किन जन्मिन्छ कविता ?

कविता विमल लामिछाने September 3, 2026, 12:07 am

विमल लामिछाने
विमल लामिछाने
मन पोखिएर बन्छ कविता, मस्तिष्क घोटिएर कुँदिएर,

कवित्व फुरेर, अदम्य शक्तिले, जहीँतहीँ यो उर्लिरहन्छ ।

तृष्णा र आकांक्षाको आगोमा, सताइबाट मुक्तिका लागि,

मन खुल्दा अनि थुनिँदा पनि, फगत कविता बन्छ !

योग्यता होइन, यो त केवल भावना र संवेगको खानी हो,

पसिनामा पोखिन्छ कवि, माटो र खोलासँग मितेरी लाउँछ ।

रोपाइँको हिलो होस् या महभिरे पाखा–पखेरीको उकालो,

युद्धको पीडादेखि विजयको हर्षसम्म, शब्दले उदिन्छ र पछार्छ ।

पुराना तर्क चिर्दै, चेतनाको उन्मुक्त उडान बनेर,

हृदयले हृदयलाई बोलाउने, यो सोझो सत्य र प्रेमको नाद हो ।

समाजको स्थायी प्रतिपक्षी, स्वतन्त्रताको यो रक्षाकवच हो,

अलिकति पागलपनसँगै, यो विद्रोहको ज्वालामुखी आगो हो ।

प्रेम र वियोगको गहिराइमा डुबेर, आँसुको नुनिलो स्वादमा,

अँध्यारो संसारमा नयाँ जीवन र उज्यालो छर्दै हिँड्छ ।

लोकतन्त्रमा जनता जगाउने दीप, सुदूर युटोपिया रच्ने तागत,

मानवताको बीउ रोप्दै, यो सडकमा क्रान्तिको आँधी बन्छ ।

शून्यताको काखमा बसेर पनि, आफैँभित्रको दियो बाल्दै,

ऋतु र समय नपर्खी, प्रकृति बनेर यो निरन्तर फक्रिरहन्छ ।

प्रमिथसले ल्याएको आगो र संवेदनाको आँसु बोकेर,

कवि गर्भैदेखिको सपना लिएर यो धर्तीमा बाँचिरहन्छ !

दमक, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।