पद र प्रवृत्ति

कविता ताराप्रसाद पोखरेल August 13, 2026, 6:40 pm

ताराप्रसाद पोखरेल
ताराप्रसाद पोखरेल
आज एउटा पद रिक्त छ, साथी हो, सल्लाह गर,

कसलाई दिने त्यो कुर्सी, बसेर केही विचार गर ।

योग्य को छ, कर्मठ को छ, इमानदार को छ यहाँ ?

कि आफ्नै मान्छे खोजी-खोजी, फेरि निर्णय गर ।

पद त एउटा कुर्सी मात्रै, ठूलो कुरा कर्म हो,

मान्छेको असली परिचय उसले गर्ने धर्म हो ।

आज तिमीले जसलाई रोज्छौ, सोचेर रोज है साथी,

भोलि उसकै कर्मले लेख्ने तिम्रो निर्णयको मर्म हो ।

चाप्लुसीका मीठा बोली सुन्दैमा नफस है,

आफ्नो मान्छे भन्दै योग्यताको मूल्य नघटाऊ है ।

पद पाएपछि कसले कस्तो काम गर्छ, हेर्नु

कुर्सीले होइन, कर्मले मान्छेको उचाइ नाप्छ है ।

आज सल्लाह गर्ने तिमी, भोलि प्रश्न गर्ने पनि,

आज गरेको निर्णयको साक्षी बन्ने समय पनि ।

पद त आउँछ, जान्छ, फेरि अर्को दिन आउँछ,

तर कर्मले छोडेको छाप मेटिँदैन जिन्दगीभरि ।

त्यसैले साथी हो, निर्णय गर्दा मनलाई सोध,

कसलाई दिँदा संस्था उठ्छ, त्यसको उत्तर खोज ।

स्वार्थ, नाता, गुटभन्दा माथि उठेर हेर,

योग्य हातमा जिम्मेवारी दिने साहस रोज ।

आज एउटा पद रिक्त छ—साथी हो, सल्लाह गर,

कसलाई दिने भनेर सबै मिलेर विचार गर ।

तर याद राख—पद दिने तिमीहरूको हातमा होला,

पद पाएपछि असली कर्म गर्ने अधिकार उसकै हातमा हुनेछ ।

अन्ततः पद होइन, कर्म नै चिनारी बन्नेछ,

आजको निर्णय भोलि इतिहासमा लेखिनेछ ।

कुर्सीमा बस्ने मान्छे धेरै भेटिन्छन् संसारमा,

तर कुर्सीको गरिमा राख्ने मान्छे विरलै भेटिन्छ ।

साथी हो ! अब एउटा घोषणा गर्ने बेला आएको छ

कि तिमीहरूले रोजेकोले अरुलाई काम दिन्न ।

अरुले रोजेकोलाई तिमीहरूले साथ दिन्नौ

यस्तै यस्तैमा समय बिताऊ तर आज एउटा पद रिक्त छ ।

पोखरा नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।