देशको नक्सा

कविता सुजन विश्वकर्मा November 2, 2026, 8:48 am

सुजन विश्वकर्मा
सुजन विश्वकर्मा
मेरो देशको नक्सा कोर्दै जाँदा

एउटा बूढो मान्छेको चित्र बन्यो

जसको सुस्केरामा गण्डकी, कोशी, कर्णाली

सुसाइरहेको थियो

जसको देब्रे छातीमा डम्फु, मादल, सहनाई

गुञ्जिरहेको थियो

जनयुद्धको बेला क्रान्तिको भार बोकेको

दाहिने काँधमा गोली लाग्यो

र फुल्यो मेरो देशको लेकभरि राता लालीहरू

तानाशाहीद्वारा बाँझो जीवन जोतिनु पर्यो

दिनरात गोरुले जसरी

र झुल्यो मेरो देशको खलियानमा सुनौला बालीहरू

मूर्ख रहेछु म त

जसले देश भनेको केवल सिमाना हो भन्दथेँ

जसले राष्ट्र भनेको केवल चार किल्ला हो ठान्दथेँ

अहिले म जहाँ बाँचिरहेको छु -

निर्धक्क भएर हाँसिरहेको छु -

यो त मेरो आदिम पुर्खाहरूको विशाल सपना रहेछ

हो ! म मेरो पुर्खाहरूको सपना कोर्दै छु ।

हेटौँडा - मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।