चेतनाको यात्रा

कविता विमल लामिछाने August 19, 2026, 12:46 am

विमल लामिछाने
विमल लामिछाने
क्षणभङगुर यो सृष्टिभित्र

सपनाको एउटा सानो संसार,

छायाँजस्तै छुटिजाने

मृगतृष्णा रहेछ माया–मोहको सार ।।

अस्तित्वको यो असीम यात्रा,

सास र विछोडको संगम

माटोको यो नश्वर देह

केवल छिनभरको सरगम ।।

रूप, शक्ति अनि घमण्ड सबै

चिताको ज्वालामा सेलाउँछ,

अन्ततः बाँकी खरानीले

अनित्यताको सत्य बुझाउँछ ।।

शोक हो मनको मौन यात्रा

जहाँ पीडाले बोध गराउँछ,

भत्काएर अहंकारको पर्खाल

हृदयमा करुणा जगाउँछ ।।

शब्दहरू जब थाकेर रोकिन्छन्

आँसु नै आत्माको भाषा बन्छ,

नयनका ती पवित्र थोपाले

मनको सबै मलिनता पखाल्छ ।।

खरानी, शोक र आँसुका धारा,

चेतनाका तीन सीढी हुन्,

पीडाबाट मुक्त गराई

आत्मज्ञानतर्फ लैजाने बाटो हुन् ।।

मृत्यु त केवल रूपान्तरण हो

जीवनको कुनै अन्त्य होइन,

मुढोझैँ देह ढलेर जाला

तर शाश्वत आत्मा कहिल्यै मर्दैन ।।

दमक, झापा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।