“कर्मवीर! तिमीसँग एउटा कुरा भनौँ भनेको?”
“भन्नु न, बुबा।”– कान्छो छोरा कर्मवीरले भनेको थियो।
“मलाई त लागिरहेछ, हामी रोगीहरूले बाँचेर तिम्रो जीवन बर्बाद गरिरहेका छौँ। तिमी एक्लै त आफ्नो जीवन सजिलै इच्छामुताबिक धान्न सक्दछौ...., हामी रोगीहरू केवल तिम्रो भार भएका छौँ।” उपस्थित अन्य सदस्यहरूको मुहारको अवलोकन गर्दै उसले भनेको थियो।
“होइन, बुबा, तपाईंले के कुरा गर्नुभएको?”
“म जान्दछु, छोरा, हामी रोगीहरूले तिमीलाई बढी कष्ट दिइरहेका छौँ। हाम्रो कारणले तिम्रो स्वर्गजस्तो जीवन नर्कमै अल्झिरहेछ। खास! हामी नभएको भए! हामी रोगीलाई यो जीवनको कुनै मोह छैन। हामी रोगी जति आत्महत्या गरी मर्न चाहान्छौँ, हामीबीच सल्लाह भइसकेको छ।” यति भनेर हर्कराजले लामो श्वास फेरेको थियो, मानौँ उसले आफूलाई थिचिरहेको बोझलाई निमेषभरमै पन्छाइदिएको थियो।
कर्मवीर अतालिएको थियो बुबाको कुराले। “तपाईंहरू यस्तो कुरा नगर्नुहोस्। भोलिको त्यो दृश्यलाई सहेर, सम्झेर म एक्लै बाँच्न सक्दिन.......।”
“कर्मवीर, हाम्रो कुरा त सुन्.......!” सञ्चरानीले बीचमै कर्मवीरको कुरालाई काट्दै उछिन्न खोजेकी थिइन्।
“भो’..... आमा, भो’....... तपाईं मलाई नसम्झाउनुहोस्....। म यतिका कुरा बुझ्दछु। म आफ्नो सुखका लागि परिवारलाई जानीजानी मरेको हेर्न सक्दिन....। बरु तपाईंहरू सबैको यही निर्णय भए म पनि त्यसमा सामेल हुन चाहन्छु।”– कर्मवीरको थकित स्वर कोठामा छरिएको थियो।
“भाइ, तिमीले बाँच्नुपर्छ,... तिमी निरोगी छौ....। हामीहरू त डाँडाको जून र घाम न हौँ।” सुवीले भाइलाई सम्झाउने प्रयास गरेकी थिइन्।
“दिदी, हजुर.... भो.... नसम्झाउनुहोस्, हामीलाई जीवन धान्न कठिन छ.....। म यो जान्दछु। तपाईंहरू आफ्नो विचारमा अडिग हुनुहुन्छ भने मलाई पनि त्यस कार्यमा सामेल गराउनुहोस्। म पनि यो जीवनदेखि वाक्क भइसकेको छु।”– कर्मवीरलाई पनि निराशाले सताइसकेको थियो क्यार....। केही समयको गलफत्तीपछि सबैको बीचमा सहमति भएको थियो र अर्को दिन कान्छाले विष किनेर ल्याउने र सबैले सेवन गरी सामूहिक आत्महत्या गर्ने।
हर्कराजको परिवारका हरेक सदस्यहरूको अनुहारमा उत्सुकता र निराशाको बादल मडारिइरहेको थियो। कर्मवीरको आगमनको प्रतीक्षामा बसिरहेकाले होला, सबै सोचमग्न देखिइरहेका थिए। “मृत्यु” शब्द बोल्न जति सहज हुन्छ, त्यति नै मृत्यु नजिकको आभासले मानिसमा असहज परिस्थिति जन्मिँदोरहेछ, किनकि उनीहरूको मुहारमा भय र उत्सुकताको सम्मिश्रण झल्किरहेको सहजै जोकोहीले अनुमान गर्न सकिन्थ्यो। नभन्दै साँझ परिसकेकोले नित्यझैँ कर्मवीरले कोठामा प्रवेश गर्यो। काँधमा झुन्ड्याएको झोलालाई कोठामा रहेको थोत्रे टेबलमाथि राख्दै दिदी सुतिरहेको खाटमा थकित मुद्रामा थचक्क खुट्टा झुन्डाएर कर्मवीरले सबैको मुहारको आभा पढ्ने प्रयास गर्यो।
“कान्छा, के तिमीले राम्रो खालको विष ल्यायौ त?”– हर्कराजको थकित मुद्राको स्वर कोठाको वातावरणमा छरियो।
“..........”– कर्मवीरले बुबाको प्रश्नको उत्तरमा केवल ‘हो’ मा शिर मात्र हल्लायो।
“उडुसले सताएकोले विष मगाएको कि क्या हो, काका?” छिमेकी वकिल माधवले सोही समयमा प्रश्न गर्दै कोठामा प्रवेश गरेकोले सबैजना एक पटक अत्तालिएका थिए। माधव प्रायः त्यो परिवारमा आइरहन्थ्यो।
“ए वकिल नानी पो...... बस्नुहोस्। उडुस परेको होइन, अरू नै काम छ।”– कर्मवीर बसेको खाटतिर सङ्केत गर्दै हर्कराजले भन्यो।
“अरू के प्रयोजनका लागि विष मगाउनु भयो त?”– हर्कराजले कोठामा भएका आफ्ना परिवारका सबै सदस्यहरूलाई पालैपालो हेर्यो। माधवसँग कुरा लुकाउन उसले उचित ठानेन। माधवले सदा उनीहरूको हित चिताएको र बारम्बार सरसहयोग पुर्याएकोले होला, हर्कराजलाई उनीसँग कुनै कुरा ढाँट्न मन लागिरहेको थिएन। त्यसमा पनि पढेलेखेको ज्ञानी मान्छे। थकित र भावुक स्वरमा हर्कराजले आफ्नो परिवारले सामूहिक आत्महत्या गर्ने निर्णय गरेको कुरा बतायो। रोगी परिवारको त्यो सामूहिक निर्णय सुन्दा माधवभित्र रहेको मानवीय संवेगको बाँध भत्कियो। उसले हरेक निर्णयकर्ताको मुहारमा विवशताका रेखाहरू झल्किरहेको पायो।
“काका, आत्महत्या गर्नु कायरता हो। समाजको अगाडि निन्दनीय काम हो भने कानुनको अगाडि दण्डनीय। कर्मवीरका लागि भए पनि तपाईंहरूले आफ्नो निर्णय बदल्नुपर्छ। बरु औषधि उपचार कसरी सम्भव छ, सोच्नुपर्छ।”
“खोइ नानी, हाम्रो बुताले दवाई गर्न भ्याएन। हामीजस्ता रोगीहरूले दिएको भोटले सांसद भई भ्रष्टाचारबाट पैसा कुम्ल्याउनेहरूलाई फुर्सद छैन। परिवर्तनका संवाहकहरूसँग पनि भनियो, उनीहरू पनि राष्ट्रको संरचना भत्काउन, कब्जा गर्न, चन्दा, आतङ्क मच्चाउनमै व्यस्त छन्, अनि के गर्नु?”– हर्कराजको निराशापूर्ण स्वर प्रतिप्रश्नका साथ कोठामा छरियो।
“काका, बरु एउटा काम गरौँ। कानुनी देशमा बसेपछि सबैले कानुनको पालना गर्नुपर्छ। कानुनले आत्महत्या गर्न दिँदैन। तपाईंहरू अदालतमा इच्छामरण गर्न पाऊँ भनी उजुर गर्नुहोस्। म त्यो मुद्दा लड्नेछु। कतै कुनै उपचारको विकल्प निस्कन्छ कि!”
“खोइ, के हुन सक्ला र, दाइ?”– खाटमा सुतेकी सुवीको खिन्न स्वर कोठामा छरियो।
“बहिनी, कर्म गरेपछि अवश्य फल पाइन्छ। आशा र भरोसाले मान्छेको आत्मविश्वास बढाउँछ।”
“त्यो त हो नि, दाइ।” विवशले सुवीलाई उछिनेर भन्यो– “बुबाले योभन्दा अगाडि पनि धेरै ठाउँमा निवेदन दिनुभएको थियो, कतैबाट केही भएन! बरु तपाईं भाइलाई चाहिँ बाँच्नुपर्छ भनी सम्झाइदिनुहोस् न..... हामी तपाईंका ऋणी हुनेछौँ।”
“भाइ मात्र होइन, विवश, तिमीहरू सबैले बाँच्नुपर्छ।”
“आ........ वकिल नानी, तपाईं दुःख नगर्नुहोस्, हाम्रो लागि कति कष्ट गर्नुहुन्छ?”– हर्कराजले खिन्नता भरिएको स्वरमा आफ्नो विचार प्रकट गर्यो।
“काका...... मलाई एकपटक मौका दिनुहोस् यो लडाइँ लड्नका लागि। अदालतको निर्णयपश्चात् तपाईंहरू आफ्नो खुसी गर्नुहोला...... म तपाईंहरूलाई कर गर्ने छुइनँ।”
माधवको आग्रह र अनुरोधले गर्दा अदालतको फैसला नहुन्जेल उनीहरूले सामूहिक आत्महत्या नगर्ने कुराको माधवलाई विश्वास दिलाएका थिए। भोलि सम्पूर्ण प्रमाण सङ्कलन गरी अदालत गई उजुर गर्ने सहमतिका साथ माधव वादी रिट दायर गर्ने कुरामाथि विचार गर्दै घरतिर लाग्यो।
“जहाँ इच्छा त्यहाँ उपाय।” उपायको खोजी गरी कर्मक्षेत्रमा अगाडि बढियो भने धेरथोर जे जति भए पनि प्राप्त हुँदोरहेछ। माधवको सल्लाहबमोजिम त्यो रोगी परिवारले– “इच्छा मृत्यु मर्न पाऊँ, अन्यथा दवाई गरिपाऊँ”– भनी अदालतमा हालेको मुद्दाउपर अदालतले फैसला सुनाएको आज पन्ध्र दिन बितिसकेको थियो। इच्छा मृत्यु मर्न कानुनले दिन नमिल्ने र नागरिकको सुरक्षा गर्ने कार्य सरकारको दायित्वभित्र पर्ने भएकाले पन्ध्र दिनभित्र क्षमताले भ्याएसम्म दवाई गर्नका लागि सरकारलाई अदालतले आदेश जारी गरेको थियो। त्यो फैसलाले हर्कराजको परिवारमा पुनः बाँच्ने अभिलाषा पलाएको थियो। उनीहरूको मुहारमा खुसीका रेखाहरू सल्बलाउन थालेको देखिन्थ्यो। फैसलालाई हरेक पत्र–पत्रिकाले व्यापकरूपमा रोगीहरूको फोटोसहित प्रशंसा गर्दै प्रकाशित गरेका थिए। फैसलाको नागरिक समाजले दिल खोलेर प्रशंसा गरेको पाइन्थ्यो। हर्कराजको परिवारप्रति हरेक मानिसहरूले सहानुभूति प्रकट गरेको सुन्न पाइन्थ्यो। त्यो रोगी परिवारलाई हेर्ने उत्सुकता दबाउन नसकेर मानिसहरूको दुईचार दिन निकै भीडभाड भएको थियो, हर्कराजको घरआँगनमा। कुनै–कुनै दयालुले आर्थिक र जिन्सी पनि हल्का सहयोग गरेका थिए। एक हप्ताभित्रै भीडभाड हटेर हर्कराजको घरमा पूर्वस्थिति पैदा भएको थियो। नयाँ कुरा हेर्ने उत्सुकता मानिसमा एकपटक उत्पन्न हुँदोरहेछ र क्रमशः सेलाउँदै जाँदोरहेछ। हर्कराजको परिवारले माधवलाई मुरीमुरी धन्यवाद दिएको थियो। अदालतको फैसलामुताबिक सरकारपक्षबाट कुनै प्रकारको कदम चालिएको थिएन। उनीहरूकोमा बारम्बार माधव गएर धैर्यता राख्न सल्लाह दिइरहेको थियो। कर्मवीरलाई पनि टाइफाइडले थला पारेकोले घरमै सुतिरहेको थियो। माधवले उसलाई इलाजका लागि सहयोग पुर्याए पनि पूर्ण स्वस्थ भई नसकेकाले काम गर्न जान सकेको थिएन। छरछिमेकीहरूले उनीहरूलाई खाने कुराको सहयोग पुर्याइरहेका थिए। दिन–रात गर्दै समय चिप्लेर फैसला भएको दुई महिना बितिसकेको थियो। छिमेकीहरूले पनि शाश्वत कति सहयोग पुर्याउन सक्छन्! हरेक मानिस आ–आफ्नै कर्तव्य र दायित्वसँग भविष्य निर्माणका लागि व्यस्त हुन्छन् र हुनैपर्दछ। प्रत्येक नयाँ बिहानीसँग हर्कराजको परिवारको आशा निराशातिर लम्किरहेको थियो।
बिहान आठ बजिसकेको थियो। एउटा एम्बुलेन्स र एउटा सरकारी गाडी हर्कराजको घरअगाडि उभिएको देखेर छिमेकी माधव पनि दगुरेर त्यतैतिर लाग्यो। गाउँलेहरू पनि फाट्टफुट्ट जम्मा हुँदै थिए। केही समयभित्रै मानिसको निकै भीड भएको थियो। रोगीलाई औषधोपचार गराउन सरकारबाट खटिएको टोलीलाई देख्दा मानिसहरू सरकारको प्रशंसा गरिरहेका थिए। माधवले सरकारी टोली प्रमुखलाई आफ्नो परिचय दियो। हर्कराजको परिवारलाई बोलाउने काम भयो तर भित्रबाट कोही बोलेन। ढोका बन्द थियो। निकै पटक बोलाउँदा पनि भित्रबाट प्रतिउत्तर नआएकोले ढोका फोड्ने काम भयो। माधवसँगै सरकारी टोली घरभित्र प्रवेश गर्यो। भित्रको दृश्य विभत्स र विचित्रको थियो। खाटमा सुवी र सञ्चरानी उत्तानो परेर पल्टेका थिए। उनीहरूको मुखबाट फिँज निस्केर गालासम्म बगेर सुकेको थियो। सञ्चरानीको साडी घुँडासम्म एकापट्टि सुर्केको थियो, सायद पीडाको छटपटीबाट त्यस्तो भएको थियो क्यार....। सुवीको खिनाउटे एउटा हात समतल छातीमाथि थियो। भुइँमा रहेको झल्लामाथि हर्कराज, विवश र कर्मवीर एकअर्कामा अँगालो मारेर घोप्टो–उत्तानो परेर लम्पसार थिए। कर्मवीर उत्तानो थियो र आँखा उघारै थिए। आँखाहरू आश्चर्यचकित मुद्रामा खुला भएको मुहारमा जय–पराजयको सम्मिश्रणता भल्किरहेको थियो। थोत्रे टेबलमाथि कागज र त्यसमाथि लेख्ने अवस्थाको खुला डटपेन थियो।
माधवले कागज उठाएर पढ्यो– “वकिल नानी! तपाईंले हाम्रो लागि मनग्गे सहयोग गर्नुभएको हो तर हामीहरूले कागजीरूपमा विजय प्राप्त गरेका भए तापनि हाम्रो देशको कुर्सी रक्षामा ध्यानकेन्द्रित गर्ने नालायक सरकारको रवैयाले हामीलाई थकायो। कर्मवीर पूर्ण स्वस्थ भई नसकेकोले काममा जान सकेन, त्यो तपाईंलाई पनि थाहा छ नै। पाँच छाकदेखि केवल पानी पिएर बसेका थियौँ। साँच्चै, वकिल नानी, पानी पिएर बाँच्न ज्यादै कठिन हुँदोरहेछ। तपाईंलाई हामीहरूले दिएको वचनको रक्षा गर्न सकेनौँ, त्यसमा क्षमा पाऊँ।
उही
काका हर्कराज
पत्र पढ्दापढ्दै माधवका आँखाहरू रसाएर आए। उसले चिट्ठी टोलीप्रमुखतिर बढायो। विजय प्राप्तिको अवस्थामा अचानक पराजयसँगको जम्काभेटले माधव किङ्कर्तव्यविमूढ भइसकेको थियो। उसले टोलीप्रमुखतिर प्रश्नवाचक दृष्टि फ्याँक्यो। टोलीप्रमुख पनि उसलाई पराजित दृष्टिले हेरिरहेको थियो। केही क्षणअगाडि सरकारको प्रशंसा गरिरहेका गाउँलेहरू त्यो हृदयविदारक दृश्यपश्चात् सरकारको लापरवाहीप्रति अक्रोशित भइरहेका थिए। त्यहाँ उपस्थित लब्धप्रतिष्ठित मानिसहरू त्यो कारुणिक दृश्यभित्र रहेको कथान्तर खोज्ने प्रयास गरिरहेका थिए। फोटोग्राफर फोटो खिच्न व्यस्त देखिन्थे भने पत्रकारहरू खबरका लागि घटनाको विवरण सङ्कलन गर्न व्यस्त देखिँदै थिए।