्रमुखको भुमिकामा रहँदा समेत गौरवका साथ आफ्नो झोला आफै बोक्ने गरेको छु ।

डोल्पाको जिल्ला शिक्षा अधिकारी हुँदा एक पटक आजको शिक्षा पत्रिकाका सम्पादक सुदर्शन सिग्देलले फोनबाट सोध्दै हुनु हुन्थ्यो, जागिर कसरी चल्दै छ ? मेरो जबाफ थियो म बूढो विद्यालय निरीक्षक, मैले झोला छाडेको छैन र मलाई झेले जिल्ला शिक्षा अधिकारी भने पनि हुन्छ ।

शिक्षा मन्त्रालय देखि, प्रदेश सामाजिक विकास मन्त्रालय र स्थानीय तहको शिक्षा शाखा हुँदै स्रोत केन्द्रसम्मको मुख्य काम विद्यालय, विश्व विद्यालय तथा शैक्षिक सस्थाहरुलाई परेका समस्या समाधानमा सहयोग पुर्‍याउने, गुणस्तरीय शिक्षा दिन उत्प्रेरित गर्ने हो । त्यसको लागि अनुगमन, निरीक्षण र शिक्षकलाई सम्वन्धित स्थानमा नै पेशागत सहयोगको सबै भन्दा महत्वपूर्ण कुरा हुन् । मेरो विचारमा जहिलेसम्म अनुगमन र पेशागत सहयोगलाई प्रभावकारी पार्न सकिदैन त्यतिवेलासम्म शिक्षामा सुधार सम्भव पनि छैन । जहिलेदेखि शिक्षा मन्त्रालय विद्यालयको शिक्षा सुधारमा लाग्ने छ , त्यतिबेला फिल्डमा खटेर काम गर्ने विद्यालय निरीक्षकहरुलाई सम्मान गर्ने छ । पेशागत सहयोग गर्न सक्ने, इमान्दार तथा राम्रा मान्छेहरुलाई विद्यालयमा पुग्नको लागि उत्प्रेरित गर्ने छ । इमान्दार विद्यालय निरीक्षकहरु पुरस्कृत हुने छन्, विदेश जानेमा पहिलो प्राथमिकता विद्यालय निरीक्षकले पाउने छन् । विद्यालयको बास्तविक समस्या बुझेका र समाधानको उपाए समेत संगालेका विद्यालय निरीक्षकहरुको कुरा सुन्ने छ र नीति निर्माणमा सहभागी गराउने छन् । त्यसैले मेरो झोला प्रति मेरो अगाद सम्मान छ । एक डायरी, टर्च, तौलिया, एक जोर फेर्ने कपडा हुने मेरो झोलामा अहिले एक ल्यपटप पनि हुने गरेको छ र इन्टरनेटकोलागि एक राउटर डिभाइस पनि थपिएको छ । जय होस् म भन्दा परिचित मेरो कालो झोला ।

हाल चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।