यात्रा

कविता बैद्यनाथ उपाध्याय July 7, 2026, 12:18 am

बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय
मुलधार पानी परेर थमेको छ

टन्टलापुर घाममा

आँगनको नीमको रूख

नुहाएर आँग सेकाउँदैछ

रूखमा एउटा चरो

पखेँटा फिँजाएर

घाम सेकिरहेको छ।

झ्याल खोलेर बाटातर्फ

नजर दौड़ाउँदछु

कहालीलाग्दो सुनसान

तेर्सिएको छ बाटोभरी

आऊने-जानेहरूको

सामयिक विराम लागेको छ

म एकलै

सुनसान कोठामा

किताबका पन्नाहरू पल्टाउँदै

के के सोचिरहेको छु।

यसैबीच

जीवनले एउटा लामो फड़को

मारिसकेको छ

निर्जन फाँटहरू छिचोल्दै

जीवनको क्रम अघिबढ़ि नै रहेको छ

उदास-उदास फाँटहरूमा

केही तड़पीरहेझैं लाग्छ

कसले लेख्यो होला

यस्तो कथानक?

पाइलाहरू त

अघि बढ़ि नै रहेका छन्

तर

कहाँ पुगिने हो

अनि भोलि के हुने हो

कुनै निश्चयता नै छैन!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।