शोषण र आतङ्क

कविता कृष्ण बाउसे July 11, 2026, 8:53 pm

कृष्ण बाउसे
कृष्ण बाउसे
दुवै

मेरै साथ बस्छौ

र मलाई नै डस्छौ ।

दुवै

चेप्य्राइँ पार्दै

मलाई नै

मुखले चिल्लो घस्छौ ।

म गाई हुँ

तिमीहरू

जुकाको रूपमा

युद्ध–पिपासाले जन्माएका

निषिद्ध जैविक हतियार हौ ।

पानी बिटुल्याउँछौ

हावा रोग्याउँछौ

मलाई चुस्छौ

ढाडिन्छौ

र खस्छौ ।

संसारै चुसाहाहरूको हो भन्ने भ्रम पार्दै

तिमीहरू

कहिले मेरो आँखा ढाकेर बस्छौ ।

कहिले आफ्नो इच्छा अनुसार मलाई डो¥याउन

तिमीहरू मेरो नाकमा नथ्थी कस्छौ ।

तर

“हामी तिम्रै मुक्तिकोलागि जन्मेका हौँ ।”

दुवैतिरकाले उस्तरी नै भन्छौ ।

एउटाले भन्छौ–

“शोषणबाट मुक्तिको लागि ।”

र अर्कोले भन्छौ –

“आतङ्कबाट मुक्तिको लागि ।”

तर

जब शोषणले नै

मलिलो भूमि प्रदान गर्छ आतङ्कलाई

र आतङ्ककै छायामा

झ्याङिन्छ शोषण ।

तब भन–

मेरा मित्र को हौ ?

शोषक कि आतङ्ककारी ?

वा दुवै नै

धुवाँ उल्टी गर्दो रोगी उद्योग

र खलनायक भई

समुद्रमा विचरण गर्दो प्लास्टिकको फोहरजस्तै

मेरालागि

समान छौ

शत्रुको रूपमा ??

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।