जल–वार्ता

कविता वासुदेव अधिकारी September 7, 2026, 4:23 pm

वासुदेव अधिकारी
वासुदेव अधिकारी
पानी !

निमेष–निमेषमा

छोएको हूँ तिमीलाई

बूँद–बूँद

अञ्जुली–अञ्जुली

तिमी भएरै रोएको हूँ

एकान्तमा

तीब्र प्रदुषणमा

तिमीमा

आँत पनि

आगो पनि

गीत पनि

प्रवाह पनि ।

कर्मगीतको उपासक म

लक्ष्ययात्राको अन्वेषक म

मलाई तिम्रो गीत मनपर्छ

मलाई तिम्रो प्रवाह मनपर्छ

लाजमा तिमी

बहादुरीमा तिमी

गीतमा तिमी

शीतमा तिमी

तिमीलाई हामीले

जन्मिदा खोज्यौँ

मर्दा पनि रोज्यौँ

खोज्यौँ

चोखिनका लागि

बौरिनका लागि

पौडिनका लागि

खोलामा पायौँ

छहरामा भेट्यौँ

कूवामा पियौँ

नहर–कुलोमा डोर्यायौँ

बोतल–अंखोरामा कैद गर्यौँ

चकित छु म

तिमीलाई देखेर

तिमी घरि हात्ती बगाउँछौ

बस्ती सोत्तर पार्छौ

घरि कमिलाले

घाँटी भिजाउँदा सकिन्छौ

तिमी कम्प वरिपरि

तिमी प्रकम्प वरिपरि

अहो,

कहिले नजिक

कहिले टाढा

तिमीलाई म

आकाशमा भेट्छु

समुद्रमा पाउँछु

असिना–पसिनामा छाम्छु

घरि बाफको उडान

घरि बरफको परिधान

कतिबिधि रूप तिम्रो ?

कतिबिधि नाटक तिम्रो ?

पानी !

ढुङ्गा गल्छ

तिमी गल्दैनौ

पहाड रून्छ तिमी रूँदैनौ

आगो बोक्छौ

आगै निभाउँछौ

सजिलै सागर झछौँ

सजिलै हिमाल उक्लिन्छौ

तिमी हुन सरल छ

तिमी बन्न कठिन छ

सजिलै जमिन मुनिमुनि

सजिलै हिमाल माथिमाथि

पग्लिदा पनि पानी

अग्लिदा पनि पानी

तिमीमा नुन

तिमीवरपर नै सुन

तिमी र किसान

तिमी र भान्सा

तिमी र जीवन

तिमी र सभ्यता

कति गाँसिएका ?

कति नङमासु बनेका ?

(म पनि गाँसिएकै छु तिमीसँग)

सागर पुगेर

नदी खोज्ने म

आकाश हेरेर तिमीलाई देख्ने म

अचेल अलि रिसाएको पाउँछु

अचेल अलि तातिएको भेट्छु

हिमालमा पनि

सागरमा पनि

पानी !

किन रिसाएका आजकल ?

मसँग/हामीसँग

किन पहाड बोकेर आउँछौ

मेरो बस्तीतिर ?

किन हिमाली लेदो घिसारेर ल्याउँछौ

मेरो खेतबारीतिर ?

भन, किन बोकेका प्रलय ?

किन दिएका विप्लवी परीक्षा ?

किन हानेका असिनाको डल्लाले मलाई ?

किन उल्कापात बोकी हिँडेका ?

मेरो बस्तीमा पसी

गरीवका कठालो समाती

किन प्राण पखेरू उडाएका ?

किन चिहिलबिहिल गराएका हामीलाई ?

सभ्यता आमन्त्रण गर्ने तिमी

श्रद्धालुका मनमा भिज्ने तिमी

परियोजनाका अर्घ पनि

सिर्जना सर्ग पनि

किन सुनामी भएर बहुलाएका ?

किन उत्ताउलो बनेका ?

किन विनास यात्रामा रमाएका ?

ए भोटेकोशी,

ए, मेलम्ची,

ए, हिमाली जलद

ए, समुद्री लहर !

धेरै पढेँ

धेरै गमेँ

धेरै नियालेँ

तिमीलाई

तिम्रो आँतलाई

आफूलाई

आफ्‌नै कर्मलाई

गल्ती भएकै छ मेरो

मैले कान समातिसकेँ

सच्चिन तयार भइसकेँ

म हिमाल पगाल्न उद्यत

आगो निभाउन तयार छु

के तिमी

रिसाउन छोड्छौ ?

उदण्ड हुन रोकिन्छौ ?

गरीव बस्तीमा नाँच्न छोड्छौ ?

हरिया खेतबारीमा बुर्कुसी मार्न छोड्छौ ?

ए, पानी !

ए, पानीका लहर !

तिमीलाई सोध्छु

सोधिरहन्छु,

प्रकोप बोक्दा थकाइ लागेन ?

विनास गाउँदा सृजन–रहर जागेन ?

म तिमीमा

अमृत खोज्छु

म तिमीभित्रको

जीवन रोज्छु

११ भदौ ०८३

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।