जूनलाई चढाएको बिन्तिपत्र

कविता डिल्लीराम कट्टेल September 16, 2026, 5:10 pm

डिल्लीराम कट्टेल
डिल्लीराम कट्टेल
(जून !

तिमी त एकैपटक

आधा धरा हेर्न सक्छ्यौ ,

कहिँ कतै

हाम्री पुतली त देखिनौ ?) - २

ल्येन्देबाट

भोटेकोसी हुँदै

त्रिशुलीको खोँचै खोँच

एक पटक

मात्र एकपटक

हेर न

जून !

बिन्ती छ ,

कतै हराएकी हाम्री पुतली

नारायणी हुँदै

गण्डकबाट पवित्र

गंगा स्नान पो गरिरहेकी छन कि ?!?

किनकि

जून !

तिमी त एकैपटक

आधा धरा हेर्न सक्छ्यौ ,

कहिँ कतै

हाम्री पुतली त देखिनौ ?

त्यो दिन

घरबाट विद्यालय हिँडिसकेकी

हाम्री पुतली

सायद प्रार्थना सभामा थिइन् होला ,

कठै न ऐया ,

न आमा ,

न बाबा ,

न सानो भाई ,

न कोही ,

न कतै ,

कोही न कोही ।

तर पनि ,

आशा अझै बाँकी नै छ ,

आज बाबुको मुख हेर्ने दिन

भरेसम्ममा टुप्लुक्क झुल्किनेछिन ,

हाम्री प्यारी पुतली ।

गतवर्ष झैं ,

साना हातले बनाएको ,

कार्टुन चित्र जस्तै देखिने ,

मेरो एउटा चित्र दिँदै

कानमा सुटुक्क भन्नेछिन ,

ह्याप्पी फादर्स डे , बाबा´´ !

मलाई विस्वास छ ,

किनकि

जून !

तिमी त एकैपटक

आधा धरा हेर्न सक्छ्यौ ,

कहिँ कतै

हाम्री पुतली

पक्कै देखेकी छ्यौ ।

जून !

हिजो मात्रै ,

हिलो भित्र खोतल्दै जाँदा ,

भेटें मैले हाम्री पुतलीको जुत्ता ,

छातीमा च्यापेर त्यो जुत्ता ,

हेरेँ आकाशतिर ,

बर्सिए आँसु ,

किनकि

त्यो जुत्ता लगाउने ,

सानो पाइला ,

फेरि कहिले फर्कने हो,

छैन उत्तर मसँग ।

तर पनि मलाई विस्वास छ ,

उनलाई भेट्ने ।

किनकि

जून !

तिमी त एकैपटक

आधा धरा हेर्न सक्छ्यौ ,

कहिँ कतै

हाम्री पुतली

पक्कै देखेकी छ्यौ ।

यसैबीचमा ... जून !

यसैबीचमा उजाड बगरमा ,

टहलिँदै जाँदा ,

हिजोमात्र भेटेँ ,

एक वृद्ध आमा ,

बसेकी थिइन् भत्किएको घरको ढुङ्गामाथि ,

टोलाइरहेका थिए आँखाहरु ,

बहुलाइरहेको नदीतिर ।

उनी बिस्तारै भनिरहेकी थिइन् —

“छोरा !

एकपटक फर्केर आऊ,

घर त फेरि बनाउन सकिएला,

तर तिमीबिना

यो आँगन कसरी भरिएला?”

कुनै उत्तर दिएन नदीले ,

केवल ,

ढुङ्गाहरूमा कुम ठोक्काउँदै

अनन्त यात्रामा बगिरह्यो ।

रातको समयमा फेरि ,

बात हुन्छ ती आमाको ,

केवल तिमीसँग

मात्र जून ।

छोरासँगको एकोहोरो संवाद जस्तै

आखिर तिमी पनि त बोल्दिनौ ,

ती बुढी आमासँग ।

बसिरहन्छ्यौ ,

आकाशबाट टहटह चियाउँदै ।

तर मेरो बिन्ती छ ,

एकपटक ती आमाको छोरा पनि

खोजिदेउ ,

किनकि

जून !

तिमी त एकैपटक

आधा धरा हेर्न सक्छ्यौ ,

कहिँ कतै

ती आमाको छोरो

पक्कै देखेकी छ्यौ ।

(यतिमात्र कहाँ होर जून !

अर्कोतिर …

यदि तिमी खोज्दै गयौ भने

भेट्नेछ्यौ कतै

हाम्री पुतली जस्तै

एउटा बालक ,

खोजिरहेको हुनेछ ,

हिलोभित्र आफ्ना किताबहरू ,

तर हुने छैन आशा

भेटिने सकुशल पानाहरू ।) - २

मेटिएका हुनेछन्,

कापीका अक्षरहरू ,

चर्किएका हुनेछन ,

विद्यालयका भित्ताहरु ,

मेटिएका हुनेछन कालापाटीहरू,

भत्किएका हुनेछन बाटाहरू ।

तथापि ...

उसका साना हातहरू ,

खोजिरहेका हुनेछन् ,

आशाका पानाहरू ।

तर पनि जून !

आज ...

गहिरिँदै गएको ,

पीडाको अँध्यारो पन्छाउन ,

टाढा–टाढाबाट

अघि बढिरहेका छन ,

मानवताका हातहरू ।

भत्किएका मनमा ,

आशा र भरोसाका

दियो जगाउँदै ,

आइरहेका छन् ,

नयाँ सपनाहरू ।

त्यसैले जून !

फेरि बन्नेछ ,

आशाको एउटा सानो घर ।

खुल्नेछन् बाटाहरू ,

बढ्नेछन् हाम्री पुतली जस्ताहरूका पाइलाहरू ,

फेरि विद्यालयतिर निरन्तर ।

(हुन त जून !

कुनै पुनर्निर्माणले,

हराएका पुतलीहरूको सम्झना ,

कहिल्यै नफर्काए पनि ...)२

घाम फेरि

उही पहाडमाथि उदाउनेछ ।

किनकि

सबै कुरा बगाउन सक्ने बाढीले ,

एउटा कुरा बगाउनै नसक्ने रहेछ ,

आशा ,आशा र मात्र आशा ।।।

त्यसैले जून !

फेरि बन्नेछ ,

आशाको एउटा सानो घर ।

खुल्नेछन् बाटाहरू ,

बढ्नेछन् हाम्री पुतलीहरूजस्ताका पाइलाहरू ,

फेरि विद्यालयतिर निरन्तर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।