न भाइ छ, न खेत छ

कविता कैलाशुकमार सिवाकोटी September 21, 2026, 4:34 pm

एकै बुबा र आमा, एकै म, र भाइ,

तर कहिल्यै एक नभई सधैँ पराइ–पराइ !

बुबाआमाको पसिनाले आर्जेको अंश खुसीले छाड्दा,

सङ्घीयताजस्तै गरी दाजुभाइमा चिराचिरा पार्दा,

हामीबीचमा खुसीका बहार पौडनुपर्ने थियो,

उन्मुक्त हाँसोहरू निष्फ्रिकी दौडनुपर्ने थियो !

खोई कुन्नि कस्तो सुकेनास लाग्यो,

भाइले मेरो कुनाको टुँडो मिचेको आशङ्कामा,

सुरु भएको महाभारत शृङ्खला कुद्न थाले,

राम र लक्ष्मण बन्नुपर्ने सम्बन्धहरू,

रावण र विभीषणजस्तै जुध्न थाले !

मुखहरू छरपस्ट बने, कुनै पल पनि थान्कोमा बसेनन्,

व्यवहारहरू नाता र मानवताको घरमा पस्दै पसेनन्,

परिवार, समाजदेखि अड्डासम्म रमिता चलिरह्यो,

बुबाआमाको बिहानी रात बनेर जलिरह्यो !

देउरानी–जेठानीको सम्बन्धमा पनि चरम मन्दी थियो,

पर्खाल कतै थिएन, तर छोराछोरीबीच नाकाबन्दी थियो !

थाकमाथि थाक मुद्दाहरू लम्बिँदै, थपिँदै, झ्याङ्गिँदै गए,

"ढिलो न्याय दिनु न्याय नदिनु हो" भन्ने मन्त्रहरू नाङ्गिँदै गए,

पीरैपीर अनि लज्जाको तीरैतीरले छियाछिया भएपछि,

बेला नपुग्दै बुबाले संसारबाट अवकाश लिनुभयो,

आमाले पनि बुबासँगै जान राजीनामा दिनुभयो !

यता घर, परिवार र सम्बन्धको जग गलिरहेको थियो,

न्यायले पनि उठ्नै नसक्ने गरी हामीलाई ठगिरहेको थियो,

खै कुन्नि के भनौँ, प्रकृतिको निष्ठुरी उपहार नै होला,

भाइ अनि उसको परिवारलाई बाढीसँगै बगाएर लग्यो,

मुद्दामामिलाको साक्षी बस्न मलाई मात्र बचाइराख्यो !

अहिले न बुबाआमा छन्,

न परिवार छ, न भाइ नै छ,

न घर छ, न खेत नै छ !

केवल विस्मात् अनि पश्चातापको भुङ्ग्रो छ !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।