हाम्रो प्रेम यात्रा: जीवनको सुन्दर बगैँचा

कविता डा. बच्चु कैलाश कैनी August 25, 2026, 2:15 pm

डा. बच्चु कैलाश कैनी
डा. बच्चु कैलाश कैनी
पहिलो पटक तिमीलाई भेट्दा

तिमी हिमालमाथि झुल्किएको घामजस्तै लाग्यौ

कुहिरोलाई चिरेर आएको बिहानी किरणझैँ

तिमी मेरो मनको कुनामा चुपचाप जाग्यौ

न नामसँग परिचय थियो

न मनसँग कुनै नाता नै थियो

तर यो आँखाले त्यो आँखालाई केही भन्यो

वसन्तले पहिलो फूल छोएझैँ

उतिबेला मेरो मनभित्र आकर्षणको बीउ रोपियो।

तिमी हिँड्दा बतास पनि सुस्ताउँथ्यो

तिमी हाँस्दा गुराँस फुलेझैँ लाग्थ्यो

तिम्रो बोली खोलाको कलकल आवाज जस्तो थियो

सुन्दै जाँदा कालान्तरमा मन आफैँ बग्न थाल्थ्यो

जूनले तालमा आफ्नो छाया हेरे झैँ

म तिम्रो आँखामा आफूलाई खोज्थेँ

थाहा थिएन त्यो केवल आकर्षण थियो

कि प्रेमले ढोका ढकढक्याउँदै थियो।

दिनहरू बिस्तारै ऋतु बने

हाम्रा भेटहरू पनि सम्झनाका फूलहरू बने

तिम्रो अनुपस्थितिमा मेरा साँझहरु लामा हुन थाले

तिम्रो उपस्थितिमा हरेक क्षणहरू छोटा हुन थाले

अब तिमी मेरा लागि केवल एक सुन्दरी रहिनौ

तिमी मेरो सुखको कारण बन्न थाल्यौ

नदीले समुद्रको बाटो रोजेझैँ

मेरो मनले तिम्रो मन रोज्न थाल्यो।

प्रेम केवल फूलको सुवास मात्रै रहेनछ

कहिलेकाहीँ काँडाको चोट पनि रहेछ

कहिले असारको मुसलधारे वर्षा

कहिले हिउँदको कठ्याङ्ग्रिने रात पनि रहेछ

तर, बादलपछिको आकाश झैँ

हामी दुई फेरि खुल्दै गयौँ

यात्रामा पहाड र खोँचहरु पार गर्दै

एकअर्कालाई अझ गहिरो बुझ्दै गयौँ।

त्यसपछि हाम्रो प्रेमले नयाँ अर्थ पायो

हाम्रा लागि “म” भन्दा “हामी” ठूलो हुन थाल्यो

तिम्रो सपना मेरो पनि सपना बन्यो

मेरो हरेक बाटोमा

तिम्रो पाइला पनि संगै हिंड्न थाले

दुई किनारालाई जोड्ने पुल झैँ

अटुट विश्वास हाम्रो बीचमा उभियो

दुई फरक खोलाको पानी एक ठाउँमा मिसिए झैँ

हाम्रो भविष्य एउटै दिशामा बग्यो।

एक दिन फूलले भरिएको आँगनमा

सूर्यले सुनौलो साँझ सजाइरहेको थियो

आकाशका ताराहरू साक्षी बन्न आतुर थिए

चन्द्रमा बादलको घुम्टोबाट हेरिरहेको थियो

जुनकिरीहरुले प्रकाश दिईरहेका थिए

छेउका जीव जन्तुहरु मीठो संगीत भर्दै थिए

हामी हातमा हात, आँखामा सपना

मनमा अनगिन्ती वाचा बोकेर

दुई प्रेमीबाट जीवनसाथी भयौँ

संयुक्त्त यात्राको एउटै बाटो तय भयो।

विवाह केवल सिन्दूर, पोते र माला होइन

न त केवल उत्सवको एक दिन हो

यो त दुई मनले रोपेको बिरुवा हो

जसलाई हरेक दिन प्रेमले सिन्चनु पर्छ

कहिले घाम सहनुपर्छ, कहिले वर्षा

कहिले आँधीमा एकअर्कालाई समाउनुपर्छ

रुखका दुई हाँगा झैँ फरक भएर पनि

एउटै जरामा अडिन जान्नुपर्छ।

हामीलाई थाहा छ

हाम्रो यौवनको फूल एक दिन ओइलाउला

केशमा पनि हिमालको सेतो हिउँ झर्ला

अनुहारका उज्याला रङहरू फिक्का होलान्

समयले आँखा पनि धमिलो बनाउला

तर, हाम्रो साँचो प्रेम नदीजस्तै बगिरहनेछ

ऋतु फेरिए पनि नसुक्ने मूलजस्तै हुनेछ

पहिलो आकर्षणको त्यो सानो झिल्को

जीवनभरि न्यानो आगो बनेर बलिरहेनछ ।

अन्तिम साँझसम्म मेरो हातमा तिम्रो हात रहोस्

हामी उही पुरानो आकाशमुनि बसौँला

तिमी अस्ताउँदो सूर्य हेर, म तिमीलाई हेर्नेछु

र, बितेका वर्षहरू सम्झेर हामी मुस्कुराउनेछौँ

त्यतिबेला पक्का बुझिएला

आकर्षण त केवल वसन्तको पहिलो फूल रहेछ

प्रेम त्यसको मीठो सुवास

र, विवाह

हरेक ऋतु सँगै पार गर्ने

जीवनको सुन्दर बगैँचा रहेछ।

डार्टफोर्ड, बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।