खिजिदेम्बा

कविता सेर्कु शेर्पा July 25, 2026, 2:35 pm

सेर्कु शेर्पा
सेर्कु शेर्पा
ओखलढुङ्गाको उत्तर-पश्चिम, माथिल्लो त्यो भेगमा,

तीन हजार तीन सय पचास मिटर उचाइको डाँडामा।

सगरमाथा, गौरीशङ्कर र नुम्बुर हिमशृङ्खलालाई हेर्दै,

प्रकृतिका अमूल्य उपहार बोकी, चुपचाप उभिएको छ खिजिदेम्बा।

मौनताले भरिएको प्राकृतिक परिवेशमा,

अध्यात्मको उज्यालो हरेक प्रभात झुल्किन्छ।

विशाल चैत्य, गोन्पा अनि थोलेदेम्बा देवथानमा,

चल्छ यहाँ पूजाआजा, गुञ्जिन्छन् रैथाने लोकभाका।

शिरैमा छ दिव्य प्रतिमा, पूजनीय गुरु पद्मसंभवको,

काखैमा सधैँ बोकेको छ, आशिष किल्खोर्दिङ गोन्पाको।

पाखामा हरियो गल्फ खेलमैदान, सुन्दर ढङ्गले सजिएको,

डाँफे र मुनालको मधुर स्वरले, खिजिदेम्बा गुञ्जिरहन्छ।

धुपी, सल्ला, सुनपाती र लालीगुराँस फुल्छन् पाखाभरि,

चौरीगाई र कस्तुरी मृग, खेल्छन् यहाँ बाह्रै महीनाभरि।

प्रकृति र संस्कृतिको मेल, अनुपम छ यसको महिमा,

खिजिदेम्बाले सधैँ चुल्याउँछ, ओखलढुङ्गाको गरिमा।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।