ईश्वर

कविता सुजन विश्वकर्मा August 29, 2026, 5:07 am

सुजन विश्वकर्मा
सुजन विश्वकर्मा
धर्तीको दैवीय काखमा

म अन्तिम युगमा आएर छटपटाएँ

राज्य, सत्ता, दल सबै मिलेर भुटिरहेछ

अबोध खोपडी

खोइ कहाँ हराए विचारहरू

कसले जन्माए नाराहरू

मैले हक मागेको शोभा दिँदैन,

मेरो आँखामा अस्ताउँदो सपना साह्रै सुहाउँछ,

म बस्ने झुप्रोमा न्यायको दीप बल्दा अनर्थ हुन्छ,

बोल्न जान्दिनँ थिएँ

म त मानवताको रखवाला हूँ

यो दुनियाले सिर्जना गरेको समानताको घ्यू नपचेर

भुक्दै छु आज,

र्याल चुहाउँदै हड्डी तिर लोभिनु

मैले आफ्नो लाचारिता बिर्सनु हो,

त्यसैले

म अन्तिम युगमा आएर छटपटाएँ,

मैले ढुङ्गा पिटे,

र बनाएँ एउटा सुन्दर मूर्ती

मैले तामा कुटे

र बनाएँ एउटा सुन्दर ईश्वर

तर

तिमीले त मलाई मान्छेसम्म बनाउन सकेनौ ।

हेटौँडा - मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।