साहित्यकार भारती गौतमका अहिलेसम्म प्रकाशित कृतिहरू मलाई सबै मन पर्छन्, जहाँ आमा मन घुलिएर उता र यतालाई जोडिरहेका हुन्छन्। अमेरिका रहँदा–बस्दाका धेरै अनुभूति आइसके, अब के आउला, कताको आउला भन्दै थिएँ। केही त म आफैँले पनि अनुभूत गरिसकेकी छु पनि भन्दै थिएँ, तर कथा पल्टाउँदै जाँदा पो थाहा पाएँ, आफूले त उक्काउन मात्र भ्याएको रहेछु भनेर।
“फरक फूल” कथा सङ्ग्रह हात परेको धेरै भयो। फूलका बासनाहरू नाकमा ठोकिएको पनि धेरै भयो, तर वहाँका फूलहरूले ममा कस्तो सुगन्ध छरे, भन्नु थियो। बल्लबल्ल समय निकालेर आज त्यसको मेलो पसेँ।
१६ वटा भिन्दाभिन्दै रङमा फुलेका फूलहरूले भिन्दाभिन्दै कथा बोकेका छन्। जुन कथाहरू पढ्दा आश्चर्यले बेरिरहन्छ पाठकलाई।
कथा सङ्ग्रहको सुरुवात नै “ठूली फुपू रूथ उस्तै” बाट गरिएको छ, जुन कथामा दुई संस्कारका राम्रा–नराम्रा दुवै पक्षलाई कथाले उतारेको छ। परदेशका सुरुवातका बसाइमा कसैले अलि धेरै माया गर्यो भने आमा जस्तो लाग्नु, फुपूजस्तो लाग्नु र दिदीजस्तो लाग्नु कुनै अनौठो कुरा होइन रहेछ। किनकि हरेक छोराछोरी लामो समयसम्म आफन्तहरू नभेट्दा घर सम्झेर निस्ताउँदारहेछन् र कसैले माया गर्यो भने त्यो मान्छे कतिखेर आफ्नो हुन्छ, थाहै नहुने रहेछ।
मलाई पनि यस्ता कुराहरू ठोकिरहन्छन् बेलाबेला, तर एकपटक विवाह भइसकेका आमा, दिदी–बहिनीको केही कारणले फेरि विवाह हुनु भनेको कुनै बेला हाम्रो समाजमा सुन्दा मात्र पनि पाप लाग्ने कुरा हो। समय फेरिएको कहाँ धेरै भएको छ र? जतिसुकै शिक्षित परिवार भए पनि छोरी जन्मनु भनेको बाउआमाको इज्जत, मान, प्रतिष्ठा जोगाउनेसँग जोडिन्थ्यो र छोरीलाई एउटा घरमा काम गर्ने मेसिनजस्तो पारेर हुर्काइन्थ्यो।
जब घरको काम सबै जान्ने मेसिनजस्ती छोरी आफ्नो काम गर्ने तरिका बदल्न खोज्थी, त्यसपछि परिवारमा प्रलय जान्थ्यो। तर त्यसको ठीक उल्टो छोराहरू जतिनै बिग्रेका भए पनि उनीहरू गतिलै हुन्थे, किनकि बा–आमाले दान दिने वस्तु थिई छोरी। दान लिनेले जसरी राखे पनि भयो। सही मान्छेको साथ पाई भने ऊ जीवनसाथी हुन्थी, घरको सौन्दर्य पनि हुन्थी भने गलत मान्छेमा परे घरपालुवा जनावर अथवा घरमा काम गर्ने मान्छेको दर्जामा हुन सक्थी।
त्यही कुरालाई पत्याइरहेको आँखाले विदेशमा आफ्नो खुसीमा बाँच्ने महिला देख्दा कथाकी पात्र रूपालाई रूथ देखेर अचम्म लाग्नु कुनै अनौठो कुरा भएन।
रूथलाई आफ्नी ठूली फुपूजस्तै लागे पनि उनी त अमेरिकामा जन्मिएर हुर्किएकी, आफ्नो जीवनको फैसला आफैँ गर्न सक्ने साँच्चै साहसिली महिला, जसका पाँच वटा छोराछोरी र तीनपटक डिभोर्स भइसकेर पनि चित्तबुझ्दो मान्छे खोजिरहेकी सुन्दा ‘ठाउँ पो कस्तो?’ भन्ने लाग्छ।
‘तैँले माया गरिस् भने मात्र म पनि माया गर्छु’ भन्ने समाजलाई ‘मारे पाप र पाले पुण्य’का कुरा के थाहा र! कसरी तुलना गर्न सकिन्छ र! एकातिर दुईजनाको सम्बन्धको सम्झौता बिग्रिनेबित्तिकै अलगिने परिपाटीमा हुर्केकी महिला छे भने अर्कातिर यस्ती महिला छ, जो सात वर्षमा आठ वर्षको मान्छेसँग विवाह भएर नौ वर्षमा विधवा भएर माइत बस्दै आएकी ठूली फुपू छिन्।
एउटा मन नपरेपछि अर्कोसँग विवाह गर्न खोजेकी रूथलाई न उसको निर्णयमा छोराछोरी बाधक बन्छन्, न परिवार न त समाज नै। त्यही भएर होला, आफ्नी विधवा फुपूको बाँचुन्जेलको जीवन सम्झेर आँखामा समाज बिझाउँदा अर्कै संसारमा ठमठमी हिँडेकी रूथमा समानता भनेकै दुवै महिला हुनु हो जस्तो लागेको होला रूपालाई।
एकातिर त्यही महिला, जो आफ्नो जीवनसाथी रोज्नका लागि आफैँ पखेटा हाल्न सक्छे। अर्कातिर त्यही महिला, जसका पखेटा घर र समाजले भाँचिदिएर उड्नै नसक्ने बनाएको हुन्छ।
जब रूपाले रूथको बिहे हुने कुरा थाहा पाउँछिन्, त्यसपछि “रूपालाई अचानक रूथको अनुहारमा देखिने ठूली फुपूको तस्बिर विस्तारै धमिलो हुँदै जान थाल्छ। उनको मनमा दिवङ्गत ठूली फुपूको माया मडारिन थाल्छ।” सायद त्यतिबेला रूपाले विधवा भएपछिको ठूली फुपूको अवस्था सम्झिइन् होला।
‘जीवन उत्सव’ कथामा पसेदेखि नै मन भारी हुन्छ। पात्रकै शब्दमा यसरी सुन्दा अनौठो पनि लाग्छ उत्तिकै।
“चर्च यसै पनि नमिल्ने साथीको घर जस्तो, त्यसमाथि ‘शोकसभा’। मलाई पहिले कहिल्यै नदेखेको सहरभित्र छिरे जस्तो लागिरहेको थियो।”
मन्दिर गइरहेका खुट्टा चर्चभित्र छिर्दा साँच्चै नजाने बाटो डर लाग्दै हिँड्नु जस्तो पक्कै भयो होला।
“सभा हलभित्र ठूलो रुवाबासीको कोलाहल छ कि सुँक्क–सुँक्कको सन्नाटा छ, अनुमान गर्न सकेको थिइनँ। यन्त्रवत् हामी चुपचाप बस्यौँ। नबोलाएको समारोहमा झुक्किएर पुगेजस्तै वरपर हेर्न थाल्यौँ। जीवनलाई हेर्ने अर्कै सफा र नयाँ चस्मा लिएर हामी घर फर्कियौँ।”
घरदेखि धेरै परका विवाह पनि अर्कै, आफ्ना खुसीका देख्दा यदाकदा आफ्नो खुसीमा विवाह गरे पनि धेरैजसो बाबुआमाको खुसीमा विवाह गरेका मान्छेमा तुलना गर्न पुग्छ मन।
संयोग भनौँ कि वियोग, जसको मृत्युमा जाँदै थिइन् कथाकी पात्र, उसको बिहेमा पनि पुगेकीले बिहेको सम्झना आउनु स्वाभाविक नै हो। क्यान्सरको बिरामी क्रिसको आयु चार महिना मात्र छ भन्दाभन्दै पनि क्रिसले विवाह गरेर परिवार बसाउन खोज्नु। क्रिसको सबै कुरा थाहा पाएर पनि जेनी उसँग विवाह गर्न मञ्जुर हुनु नै अनौठो कुरा लाग्छ। चार महिनापछि छुट्टिनु नै छ भन्ने जान्दाजान्दै पनि राजीखुसीसाथ विवाह गर्नु, विवाहपछिका हरेक पल रमाइला बनाउनु आफैँमा कथामाथिको कथा हो कि! अथवा सत्य घटना होइन कि, नभएको होइन। तर जब क्रिसको मृत्यु हुन्छ, त्यसपछि गरिने मृत्यु संस्कारलाई हेर्दा यथार्थ कथा लाग्छ। मृत्यु संस्कारलाई अर्कै तरिकाले मान्नु, मृतक क्रिस र उसकै श्रीमती जेनीका घुमघामका रमाइला फोटाहरू एकपछि अर्को सिनेमाका पात्रझैँ आउनु, कुनै सिनेमा हलमा छिरेझैँ लाग्नु स्वाभाविक हो, जहाँ रोइकराइको साटो मृतकका राम्रा कामको वर्णन देखाइन्छ।
कथामा दुई भिन्न संस्कारमा हुर्किएका नारीहरूको लोग्नेको मृत्युपछिको अवस्थालाई चित्रण गरिएको छ, जहाँ एकातिर त्यही नारी, जो लोग्ने बितेपछि उसको अधिकार परिवार र समाजले लिएको हुन्छ भने अर्कातिर त्यही नारी हो, जसको लोग्ने गएपछि पनि आफ्नो अधिकार आफैँसँग हुन्छ। ऊ आफ्नै मर्जीमा बाँकी जीवनका उठबस गर्न सक्छे। म आफैँले पनि दुई भिन्न संस्कारका चलनलाई मनमनै तौलेकी थिएँ। यही आश्चर्यलाई “जीवन उत्सव” कथाले बोलेको छ।
“मिसेस स्मिथ, सारी पिन र हजुरआमा” कथामा अमेरिकामा चिनेकी मिसेस स्मिथ र आफ्नी हजुरआमाको तुलनात्मक वर्णन भेट्न सकिन्छ। कहाँ पश्चिमा सहरको झिलिमिलीमा हुर्केकी मिसेस स्मिथको कथा, कहाँ टुकीको उज्यालो, दाउराघाँस, खेतालो, गोठालोमा हुर्किएकी आफ्नी हजुरआमाको कथा। उमेरले हो या हजुरआमाको मायाले हो, कथाकी पात्रले उनलाई देख्दा हजुरआमाको याद आउँछ। त्यही भएर स्टेट सेलमा एउटा टल्किने सारी पिन हेरिरहेको पात्र उतिखेरै नेपाल पुगेर स्वर्गवासी हजुरआमा भए ठाउँमा पुग्छ। बिहे के हो, घर के हो र लोग्ने के हो भन्ने कुरा नजानीकनै बालविवाह भएकी हजुरआमा र आफ्नै मर्जीको उडान भर्ने मिसेस स्मिथ उस्तै नलागे पनि दुवै महिला चाहिँ हुन् भनेर तुलना गरिएको भान हुन्छ।
मैले त ग्यारेज सेल र मुभिङ सेलमा सामान किनेकी थिएँ। अब यो स्टेट सेल के होला भनेर कथाभित्र पस्दै गएँ। अनि पो थाहा पाएँ, मिसेस स्मिथ बिरामी भएर नर्सिङ होममा बस्न थालेपछि उनको हेरचाहको खर्च उठाउन उनकै सहमतिमा सरकारले हिजोसम्म चलाइरहेका उनका सामानहरू सस्तोमा बेच्ने चलनलाई स्टेट सेल भनेको कुरा।
“तपाईंले लगाइराखेको बाईँ किन मलाई दिनुभएको?”
“पछिसम्मको लागि तँलाई मेरो चिनो होस् भनेर नि नानी!”
हजुरआमाको अनुहारमा अलिकति दियो बल्यो।
चिनोको रूपमा हजुरआमाले दिएको बाईँ आफूलाई आत्मीय लागे पनि स्टेट सेलमा किनेको सारी पिनको कुरा सबैले गर्ने, तर हजुरआमाले चिनोको रूपमा दिएको बाईँको कुरा कसैले नगर्ने मान्छेहरू देख्दा आफैँ हजुरआमाको सम्झनामा हराएझैँ लाग्छ र पात्र यसरी बोल्छिन्—
“पहिले कहिल्यै नदेखेको अनि आफ्नो उमेरलाई दुईले गुना गर्नुपर्ने उमेरको व्यक्तिको फेर समातेर बाह्रै वर्षमा मेरी हजुरआमाले जस्तो कल्पनाको मिसेस स्मिथले अरुण नाघ्नु परेन होला। मेरो मन तुलनाको तराजु उचाल्न थाल्छ।”
बालविवाह गरेका दिनदेखि बुहार्तन खप्न सुरु गरेकी हजुरआमालाई मिसेस स्मिथसँग तुलना गर्नु सायद कथाकी पात्रले पक्कै पनि हजुरआमाको उमेर तिनीसँग मिल्न गएरै हो कि भनेझैँ लाग्छ। जातले मात्र महिला, तर चालचलन, उठबस सबै लोग्नेमान्छेको जस्तो भएकी मिसेस स्मिथ देखेर हजुरआमाका सामाजिक हतकडीहरू कथाले बारम्बार सम्झाउने गर्छ। स्टेट सेलमा किनेको पाँच डलरको सारी पिनसँग हजुरआमाले दिएको चाँदीको बाईँ कतै तुलना हुन नसक्ने सत्य हुँदाहुँदै पनि पात्र घरीघरी आफ्नो बाल्यकालमा पुगिरहन्छ।
“इच्छापत्र नभएको या हकदार नभएकाको सम्पत्ति उनीहरूको निधनपछि सरकारले ‘स्टेट सेल’ गरेर कर उठाउँछ, अनि जीवितै भए पनि आफन्त कोही नभए समाजसेवी संस्थाहरूले ‘स्टेट सेल’ गरेर ती अशक्त वृद्धहरूलाई चाहिने खर्च उठाइदिन्छन्।”
हुर्केका छोराहरू बिहे गर्नेबित्तिकै ‘मेरो अंश देऊ, म छुट्टिएर बस्छु’ भन्ने समाजमा हुर्केकी पात्रलाई आफू अशक्त हुँदा आफ्नो सम्पत्ति स्वविवेकले जसलाई मनपर्छ, त्यसलाई दिन सक्ने स्वतन्त्रता थाहा पाउँदा छक्क पर्नु स्वाभाविक हो भन्ने कुरा “मिसेस स्मिथ, सारी पिन र हजुरआमा” भन्ने कथाबाट थाहा पाउन सकिन्छ।
कसैको बच्चा हेरिदिन्छु भनेर राखिदिनु, राख्ने क्रममा एक दिन आधा रातसम्म आमा आफ्नो बच्चा लिन नआउनु, आमाको साटो नचिनेको मान्छेको हातमा निद्राकी बच्चीलाई उठाएर दिनु, बच्ची कसैसँग गइसकेपछि उसकी आमाले ‘मेरो बच्चा खोइ?’ भनेर फोन गर्नु, अनि ‘ए, यही सुतेकी रहिछ, ब्याङ्केटले छोपेकी रहिछ’ भनेर अलि पछि फोन गर्नु आदि सुन्दा मात्र पनि बच्चा राखिदिनेको मनमा कति रेक्टरको भुइँचालो गयो होला, अनुमान गर्न पनि सकिँदैन। उसको बच्चा हेरिदिने मान्छेको मनको घर कति क्षति भयो, त्यसको लेखाजोखा नै के भयो होला र! तर यो डरले अरूका छोराछोरी पनि आफ्नाजस्तै ठानी सजिलै ‘म राखिदिन्छु’ भनेर जिम्मा लिन नहुने रहेछ भन्ने ठूलो पाठ सिकेको कुरा “डोरोथीको डेट” कथामा पढ्न पाइन्छ।
यो कथामा धेरै अचम्मका कुरा सुन्न पाइन्छन्, जसमा आफ्नै विश्वास पनि कहिलेकाहीँ चिप्लिने त हैन भन्ने लाग्छ। पात्रकै भाषामा सुन्दा झन् अचम्म लाग्छ—
“बिहे गरेका महिलाहरू अनि पुरुषहरू पनि अरूसँग डेटमा जाने गर्छन्, रमाइलोका लागि। डोरोथीको ओठबाट यो वाक्य जति सजिलै निस्कियो, मेरो कानसम्म पुग्दा त्यति नै गुजुल्टिएको धागोजस्तो बन्यो।”
कुन रमाइलो र कस्तो रमाइलो भनिरहनै पर्दैन।
आश्चर्य लागेर ‘हँ!’ भन्दा “ह्वाट डु यु मीन? डन्ट यु गेट इट? आइ गो टु डेट विथ डिफरेन्ट पिपुल ह्वेन डेभिड इज नट होम”! मैले निकै पढिसकेँ ठानेको अमेरिकाको पुस्तकको अर्को च्याप्टर फेरि खुल्छ। “मेन डु द्याट टु”!
डोरोथीले त सजिलै भनी, तर उसको सजिलो भाषा कथाकी पात्रलाई फुकाउनै नसक्ने गाँठो पर्यो। सायद ती गाँठा अनुहारमा देखियो होला र त उसले आश्चर्य मान्दै ‘के भनेकी तैले? म त मेरो लोग्ने नभएको दिन अरू केटाहरूसँग रमाइलो गर्छु, अनि मेरो लोग्नेले नि त्यसै गर्छ’ हाँस्दै भनेकी होला। डोरोथीले यति भनिसक्दा आफ्नो विश्वासको खाँबो हल्लिनु स्वाभाविक थियो। विश्वास र समर्पणले बलियो बनाएको सम्बन्ध डोरोथीका कुराले कतै कमजोर त हुँदैन? डोरोथीका कुरा पात्रलाई अन्तै कतैको कथाजस्तो लाग्नु नौलो कुरा हुँदैन।
बिहा भएको मान्छे आफ्नो हुन नसक्दा, अरूले देख्दा भाग्यमानी देखिए पनि त्यो भाग्य आफूलाई बिझाउँदा, परचक्रीले गरेको माया अँध्यारोमा बलेको बत्ती हुने कुरा “भाग्यमानी” कथाले भन्छ।
“डोनर नम्बर ४५” कथामा पढ्दै जाँदा फेरि मलाई आश्चर्यले बेर्यो। आफ्नो बच्चालाई केही समस्या भएर डाक्टरकहाँ पुर्याउँदा उस्तै किसिमको समस्या भएका अरू बच्चा देख्दा जो–कसैलाई पनि राहत हुन्छ नै। समस्या बाँड्न पाएर अलिकति हलुका पनि हुन्छ होला, तर डाक्टरकहाँ ल्याउने क्रम बढ्दै जाँदा घाँटीको समस्या भएको अस्टिनसँग आफ्नी छोरी एन्जेलाको हुबहु बानी–व्यवहार मिल्नु, खेल्न पनि उनीहरू मात्र खोज्नुले डायनामा चिसो पस्दै जानु, दुवैका बाबुको परिचय सिर्फ दुईवटा अङ्क हुनु, त्यो दुईवटा अङ्क न्युयोर्कको क्रायो (CryoBank) स्पर्म बैङ्क हुनुले शङ्काको निकै नजिक ल्याएको हुनुपर्छ डायनालाई। संयोग या भवितव्य हो, छुट्याउन नसकेको अवस्था भएकी डायना र “डोनर नम्बर पैँतालिस” कथाले मलाई भित्रभित्रै हुडलिरहन्छ। अझ कथाकै पात्रको मुखबाट सुन्दा—
“डायनाको कथा म र मेरी साथी लक्ष्मीका लागि त पखेटा उम्रिएर घोडा नै आकाशमा उडे जस्तो भयो। हामीले पढेका र सुनेका उदेकमाथिका उदेकले जित्न नसक्ने डायना र एन्जेलाको कथा उहिले काकाले सुनाउने दन्त्यकथाभन्दा रोचक भयो।”
साँच्चै यो कथाले मलाई पनि उदेकमाथि उदेक थपेको भान भयो।
“एक्लो एन्थोनी” कथाले मलाई फेरि एकपटक घर पुर्यायो र आमालाई लागेको अल्जाइमर रोग र त्यसले दिएको पीडाको सम्झना गरायो। आफ्नी जीवनसाथीलाई अल्जाइमरले गलाउँदै गएपछि छोराछोरीले नर्सिङ होममा राख्नु, तर आफूलाई भेट्नै नदिनुको पीडा आँखाबाट बगाइरहेको देख्दा ननिको लाग्नु स्वाभाविक हो। आखिर माया भन्ने कुरा जहाँ पनि उस्तै हुने रहेछ भन्ने कुरा यो कथाले पुष्टि गरेको छ। एन्थोनी रोएको देख्दा कथाकी पात्र पनि आफ्नै आमाबिनाको बुवालाई सम्झन पुगेको यथार्थ पढ्दा मन कटक्क खान्छ।
“बिहेको निम्तो” कथामा हरेक कोणबाट हेर्दा मन नपरेको मान्छेको बिहे आफ्नै बहिनीसँग हुन सक्ने मनको कुनै कुनाबाट नसम्झिए पनि दुईतिरको निम्तोमा एउटै बेहुलाको नाम सुन्दै मनमा शङ्काले घर जमाएको कुरा छ, जुन कुरा नहोस् भन्ने कामनाको अपिल पनि हो।
“अर्लको इच्छापत्र” कथा पढ्दा कफी किन्न आउने एउटा ग्राहक कसरी त्यति धेरै दानी हुन्छ होला, जसले कानुनी रूपले नै इच्छापत्र बनाएर आफ्नो निधनपछि दिनु भनेर वकिललाई छोडेको हुन्छ।
हरेक ग्राहकलाई राम्रो बोलीचालीले सत्कार गर्नुपर्ने एक सामान्य औपचारिकताले बेचेको एक कफीमा कति धेरै माया लुकेको हुने रहेछ भन्ने कुरा अर्लको इच्छापत्र पढ्दा लाग्छ। जुन कुरा ग्राहकको मृत्यु भएपछि उसको छोरो बाउले छोडेको इच्छापत्र बोकेर अश्मितालाई काम गरिरहेको ठाउँमा भेट्न आएपछि मात्र थाहा हुन्छ। सधैँ आउने ग्राहकसँग अलिक नजिक भएर बोल्दैमा, ठट्टा गर्दैमा, दुःख गरेर पढ्दै गरेकी एक सामान्य परिवारबाट अमेरिका पढ्न आएकी अश्मिताले उपहारस्वरूप पैसा पाउँदा उसलाई डर लाग्नु, कुनै भयले खेद्नु असामान्य कहाँ हो र, जुन कुरा उसले कहिल्यै पनि सोचेकी हुन्न।
अर्लले किन दियो होला अश्मितालाई आफ्नो सम्पत्ति, जिज्ञासा एकातिर छ भने अर्कातिर आफ्नो जायजेथा जसलाई दिन पनि पाइने स्वतन्त्रता भएको मुलुकमा दुःख गरेर पढ्दै गरेकी अश्मिता र अश्मिताहरूलाई विना स्वार्थ पनि माया गर्न सक्छन् भन्ने एउटा नमुना पनि हो। स्टारबक्सको ग्राहक अर्ल र कर्मचारी अश्मिता दुवै सुखदुःख साट्ने एकअर्काका छायाँ भएर अर्ललाई आफ्नै बच्चासरह माया लागेको पनि हुन सक्छ। जसलाई अश्मिताले आफ्नो बुवा बितिसकेको कुरा सुनाइसकेकी हुन्छ। आफ्नो पीडा सुनाउने क्रममा आँखाको डिल भरिएर, गला अवरुद्ध पार्दै “मलाई माफ गर अर्ल!” भनेको पनि हुन सक्छ। ग्राहक अर्लले दिवङ्गत बाबुप्रति अस्मिताको माया देखेर होला, उसले आफ्नो एउटै छोरो मार्कको टाढाको व्यवहार सम्झन पुगेको र यस्तैमा अर्लले “तँ मेरी छोरी भएकी भए हुने थियो” भनेको। अश्मितालाई अर्ल जिस्किएजस्तो लागेर “म तपाईँकी छोरी हुन सक्छु नि, मान्नु भयो भने” भनेको ठट्टा नै साँचो भएर आउनुमा सायद उमेर ढल्किँदै गएपछि हरेक मान्छेलाई कोही मीठो बोलिदिने मान्छे छेउमा चाहिने रहेछ भनेझैँ लाग्छ।
“नोरा र नियति” कथामा एउटा सानो सिगारको बट्टामा आफ्नै साथीले लेखेको शब्दले दिएको पीडा र बिरामी श्रीमान्सँग टुटेको विश्वासमा परेर बिथोलिएकी नोराले वास्तविकता थाहा पाएपछिको ग्लानिको वर्णन पाइन्छ।
“इजबेलाको कथा” ले मेरो आमा मनलाई धेरै धेरै छोयो। छोरीलाई गर्ने विभेद त मेरो समाजमा मात्र थियो भन्ने बुझेकी मैले अन्त पनि हुने रहेछ भन्ने कुरा थाहा पाएँ। कथाकी पात्र सानै उमेरमा पोर्टोरिकोबाट अमेरिका आए पनि बाबुआमाले अनुशासनको दाम्लो छोरीलाई मात्र कस्नु, धेरैपटक आत्महत्याको कुरा सोच्नु र अन्त्यमा “बरु म पढेर मेरै बाउआमालाई पढाउने हुन्छु” भनेर अरू विषय नछानेर काउन्सिलिङ विषय छान्ने एक आँटिली केटी लाग्छे। आफूले छोराछोरीमा विभेद नगरे पनि कतिपटकका स्लिपओभरमा अरूका घरमा छोराछोरी पठाउन नसकेको कुरा याद आयो। भिन्न संस्कारबाट आउनेले सबै स्वतन्त्रता एकैचोटि लिइहाल्न सक्दैन, त्यो यथार्थ हो, तर हामी आफूले पनि बिस्तारै सिक्नुपर्छ, जसले आफूलाई पनि केही सहज बनाओस्, सँगसँगै आफ्ना छोराछोरी सहज होऊन् भन्ने लाग्छ।
हाइस्कुल मात्र सकेकी एउटी नानीले यति गहिरो कुरा गर्दा साँच्चै कुनै पनि आमाले आफूले आफ्ना छोराछोरीसँग गर्ने व्यवहार सम्झन्छ र आफूलाई तौलिन्छ नै।
“अधुरो वाक्य” कथामा टाढाको साइनो, त्यो पनि साथीतिरको भए पनि नेपाली भएकोले कोही आफ्ना बा बितेर शोकमा बसेको बेला भेट्न जाँदा उस्तै अवस्थामा रहेकी आफ्नी साथीको याद आउँछ, जो आमा गुमाएर बसेकी थिइन् ओक्लाहोमामा। हरेक घर छोडेका छोराछोरीले सहेका कथाको कथा हो यो कथा। आउँछु भनेर पुग्न नसक्नु र पुग्दा जसलाई भेट्न गएको, त्यसलाई कहिल्यै भेट्न नसक्ने यथार्थ पढ्दै जाँदा मलाई आफ्नै आमा सम्झेर गला अवरुद्ध भयो।
बालखैमा आमा बन्न लागेकी न्यान्सीको गर्भ रह्यो भन्ने थाहा पाएपछि आफूले विश्वास गरेको मान्छे पर्ल हराउनु, बाउ–आमाले आफ्नो इज्जत जाने डरले छोरीलाई अन्तै राखेर बच्चा जन्माउन लगाउनु, जन्मिएको बच्चालाई अर्कैलाई धर्मपुत्री बनाएर दिएको पढ्दै जाँदा आजभन्दा ३०–४० वर्ष अगाडिको अमेरिकी समाज कस्तो थियो अनुमान गर्न सकिन्छ। हुन त महिलाले भोट दिने अधिकार पाएकै कति भयो र अमेरिकामा!
न्यान्सीले मनमनै राखेको उसकी छोरीको नाम क्रिस्टल, जो हिराहरूमा सबैभन्दा राम्रो र उज्यालो धातु भएर होला, आफ्नो बच्चा पनि यस्तै सम्झेर राखेको नाम, तर त्यो नाम राखेर उसले बोलाउनै नपाउँदै ऊबाट खोसिन्छ। जब त्यही सुन्दर वस्तुलाई आफूबाट चुडेर अरूले लगे, त्यसैबेला उसलाई आफ्नो मातृत्व मरेको आभास भएको थियो होला। लानेहरूले क्रिस्टललाई कहाँ लगे, कसरी पाले, कसरी हुर्काए न्यान्सीलाई थाहा थिएन, तर उसले बिर्सिन पनि सकेकी थिइन।
त्यही बच्चा मेगन नामले डेन्टल हाइजिनिस्ट भएर आउनु र न्यान्सीलाई उपचार गर्ने क्रममा घनिष्ठ साथी हुनु, कुनै नाटकजस्तो लागे पनि मेरो आमा मनलाई चिमोटिरह्यो। डेन्टिस्टकहाँ जाने क्रममा जब मेगनले कसैले पालेकी हुँ भनेर आफूलाई हुर्काउनेहरूको नाताको बर्को उघार्दै जान्छे, तबदेखि न्यान्सीमा छोरी भेटाउने आशाको मधुरो बत्ती बल्न थाल्छ। जन्मेकै दिन कसैको हातमा राखिदिएकी आफ्नी छोरी क्रिस्टल त कतै मेगन हैन? न्यान्सीमा आश थपिँदै जान्छ र ऊ खोज्न थाल्छे क्रिस्टललाई लाने मान्छे। जब मेगन मे १२ मा आफू जन्मिएको उही अस्पताल जाने कुरा न्यान्सीले थाहा पाउँछे, जहाँ क्रिस्टल जन्मिएकी थिई, त्यसपछि चाहिँ न्यान्सीको आमा मन छताछुल्ल हुन खोज्छ।
कथाले भनेजस्तै तीन पटक बिहे गरेर तीनै पटक पारपाचुके गरिसकेकी न्यान्सीलाई ती असफल सम्बन्धबारे कुनै गुनासो र ग्लानि थिएन। राम्रोसँग अनुहार पनि देख्न नपाएकी छोरीकै खोजीमा उसको जीवन केन्द्रित हुनुले नै पुष्टि गर्छ ऊ कत्रो मानसिक पीडामा रहिछ भन्ने कुरा।
“नभएर नभेट्नुभन्दा भएको निश्चित हुँदाहुँदै पनि कहिल्यै भेट्न नपाउनुको पीडा सायद तिम्रो अनुमानभित्र पनि नपर्ला।”
साँच्चै न्यान्सीको घाउ अनुमानमै नपर्ने हो। सबै आमालाई दुख्ने घाउ न्यान्सीले एक्लै त्यतिका वर्ष कसरी बोकी होला? अनुमान गर्न पनि नसक्ने कथा “न्यान्सी र क्रिस्टल” ले कथामा देख्न पाइन्छ।
विश्वासमा गएको पहिरोमा पर्ने सयौँ रमलाहरूको कथा “रमला कि रञ्जिता?” लेखले बचाएको छ। आफ्नो विद्वत्ताले पनि घुँडा टेक्छ, सक्षम भएर पनि असक्षम, निःसहाय बन्नुपर्दाको मानसिक अवस्था कस्तो हुन्छ, यो कथा पढ्दा थाहा हुन्छ।
संसारमा सुन्दर जोडी नभएका कहाँ हुन्छन् र! तर त्यही सुन्दर जोडीको सुन्दर संसार भत्किएर भग्नावशेष मात्र बाँकी रहँदा पनि आफैँसँग सधैँ बसिरहने सम्झनाको सहारा लिएर बाँकी जीवन बाँच्नुपर्ने नियतिको कथा “रातो पस्मिनामा” भेटिन्छ। जुन पढ्दा गला अवरुद्ध हुन्छ, थुक घाँटीमै अड्किन्छ। चिरनिद्रामा निदाइसकेकी अन्जुको अन्तिम बिदाइका लागि लगाइदिने सारी खोज्न जाँदा दश वर्षको विवाह वर्षगाँठमा अन्जुलाई समीरले दिएको उपहार “रातो पस्मिना” अन्जुको आखिर जीवनको उपहार हुन पुगेकोले पनि बढी दुखाउँछ पाठकलाई। यो घरदेशको कथा हो, जहाँ पारिवारिक डुङ्गा डुबेपछि को विछिप्तताको चित्रण पाइन्छ। कथाकै भाषामा सुन्दा अझै पीडादायी लाग्छ।
“रोगले गलेको अन्जुको शरीर थाकेर लम्पसार चीर निद्रामा सुतिसकेको थियो। क्यान्सरजस्तो घातक शक्तिको सामु समीरको माया, अन्जुको आत्मबल, आधुनिक अनुसन्धानका ठेलीहरू अनि अत्याधुनिक औषधि सबै पराजित थिए। अरू बेलाको पहाडजस्तो दह्रो अन्जुको शरीर अचानक पहिरोले लडेको रूखजस्तो भएको थियो। आँगनमा रहेको अन्जुको चिसो शरीर अब समीरको अन्तिम बिदाइ पर्खिरहेको थियो। समीरको हातको आखिरी स्पर्शको प्रतीक्षा गरिरहेको थियो। वास्तवमा समीर अन्जुको अन्तिम यात्रामा उनलाई सजाउने लुगाको खोजीमा यस कोठामा पसेका थिए। थरथर कामिरहेका हात र भिजेका परेला बोकेर समीरका हात अन्जुका लुगा राखेको आलमारीमा पुगे। रातो सारीका सामु अडिए। अघिदेखि नै पस्मिनाको पोको त उनका हातबाट छुटेकै थिएन।”
विश्वासघात गरेर भाग्ने सतिसहरू समाजमा बग्रेल्ती भेटिन्छन् र त्यसका सिकार हुने सुजाताहरू पनि उत्तिकै भेटिन्छन्। आवेगका सहीहरू गलत साबित भएपछि त्यसको दोष महिलालाई मात्र थोपरिने समाजमा प्राकृतिक चाहना कसैले रोकेर रोकिँदैन, यसलाई समयअनुकूल लिनुपर्छ भन्ने कुरा जबसम्म बुझिँदैन, तबसम्म सुजाताहरू बाध्य हुन्छन् टुकचाहरूको शरण लिन “मातृत्व कोसँग?” भन्ने कथामा पाइन्छ।
“समाजलाई लत्याएर फक्रिन बाँकी शिशुसँगै टुकुचामा लीन हुने साहससमेतले टाढा बसेर सुजाताप्रति व्यङ्ग्य हाँसिरहेको थियो। धिक्कारिरहेको थियो। टुकुचासँग प्रश्न गर्ने आँट भने सुजातामा आज मात्र पलाएको थियो। सुजाताको हृदयभरि प्रश्नै प्रश्नको खहरे उर्लिन थालेको थियो। टुकुचासम्म नपुगी कल्पनाकै टुकुचाअगाडि प्रलाप गर्छे। “खै मेरो ममता? खै मेरो मुटुको टुक्रा? खै मेरो हृदयको ढुकढुकी?” “टुकुचा! मैले राख्न दिएको नासो... अब म स्वीकार गर्छु, मलाई कृपया मेरो नासो फिर्ता देऊ!”
“टुकुचा! तिमी बुझ पचाएर मौन बगिरहन पाउँदैनौ! त्यो बालक मेरो अवैध सन्तान हुँदैमा तिम्रो पनि हुन सक्तैन,” सुजाता भन्दै जान्छे। “बालकहरू अवैध हुँदैनन्।”
कथैपिच्छे घोचिरहने आफ्नै घरका र समाजका तीखा वचनबाट बच्न जति ढाँट्न खोज्छन् सुजाताहरू, त्यति नै घाउ बल्झिएर दुखिरहन्छ उनीहरूको मन। कथा पढ्दा पात्रहरू उठेर आएर जस्तो लाग्छ, आफ्नो अधिकार फिर्ता देऊ भनेर धर्ना बसेझैँ लाग्छ।
डा. दयाराम श्रेष्ठले भन्नुभएजस्तै भारती गौतमले संयुक्त राज्य अमेरिका देखेकी हुनाले मात्र होइन, त्यस महादेशको अन्तर्यका सूक्ष्म रहस्यहरू समेत राम्ररी बुझेकी, पढेर जानेकी र भोगेकी हुँदा यस्ता बान्कीका कथाहरू लेखिन सम्भव भएको हो। यी कथाहरू नेपाली मनलाई अमेरिकासँग जोड्ने सेतु बनेका छन्।
हो! यी कथाहरू सस्तो प्रचारका लागि मात्र लेखिएका कथा होइनन्। भिन्न परिवेशहरू—बसको यात्रामा होस् या डेकेयरमा, स्टेटसेलमा होस् या बेबीसिटिङमा—हरेक नयाँ मान्छेसँग ठोकिँदा झरेका उनीहरूका व्यथाहरू आफूलाई पनि उत्तिकै दुखेर लेखिएका हुन्। मेरो बुझाइमा एउटा सफल लेखक त्यतिबेला हुन्छ, जब पात्रभित्र छिर्छ, उसका सारा दुःखहरू आफ्नैझैँ गरेर बाहिर निकालिदिन्छ। यसमा साहित्यकार भारती गौतम सफल हुनुहुन्छ जस्तो लाग्छ।
“फरक फूल” की स्रष्टा आफैँले भनेझैँ रङ्गहरूको विविधतामा इन्द्रेणी रचिएजस्तो हृदयहरूको पनि इन्द्रेणी हुँदो रहेछ। बेग्लै हृदयहरूमा पनि उस्तै वेदना टल्किँदो रहेछ। साँच्चै यी कथाहरू केवल सिर्जना होइनन्, ती अनुभूतिहरूका प्रतिबिम्ब पनि हुन्। ती प्रतिबिम्बहरू कहिले मनको ऐनामा देखिन्छन् अनि आफैँजस्ता लाग्छन्, अनि कहिले भने कथारूपी झ्यालबाट आफूभन्दा बेग्लै जीवन चिहाउन थाल्छन्। त्यस्तोमा आफूभन्दा बेग्लै नि आफैँजस्तो लाग्छ।
फरक संस्कृतिमा फुलेका फूलहरूमा जब आफू डुब्दै र उत्रँदै गर्न थालिन्छ, त्यतिबेला ओ... हो..! यहाँ मेरोजस्तै रङ नभए पनि मन भएका मान्छे रहेछन् भन्ने लाग्दो रहेछ।
साहित्यकार तथा “फरक फूल” का प्रकाशक कृष्ण बजगाईँले भनेजस्तै सङ्ग्रहका प्रायजसो कथाले नेपाली मनलाई अमेरिकी जीवनसँग जोड्ने काम गरेका छन्।
फरक फूलहरूका आ–आफ्नै कथा–व्यथाले पाठकलाई कहिले हँसाउँदै र कहिले रुवाउँदै सँगसँगै लिएर जान्छन्। आफूले देखेको समाज र त्यो समाजमा छोरी नामका फूलहरू कतै भीरमा छन्, कतै पीरमा छन्। उहाँकै भाषामा भन्दा जहाँ फुले पनि फुल्ने रङ बदलेका छैनन्, फुल्ने ढङ्ग बदलेका छैनन्। जस्तोसुकै परिस्थितिमा पनि फुलेरै छोडेका छन्। जति कोट्यायो, त्यति धेरै कथा बोकेका फरक फूलहरूलाई बधाई भन्दै यी फूलहरूलाई समाजले सजिलै स्विकारिदिए उनीहरूले जीवनका आधाभन्दा धेरै वर्ष चिन्तामा बिताउनुपर्ने थिएन कि! यही कामना गर्दछु। दिदीलाई हार्दिक बधाई!!
अमेरिका