मानिस सस्तो हुने सन्दर्भमा यस पंक्तिको लेखकले यहाँ जोड्न खोजेको सन्दर्भ चाहिँ विगत केही महिनादेखि मुहारपुस्तिका (फेसबुक) मा घनीभूत रूपमा सक्रिय हुन थालेका विगतका चुपचाप प्रयोगकर्ताको चर्चा हो । हाल एक्स भन्ने नाम रहेको मोबाइल एप्लिकेसन, ट्विटरमा कुनै प्रयोगकर्ताले साझा गर्ने सूचना, बहस र विचारभन्दा पनि पछ्याउने मान्छेहरू (फलोवर) को संख्या बढाएर निज व्यक्ति चर्चित र प्रभावशाली भएको कहलिने होड चलेको थियो । सायद यो क्रम अझै जारी छ । दश हजार पछ्याउने मानिस भएपनि आफ्नो विचार स्पष्ट नभएको, सालिन बहस गर्न नसक्ने, गुदी नभएका मानिसभन्दा सय, दुई सयमात्र पछ्याउने भएका प्रयोगकर्ता, जसले ओजिला र तर्कपूर्ण कुरा गर्छन्, तिनै मान्छे सालिन, बौद्धिक र विचारक व्यक्तित्व हुन् । हजारौँ फलोवर भएपनि हलुङ्गा भएका प्रयोगकर्तालाई पछ्याउने प्रवृत्तिले हाम्रो भेडो मानसिकता, पिछडिएको सोच, भीडको मानसिकता र हलुङ्गो चर्चाको लालसालाई मात्र इङ्गित गर्छ । ट्विटरमा पल्लोगाउँ भनेर चिनिने मुहारपुस्तिकामा अहिले आफूलाई पछ्याउनेहरूको सङ्ख्या बढाउन ढोक्सो थापेर बस्नेहरू ह्वात्तै बढेका छन् । आफ्नो जीवनमा जति कुण्ठा, निराशा, असन्तुष्टि, पीर र तुस भएपनि सकारात्मक सोच्न र व्यवहार गर्न प्रोत्साहित गर्ने सामग्री बिहान उठेपछि, दिउँसो उँघेपछि र बेलुका सुत्नुअघि मेरा मुहारपुस्तिकाका मित्रहरूले नियमित रूपमा चढाउन (अपलोड गर्न) छाडेका छैनन् । कनिकनि अङ्ग्रेजी बोल्नेले पनि अहिले कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर भररर स्ट्याटस लेख्न थालेका छन् । इन्टरनेटमा खोजखाज गरेर भावनाका कुरा, परिवारका कुरा, सन्तोषी हुने कुरा, चन्द्रमा छुने कुरा, मानिसलाई सकारात्मकता सिकाउने कुरा उनीहरू निरन्तर स्ट्याटसमा उपदेशस्वरूप राखिरहन्छन् जबकी उनीहरूको वास्तविक जीवनमा उनीहरूद्वारा सञ्जालमा व्यक्त आदर्श, सिद्धान्त र व्यवहार कत्ति मेल खाँदैन । उनीहरूका लेखोट, तस्विर, भिडियोजस्ता सामग्री नियमित आफ्नो खातामार्फत् मुहारपुस्तिकामा राखिरहने गर्दा नियमित सामग्री प्रस्तुतकर्ताका रूपमा उनीहरूले मुहारपुस्तिकाको माउ कम्पनी मेटाबाट पहिचान र बिल्ला (अङ्ग्रेजीमा ब्याज) पाउने रहेछन् । उक्त नियमित गतिविधि सँगसँगै ती सामग्री कति प्रयोगकर्ताले हेरे, रुचाए भन्ने मूल्याङ्कनका आधारमा सामग्रीधनीले द्रव्य पनि पाउने व्यवस्था बसालेका कारण होला, एकअर्कालाई पछ्याउने, प्रस्तुत गरेका सामग्रीमा टिप्पणी (कमेन्ट) गर्ने, मनपराउने (लाइक) र अरूले पनि देखुन् भनेर साझा (शेयर) गरिदिने मानिसहरूको झुण्ड ठुलै रहेको मुहारपुस्तिका अध्ययन गर्दा ज्ञात हुन गयो । भेट्दा खासै नबोल्ने अनि नखुल्ने मित्र तथा आफन्तगण अहिले यति बहिर्मुखी र खुला भएका छन् कि उनीहरूलाई भेट्न यी पंक्तिका लेखकलाई तिनीहरूका क्षेत्रमा वा घरतिर जान नै जरुरी छैन । सामाजिक सञ्जालमा उनीहरूले घरका कोठा, चोटा, भान्छा, आँगन, बार्दली, छत, बारी, गमला केही देखाउन बाँकी राखेकै छैनन् । शयनकक्ष र शौचालयबाहेक सबै सूचना सार्वजनिक रूपमा उपलब्ध गराउने गरेका छन् । उनीहरूका छोराछोरी कत्रा भए, कस्तो बोल्छन्, के के लगाउछन्, कुन विद्यालय पढ्छन्, कति कक्षा पढ्छन्, परीक्षामा कति लब्धाङ्क प्राप्त गरे, कति चलाख छन्, भन्ने कुरा पनि मुहारपुस्तिकामा नियमित आउँछन्, त्यो पनि मुहारपुस्तिकामा साथी भएकाले मात्र हैन जसले पनि हेर्न मिल्ने गरी गोपनीयताको पनि परबाह नगरी राखिदिन्छन् । पैसाका लागि र चर्चाका लागि यति हल्का हुने कुरालाई कसरी स्वाभाविक मान्न सकिएला र? पानी कसरी तताउने, कसरी उमाल्ने, गिलासमा कसरी खन्याउने, दुध कसरी उमाल्ने, आज घरमा के पाक्यो, कुन खानेकुरा छोराछोरीलाई मनपर्छ, बुढा कता गए, बुढी कता गइन्, सासुप्रतिका गुनासा के के छन् जस्ता ताल न सुरका सामग्री पस्कने यी मित्रगणहरू यी पंक्तिको सुरुमा उल्लेख गरेजस्तै सस्ता हुन थालेका छन् । सामाजिक सञ्जालमा सस्तो भएर पोखिन, छताछुल्ल हुन, आफ्ना परिवारका सूचना सस्तो चर्चा बटुल्ने नाममा बेच्न उद्यत व्यक्ति अहिलेको सामाजिक सञ्जालको युगका भेडा भएका छन् । यसरी चर्चित भएर भिडमा पहिचान बनाउन खोज्ने र पैसो कमाउने मुख्य ध्येय बनाउने मेलोमा गोपनीयता गुमेको, हलुङ्गो भएको, समाजमा मामुली बन्दै गएको, कम महत्त्वको हुँदै गएको, व्यक्तित्व घट्तै गएको र सस्तो हुनथालेको भेउ उनीहरूले पाइरहेका छैनन् । कतिपय व्यक्तिले भेउ पाएका भएपनि उनीहरूलाई यो कुरासँग कुनै सरोकार छैन किनकि समाज आत्मकेन्द्री हुँदै जो गएको छ । सामाजिक सञ्जाल देखावटी नै बढी छ । सत्यतथ्य बाहिर ल्याउनभन्दा पनि व्यक्तिका मपाइँवाद, वैभव, सान, सौकत र नक्कली सकारात्मकताको प्रदर्शनले अन्य प्रयोगकर्तामा नकारात्मकताको बीजारोपण सँगसँगै निराशा, कुण्ठा र विचलनमात्र ल्याएको छ । अहिलेका अधिकांश सामग्री त्यस्तै हुने गरेका छन् । अर्को चर्चित सञ्जाल टिकटकमा पनि लाइभ (प्रत्यक्ष डिजिटल उपस्थिति) बसेर र व्यक्तिले आफ्ना खातामा राखेका भिडियाबाट लाखौँदेखि करोडौँसम्म कमाएका किस्सा पनि हामीले सुनिरहेकै हौँ । टिकटकतिर पनि कमाइरहेकाले अझ कमाउने आशामा फेसबुकतिर पनि ढोक्सो थाप्ने गरेका छन् ।
यी पंक्तिको लेखक कति नकारात्मक रहेछ, सकारात्मकता त देख्दै नदेख्ने रहेछ भन्ने पनि लाग्न सक्छ । सामाजिक सञ्जालमा यस किसिमको विकासक्रमको सकारात्मक पाटो पनि छ । नभएको होइन । तर माथि उल्लेख गरिएका जति पनि उदाहरण छन् ती व्यापक दृष्टिकोणले हेर्ने हो भने अनुत्पादक, समयको बर्बादी, व्यक्तिगत सूचनाको बिक्री, देखावटी परम्पराको निरन्तरता र समाज विकासमा नगण्यप्रायः योगदान मात्र हुन् । प्रविधि र कृत्रिम बुद्धिमत्तामा आएका तीव्र विकासका सन्दर्भमा हाम्रा ज्ञान, दर्शन, संस्कृति, अनुसन्धान, शिक्षण, कला, साहित्यको संरक्षण गर्दै अगाडि बढ्ने बुद्धि चाहिएका बेला यसप्रकारका समयको बर्बादीले कथित तेस्रो विश्वका हामी सचेतना र सचेतताका दृष्टिकोणले हेर्दा अझै पनि पछि नै परिने जोखिम बढेको देखिन्छ । अन्य देशमा पनि यस किसिमका गतिविधि नभएका होइनन्; तर सामाजिक सञ्जालको सदुपयोग भने यो अवश्य होइन । खानाका विभिन्न परिकार पकाउन सिकाउने, कपडा सिलाउन सिकाउने, स्कूल, क्याम्पसका पठनसामग्री पढ्न सिकाउने, सुसाङ्ख्य र अन्य सम्बन्धित प्रविधि सिकाउने, कृत्रिम बुद्धिमत्ताको सही र प्रभावकारी उपयोग सिकाउने, चित्र बनाउन सिकाउने, संस्कृति, सभ्यता र परम्पराकाबारे जानकारी दिने आदि सामग्री उपयोगी छन् । माथि उल्लेख गरिएका ताल न सुरका सामग्री त्यस्तै कथित नियमित सामग्री सर्जक, दर्शक, श्रोता गणमा सीमित रहन्छ जोसँग योभन्दा उपयोगी, शिक्षाप्रद, सीपमूलक, प्रविधिमूलक सामग्री बनाउने वा पस्कने क्षमता नै छैन । यो क्षमताको कमी भएको असक्षम अवस्थाको प्रस्तुतिले दिनप्रतिदिन सस्तो हुनभन्दा एउटा जिम्मेवार प्रयोगकर्ता हुन प्रयत्न गर्नु ती सस्ता प्रयोगकर्ताका लागि श्रेयस्कर रहन्छ भन्ने लाग्छ ।
आफ्ना ज्ञान बाँड्ने, सीप, कला, साहित्य, सङ्गीत, प्रविधि, अनुसन्धान, कृत्रिम बुद्धिमत्ता र यसको मानवमुखी प्रयोगलाई थप समृद्ध बनाउन सकिने बहस, विचार र सुझावका सामग्री नियमित बनाएर सामाजिक सञ्जालमा राख्नेहरूलाई सचेत प्रयोगकर्ता ठहर्याउन सकिन्छ । यस्ता असल सामग्री हेर्दा यसले हाम्रो बिहान, दिउँसो र बेलुकाको केही समय खपत गर्यो भने पनि तिनलाई उत्पादक र योग्य सामग्री मान्न सकिन्छ । त्यसैले दिग्भ्रान्त भई सामाजिक सञ्जालको प्रयोग गरेर सस्तो हुन बन्द गरौँ, जिम्मेवार र सम्मानित बनौँ भन्ने यी पंक्तिका लेखकको विनम्र अनुरोध छ ।
रामघाट, पोखरा ।