हिमाल रोयो, नदी गर्जियो

कविता गोविन्द सुबेदी September 3, 2026, 12:04 am

गोविन्द सुबेदी
गोविन्द सुबेदी
हिमाल रोयो—

सेतै देखिने ती चिसा आँखाबाट

आज हिउँ मात्र झरेन,

झ¥यो एउटा देशको पीडा,

झ¥यो पहाडको मौनता,

झ¥यो आमाको काखबाट

अचानक छुटेको सन्तानको सम्झना ।

रसुवाका भीरहरूबाट

जब पहिलो भेल तल झ¥यो,

त्यो पानी मात्र थिएन—

त्यसमा घरका भित्ताहरू थिए,

आँगनका सम्झनाहरू थिए,

बारीका हरिया सपना थिए,

र आमाको आँखामा अडिएको

भोलिको उज्यालो थियो ।

पहाड बग्यो,

बस्ती बग्यो,

पुल बग्यो,

बाटो बग्यो—

तर सबैभन्दा धेरै

बग्यो त मानिसको भरोसा ।

कसैको घर

नदीले लिएर गयो,

कसैको पसिनाले बनाएको खेत

बालुवामुनि पुरियो,

कसैको ब्यवसाय सँगै

वर्षौंको जीवन–जमापुँजी बग्यो,

र कसैको हातमा बाँकी रह्यो—

एउटा भिजेको नागरिकता

र आँखाभरि प्रश्न ।

नदी त बग्थ्यो पहिलेदेखि,

हिमाल त पग्लिन्थ्यो पहिलेदेखि,

वर्षा त हुन्थ्यो पहिलेदेखि—

तर आज किन

विपत्ति यति निर्दयी भयो ?

के प्रकृतिले मात्र गल्ती ग¥यो ?

कि हामीले पनि

उसको छातीमा

अलिकति धेरै चोट लगायौँ ?

डोजरका दाँतले

पहाडका नसा चिरेपछि,

जंगलका जरा उखेलेपछि,

नदीका बाटा साँघुरिएपछि,

हामीले विकासको नाममा

प्रकृतिप्रति सोच्यौँ कि सोचेनौँ—

“प्रकृतिलाई कति पीडा हुन्छ ?”

नदीलाई बाँधेर

आफ्नो नक्सा बनायौँ,

पहाड काटेर

आफ्नो बाटो बनायौँ,

तर प्रकृतिको बाटो

बिर्सियौँ ।

अनि

प्रकृतिले आफ्नै भाषामा भन्यो,

“मलाई रोक्न खोज्यौ भने

म आफनो बाटो आफैँ बनाउँछु ।”

रसुवादेखि चितवनसम्म

भेल मात्र बगेन,

एउटा प्रश्न बग्यो—

विकास कस्का लागि?

राजमार्गका चम्किला सपनाहरू

जब खोलाको कालो भेलमा डुबे,

हामीले देख्यौँ—

कागजमा कोरिएका योजना

कति कमजोर हुँदा रहेछन्

प्रकृतिको एउटा प्रहारसामु ।

चितवनका फाँटमा आइपुग्दा

त्यो भेलले

पहाडको दुःख पनि बोकेको थियो,

तराईको त्रास पनि,

किसानको पसिना पनि,

श्रमिकको सपना पनि,

र एउटा राष्ट्रको

अधुरो विकासको कथा पनि ।

हिमाल रोएको छ—

उसका आँसु पुछ्नुपर्छ ।

नदी गर्जिएको छ—

उसको भाषा बुझ्नुपर्छ ।

पहाड भत्किएको छ—

उसको घाउमा

फेरि डोजर चलाउनु अघि

सोच्नुपर्छ ।

किनकि

प्रकृतिसँग युद्ध गरेर

कुनै सभ्यता विजयी हुँदैन ।

हामीलाई

सडक चाहिन्छ,

समृद्धि चाहिन्छ,

विकास चाहिन्छ—

तर त्यस्तो विकास होइन

जसले भोलिको पुस्तालाई

बाँच्ने ठाउँ नै नदियोस् ।

हामीलाई

पुल चाहिन्छ,

तर नदीको सास रोकेर होइन ।

हामीलाई

बाटो चाहिन्छ,

तर पहाडको मुटु चिरेर होइन ।

हामीलाई

शहर चाहिन्छ,

तर नदि खोलाको अस्तित्व मेटाएर होइन ।

हामीलाई

समृद्धि चाहिन्छ—

तर प्रकृतिको चिहानमाथि होइन ।

हिमाल फेरि हाँसोस्,

नदी फेरि गीत गाओस्,

पहाड हरियो होस्,

बस्तीमा बाल हाँसो गुञ्जियोस् ।

हिमाल नरोओस्, नदी नचिच्याओस्,

मानिसका सपना भेलमा नबगून् ।

रसुवादेखि चितवनसम्मका आँसुले

एउटा यस्तो नेपाल जन्माओस

जहाँ विकास र प्रकृति

शत्रु होइन, सहयात्री बनून् ।

गैंडाकोट–२, नवलपरासी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।