अपरिपक्वताको पीडा

कथा बद्री अधिकारी November 5, 2026, 2:24 pm

बद्री अधिकारी
बद्री अधिकारी
दमक बजारको बिहान अझै राम्ररी खुलेको थिएन। मुख्य सडकमा दूधका क्यान बोकेका मोटरसाइकलहरू हुइँकिरहेका थिए। चोकका दुई–चार पसलका सटर आधा खुलिसकेका थिए। सडकछेउको चियापसलबाट धुवाँसँगै तातो चियाको गन्ध आइरहेको थियो। पूर्वतिरको आकाश उज्यालिँदै गए पनि बजारमाथिका केही घरका छानामा रातको चिस्यान अझै टल्किरहेको थियो।

सरकारी माध्यमिक विद्यालयको गेटअगाडि भने विद्यार्थीको भीड बढ्दै थियो। कोही साइकल डोर्‍याउँदै भित्र पसिरहेका थिए, कोही दौडिँदै साथीको काँधमा हात राखिरहेका थिए। गेटभित्र छिरेपछि सबैको हतार एउटै दिशातिर थियो—कक्षाकोठातिर।

कक्षा आठको झ्यालबाट बिहानको घाम भित्र पस्दै थियो। धुलोमा अड्किएका स–साना कणहरू उज्यालोमा तैरिरहेका थिए। अगाडिको बेन्चमा तेह्र वर्षकी सरिता कापी खोलेर बसेकी थिई। उनको दाहिने हातमा कलम थियो र बोर्डबाट सारिएका अक्षरहरू कापीमा एकपछि अर्को गर्दै थपिँदै थिए।

पछाडिको बेन्चमा बसेको चौध वर्षको सागरको आँखा भने बेलाबेलामा त्यही कापीतिर पुग्थ्यो।

घण्टी बज्यो।

गणितका शिक्षक कक्षाबाट बाहिरिएपछि विद्यार्थीहरू एकैचोटि बोल्न थाले। कसैले गृहकार्य जाँच्दै थियो, कसैले झ्यालबाट बाहिर हेरिरहेको थियो। सागर आफ्नो कापी लिएर उठ्यो। सरिताको बेन्च नजिक पुगेर रोकियो।

“सरिता।”

सरिताले टाउको उठाई।

“तिम्रो गणितको कापी एकछिन दिन्छौ?”

“किन?”

“हिजोको गृहकार्य लेख्न भ्याइनँ।”

“हिजो त सरले कक्षामै गराउनुभएको थियो।”

“मेरो कापी घरमै छुटेछ।”

सरिताले केही भनिन। कापी बन्द गरी उसको हातमा दिई।

“छिट्टै फिर्ता देऊ है।”

“हुन्छ।”

सागर कापी लिएर आफ्नो ठाउँमा फर्कियो। कापी खोलेर गृहकार्य लेख्नुपर्ने पाना अगाडि राख्यो। तर केहीबेरसम्म उसको औँला कापीको किनारमै अडिरह्यो। त्यसपछि बल्ल कलम चल्न थाल्यो।

भोलिपल्ट फेरि अर्को बहाना निस्कियो।

“सरिता, हिजोको नेपालीको प्रश्न नम्बर पाँच बुझिनँ।”

“कुन?”

“यही।”

सरिता उसको कापीमाथि झुकी। कलमले उत्तरको बाटो देखाइदिई।

“यो त सजिलो छ। पहिले प्रश्न राम्रोसँग पढ।”

“तिमीले बुझाइदिएपछि सजिलो भयो।”

सरिताले आँखा उठाई। सागर मुस्कुराइरहेको थियो।

“तिमी पनि!”

उनी कापी तानेर आफ्नो ठाउँमा फर्किइन्।

केही दिनमै कक्षाका दुई–तीन जनाले कुरा चाल पाए।

खाजा खाने बेला पछाडिको चौरमा सागर र सरिता सँगै बसेका थिए। सरिताको हातमा घरबाट ल्याएको रोटी थियो। सागरले पसलबाट ल्याएको बिस्कुटको पोको खोलेर बीचमा राख्यो।

“तिमीलाई कुन विषय मन पर्छ?” उनले सोध्यो।

“नेपाली।”

“किन?”

सरिताले रोटीको सानो टुक्रा चुँड्दै भनिन्, “कथा पढ्दा आफू पनि त्यही ठाउँमा पुगेजस्तो लाग्छ।”

“मलाई पनि।”

“तिमीलाई पनि नेपाली मन पर्छ?”

सागरले बिस्कुटको पोको उनीतिर सार्दै भन्यो, “तिमीलाई मन पर्ने भएकाले मलाई पनि मन पर्न थालेको होला।”

सरिताले बिस्कुट उठाउन खोजेको हात बीचमै रोकियो।

छेउमै बसेको विनोदले अर्को साथीलाई कुहिनाले हान्यो।

“ए, सुनिस्?”

अर्कोले हाँस्दै भन्यो, “नेपाली विषयको कारण रहेनछ!”

वरिपरि हाँसो फैलियो।

सरिताले रोटीको बाँकी टुक्रा कापीभित्र राखिन् र उठिन्।

“म कक्षामा जान्छु।”

सागर पनि उठ्यो।

पछाडिबाट फेरि आवाज आयो, “ए सागर, नेपालीको कापी लिएर जा है!”

यसपटक सागरले पछाडि फर्केर हेरेन।

कक्षा नौ लागेपछि विद्यालयको बाटो उस्तै थियो, तर उनीहरूका पाइला भने एकअर्कालाई खोज्न थालेका थिए।

एक दिन बिहान सरिता कक्षामा आइपुग्दा सागरको बेन्च खाली थियो। उनले झोला राखिन्। शिक्षक आउनुअघि एकपटक ढोकातिर हेरिन्। कोही आएन।

पहिलो घण्टी सकियो।

सागर आएन।

दोस्रो घण्टीमा पनि उनको बेन्च खाली नै रह्यो।

छुट्टीको समयमा सरिताले झोलाबाट मोबाइल निकालेर नम्बर थिचिन्। उताबाट केहीबेरपछि आवाज आयो।

“हेलो।”

“आज विद्यालय किन आएनौ?”

“ज्वरो आएको छ।”

“धेरै?”

“अलिअलि।”

“औषधि खायौ?”

“खाएँ।”

“भोलि आउँछौ?”

उताबाट केही क्षण आवाज आएन।

“तिमीले यति सोधेपछि त आउनैपर्‍यो नि।”

सरिता हाँसिन्।

“पहिला निको होऊ।”

फोन काटिएपछि पनि उनले मोबाइल तुरुन्त झोलामा राखिनन्। स्क्रिनमा केहीबेर हेरिन्, अनि बिस्तारै मोबाइल बन्द गरिन्।

त्यसपछि कहिलेकाहीँ सागर नआउँदा सरिताको आँखा उसको खाली बेन्चतिर पर्थ्यो। सरिता ढिलो आइपुग्दा सागर ढोकाबाट बाहिरसम्म हेर्थ्यो।

कक्षा दसमा पुग्दासम्म साथीहरूको जिस्क्याइ पनि पुरानै भइसकेको थियो।

एक दिन विद्यालय छुट्टी हुँदा आकाशमा बादल बाक्लिएको थियो। बजारतिर जाने बाटोमा विद्यार्थीको भीड पातलिँदै थियो। बिहान परेको पानीका कारणले बनेका साना खाल्डामा बादलको फिक्का आकृति देखिन्थ्यो। सागर र सरिता केही परसम्म सँगै हिँडे।

मोड नजिक पुगेपछि सरिताले अचानक पाइला सुस्त बनाईन्।

“सागर।”

“हँ?”

सागरले उनको अनुहारतिर हेर्‍यो।

सरिताको मुखबाट केहीबेर शब्द निस्किएनन्।

“किन? के भयो?”

सरिताले बाटोको छेउमा जमेको पानीतिर हेरिन्।

“थाहा छैन। कहिलेकाहीँ डर लाग्छ।”

सागरले केहीबेर उनको अनुहार हेर्‍यो। अनि बिस्तारै भन्यो,

“म छु नि।”

सरिताले उनको अनुहारतिर हेरिन्।

“सधैँ?”

“सधैँ।”

उनको अनुहारमा मुस्कान आयो।

“त्यसो भए मलाई केही डर लाग्दैन।”

मोड आएपछि उनीहरू छुट्टिए। सरिता बजारतिर लागिन्, सागर अर्को गल्ली हुँदै आफ्नो घरतिर।

त्यस साँझ सरिताको मोबाइल पटकपटक बल्यो।

आमाले भान्साबाटै सोधिन्, “कसको फोन हो?”

सरिताले झट्ट स्क्रिन बन्द गरिन्।

“साथीको।”

“कस्तो साथी?”

सरिताले उत्तर दिइनन्।

उता सागर खाना खाँदै गर्दा उनको मोबाइल फेरि बज्यो। बाबुको हात रोकियो।

“को हो?”

“साथी।”

“कस्तो साथी?”

सागरले मोबाइल उल्टो पारेर टेबलमा राख्यो।

“विद्यालयको।”

बाबुले केही भनेनन्। तर उनको नजर केहीबेर मोबाइलमै अडिरह्यो।

त्यसपछि घरका आँखाबाट उनीहरूको कुरा लुक्न सकेन।

एक साँझ सागरका बाबुले उनलाई कोठामा बोलाए। बाहिर आमाले भाँडा मिलाइरहेकी थिइन्। बाबुको अगाडि सागर चुपचाप उभियो।

“पढाइ कस्तो भइरहेको छ?”

“ठीकै छ।”

“अनि सरितासँगको कुरा?”

सागरको अनुहार एकाएक तन्कियो। केहीबेर उसले भुइँतिर हेरिरह्यो।

बाबुले कुर्सीको हातामा राखेको औँला बिस्तारै चलाउँदै भने,

“अहिले तिम्रो बिहे गर्ने उमेर पुगेको छैन। यस्ता कुरामा मन नबिगार। पहिला राम्रोसँग पढ्। आफ्नो खुट्टामा उभिन सिक । उमेर पुगेपछि जीवनसाथी रोज्ने कुरा पनि गरौँला।”

सागरले केही उत्तर दिएन।

उता त्यही रात सरिताको घरमा पनि आमाले उनको अगाडि मोबाइल राखिदिइन्।

“यो कसको नम्बर हो?”

सरिताले मोबाइलतिर हेरिन्।

“साथीको।”

“छोरी, पढ्ने उमेर हो तिम्रो। अहिले यस्ता कुरामा लागेर पढाइ बिगार्नु हुँदैन।”

सरिताको आँखामा आँसु भरिए।

“म पढाइ बिगार्दिनँ।”

“त्यसो भए यो कुरा यतिमै छोड।”

सरिताले ओठ टोक्दै टाउको झुकाइन्।

बाहिर बजारको आवाज बिस्तारै पातलिँदै थियो। घरको भित्तामा टाँगिएको घडीले टिक्–टिक् गरिरहेको थियो। भान्साबाट भाँडा राखेको हल्का आवाज आयो, फेरि घर शान्त भयो।

त्यो रात दुवै घरमा एउटै चिन्ता पलाएको थियो।

तर सागर र सरितालाई भने घरका ती शब्दहरू छुट्याउने आदेशजस्ता लाग्न थालेका थिए।

० ०

त्यो रात घरका ती शब्दहरू सागर र सरिताको मनमा घुमिरहे।

सागर आफ्नो कोठामा ओछ्यानमा पल्टिएको थियो। झ्यालबाहिर सडकको बत्ती भित्तामा परेको थियो। कहिलेकाहीँ मोटरसाइकल गुडेको आवाज आउँथ्यो र फेरि कोठा उस्तै हुन्थ्यो। उसले आँखा चिम्लियो, तर बाबुले भनेका कुरा कानमा बजिरहे।

“पहिला आफ्नो खुट्टामा उभिन सिक।”

उता सरिता पनि ओछ्यानमा पल्टिएकी थिइन्। सिरानीमुनि राखिएको मोबाइल उनले निकालेर केहीबेर हातमै समातिरहिन्। स्क्रिनमा सागरको नम्बर थियो। फोन गर्न मन लाग्यो, तर आमाको कुरा सम्झेर औँला रोकियो।

भोलिपल्ट विद्यालयमा उनीहरू भेटिए। कक्षाकोठामा अरू विद्यार्थीहरू हल्ला गरिरहेका थिए। सरिताले एकपटक सागरको अनुहारतिर हेरिन्। सागरले पनि उनलाई । दुवैका आँखामा अघिल्लो दिनको कुरा थियो, तर कसैले केही सोधेन।

छुट्टी भएपछि उनीहरू विद्यालयबाट केही पर रहेको पुरानो चौतारामा गएर बसे।

सागरले बाटोतिर हेर्दै भन्यो, “घरमा अब हामीलाई छुट्याउन खोज्दै छन्।”

सरिताले आफ्नो झोलाको फित्तातिर हेरी।

“मलाई पनि त्यही भन्नुभयो।”

“त्यसो भए?”

सरिताले केही भनिनन्।

सागरले फेरि भन्यो, “हामी यहाँ बसिरह्यौँ भने के हुन्छ?”

“के गर्ने त?”

“भागेर जाऔँ।”

सरिताले झट्ट उसको अनुहारतिर हेरिन्।

“कहाँ?”

“जहाँ गए पनि हुन्छ। यहाँभन्दा टाढा।”

केहीबेर चौतारामुनिको बाटोमा मानिसहरू ओहोरदोहोर गरिरहेका देखिए। एउटा साइकलको घण्टी बज्यो। परबाट बसको हर्न सुनियो।

“अनि पढाइ?” सरिताले सोधिन्।

“त्यहाँ गएर पनि पढ्न सकिन्छ।”

“घरमा थाहा पाए भने?”

“थाहा नपाउने गरी जानुपर्छ।”

सागरको स्वरमा त्यसबेला आफूले सोचेजस्तो ठूलो साहस थियो। सरिताले भने उसको अनुहारमा पहिलोपटक केही अपरिपक्वता देखेझैँ गरिन्। तर घरका कुरा सम्झिँदा त्यो अपरिपक्व निर्णय नै उनलाई सजिलो बाटोजस्तो लाग्यो।

एसईई सकियो।

परीक्षाको अन्तिम दिन विद्यालयबाट विद्यार्थीहरू हाँस्दै, कराउँदै बाहिर निस्किएका थिए। कसैले कापी हावामा उडायो, कसैले साथीको पिठ्युँमा धाप मार्‍यो। सागर र सरिता भने गेटबाट बाहिर निस्कँदा धेरै बोलेनन्।

त्यसको केही दिनपछि उनीहरूले जाने दिन तय गरे।

राति घरका सबैजना सुतिसकेपछि सागर बिस्तारै बाबुको कोठातिर गयो। दराजको चाबी राख्ने ठाउँ उसलाई थाहा थियो। उसले चाबी निकाल्यो र दराज खोल्यो।

भित्र कागजपत्रमाथि केही नोट राखिएका थिए।

उसको हात एकपटक रोकियो।

बाबुको आवाज सम्झियो।

उसले केही पैसा निकाल्यो। दराज बन्द गर्दा काठको हल्का आवाज आयो। सागर झट्ट ढोकातिर फर्कियो। बाहिर कोही थिएन। उसले पैसा खल्तीमा राख्यो र चाबी पहिलेको ठाउँमा राखेर कोठाबाट बाहिर निस्कियो।

उता सरिता पनि आमाको कोठामा पुगेकी थिइन्। आमाको पुरानो बाकस पलङमुनि थियो। उनले बाकस तानिन्। ढकनी खोल्दा कपडामुनि राखिएका केही नोट देखिए।

उनको हात काँप्यो।

“आमा...” शब्द मुखमै आएर रोकियो।

उसले केही पैसा निकालेर झोलाको भित्री खल्तीमा राखिन्। बाकस बन्द गरिन्। तर उठेर जान सकिनन्।

भान्साबाट आमाको आवाज आयो।

“सरिता, पानी तताइदिएकी छु है।”

सरिताले आँखा पुछिन्।

“हुन्छ, आमा।”

त्यो रात आमाको अनुहार हेर्न उनलाई गाह्रो भयो।

भोलिपल्ट बिहान दमकको आकाश सफा थियो। सडकमा पसल खोल्नेहरू आफ्नो काममा लागिसकेका थिए। सागर झोला बोकेर घरबाट निस्कियो। सरिता पनि केहीबेरपछि घरबाट निस्किइन्।

दुवै बसपार्कमा भेटिए।

सरिताको झोलामा दुई जोर कपडा, केही किताब र केही पैसा थियो। सागरको झोलामा पनि त्यस्तै सामान थियो।

बस छुट्ने समय नजिकिँदै थियो।

सरिताले एकपटक पछाडि फर्केर हेरिन्। टाढाबाट दमक बजारका परिचित घरहरू देखिन्थे।

“फर्केर आउँछौँ होला?” उनले बिस्तारै भनिन्।

सागरले उनको हात बिस्तारै समात्यो।

“अहिले किन फर्कने कुरा गर्छौ?”

सरिताले केही भनिनन्।

बस गुड्यो।

झ्यालबाट बाहिर हेर्दै सरिताले सडकछेउका घरहरू, पसल र मानिसहरूलाई पछाडि सर्दै गएको हेरिरहिन्। केहीबेरपछि परिचित ठाउँहरू हराउँदै गए।

नयाँ सहरमा उनीहरूले एउटा साँघुरो गल्लीभित्र सानो कोठा भाडामा लिए। कोठामा एउटा पुरानो खाट, एउटा टेबल र प्लास्टिकको कुर्सी थियो। झ्याल खोलेपछि अगाडिको टिनको छानो देखिन्थ्यो।

पहिलो साँझ सागर बजारबाट दुईवटा समोसा लिएर आयो।

“आज यति नै खाऔँ,” उसले हाँस्दै भन्यो।

सरिता पनि हाँसिन्।

“भोलिदेखि आफैँ पकाउँछु।”

“भोलिदेखि सबै ठीक हुन्छ।”

त्यतिबेला दुवैलाई ‘भोलि’ कति लामो हुन्छ भन्ने थाहा थिएन।

केही दिनपछि सागर बिहानै काम खोज्न निस्कन थाल्यो। कहिले पसलमा पुग्थ्यो, कहिले होटलमा। एउटा ठाउँमा दुई दिन काम पायो, तेस्रो दिनदेखि बोलाएनन्। अर्को ठाउँमा सामान बोक्ने काम गर्‍यो, ज्याला पाउन तीन दिन कुर्नुपर्‍यो।

सरिता पनि खाली बस्न चाहन्नथिन्। छिमेकीको घरमा भाँडा माझ्ने काम पाइन्। घरमा हुँदा भाँडा माझ्नु पर्‍यो भने शरीरभरि काँडा उम्रिन्थे।

बिहान अरूको घरमा काम गर्न जान्थिन्, दिउँसो फर्केर कोठामा खाना पकाउँथिन्।

एक साँझ उनी बजारबाट फर्किँदा हातमा तरकारीको सानो झोला थियो।

“आज यति मात्रै पाएँ,” उनले भनिन्।

सागरले झोला हेर्‍यो।

“भोलि अझ राम्रो काम खोज्छु।”

सरिताले केही भनिनन्।

भान्साको कुनामा राखिएको चामलको भाँडोको ढकनी उनले उठाइन्। भित्र तल्लो भागमा मात्र चामल बाँकी थियो। उनले ढकनी फेरि राखिन्।

“सागर।”

“हँ?”

“घरमा हुँदा आमाले भान्सामा कति सामान राख्नुहुन्थ्यो, है?”

सागरले केहीबेर उनको अनुहारतिर हेर्‍यो।

"घर र परदेश एकनास कहाँ हुन्छ र!"

“हो।”

त्यो रात उनीहरूले पातलो दाल र भात खाए।

महिना बित्दै जाँदा घरबाट ल्याएको पैसा घट्दै गयो। सागरले खल्तीबाट नोट निकालेर टेबलमा राख्थ्यो। सरिता अर्को कुनाबाट सिक्का ल्याएर जोड्थिन्।

एक दिन टेबलमा जम्मा भएको पैसा हेर्दा दुवै केहीबेर केही बोलेनन्।

महिनाको अन्त्यमा कोठाको भाडा तिर्नुपर्ने दिन आयो।

सागरले खल्ती छाम्यो।

“यतिले पुग्दैन।”

सरिताले आफ्नो झोलाबाट केही पैसा निकालेर उसको हातमा राखिन्।

“यो राख।”

"तिमीलाई पनि चाहिन्छ।”

“पहिला भाडा तिरौँ।”

सागरले पैसा लिन खोजेन।

“म मिलाउँछु।”

सरिताले उसको हाततिर हेर्दै भनिन्, “कहिलेसम्म ‘म मिलाउँछु’ मात्रै भन्छौ?”

सागरले केही उत्तर दिएन।

त्यस दिनदेखि उनीहरूको कुराकानीमा पहिलेको हाँसो कम हुँदै गयो। बिहान कामको खोजी, दिउँसो पेटको चिन्ता र साँझ कोठाको भाडा—दिनहरू यस्तै हिसाबमा बित्न थाले।

एक दिन सागर काम खोज्दै हिँडेर फर्किंदा उसको खुट्टामा धुलो लागेको थियो। हातमा एउटा सानो प्लास्टिकको झोला थियो।

“के ल्यायौ?” सरिताले सोधिन्।

“दुई किलो चामल।”

“पैसा?”

“उधारो।”

सरिताले उसको हातबाट झोला लिइन्।

“उधारो कति भइसक्यो?”

सागरले उत्तर दिएन।

भोलिपल्ट बिहान घरबेटी ढोकामा आइपुगिन्।

“भाडा कहिले दिन्छौ?”

सागरले ढोका खोलेर बाहिर हेर्दै भन्यो, “दुई दिनभित्र दिन्छु।”

“अघिल्लो महिनाको पनि बाँकी छ।”

सरिता भित्रबाट सबै कुरा सुनिरहेकी थिइन्। घरबेटी गएपछि उनले चुलोमा राखेको भाँडोको ढकनी उठाइन्। भित्र पानी उम्लिरहेको थियो, तर भातका लागि पर्याप्त चामल थिएन।

उनले चुलो निभाइन्।

त्यो साँझ सरिताले पुरानो किताब निकालेर पढ्न खोजिन्। दुई पाना पढेपछि उनको आँखा एउटै वाक्यमाथि अडिरह्यो। उनले किताब बन्द गरिन्।

सागर ओछ्यानको छेउमा बसेर बाहिर हेरिरहेको थियो।

“हामीले गल्ती गर्‍यौँ कि?” सरिताले अचानक सोधिन्।

सागरले तुरुन्त उत्तर दिएनन्।

“अहिले यस्ता कुरा नगर।”

“किन?”

“किनकि फर्केर जाने बाटो पनि छैन।”

सरिताले किताब आफ्नो काखमा राखिन्।

“बाटो छैन कि हामीले हेरेका छैनौँ?”

सागरले उनको अनुहारतिर हेर्न सकेन।

ऋतु फेरिँदै गए।

गर्मीमा कोठाको टिन तातेर दिउँसोभित्र बस्न गाह्रो हुन्थ्यो। झ्याल खोले पनि तातो हावा मात्र आउँथ्यो। वर्षा लागेपछि झ्यालको छेउबाट पानी चुहिन थाल्यो। उनीहरूले बाल्टी राखेर रातभरि चुहिएको पानी थाप्थे। जाडोमा बिहान उठ्दा भुइँ चिसो हुन्थ्यो।

चाडपर्व आउँदा भने कोठा अझ ठूलो लाग्थ्यो।

दसैँको टीका नजिकिँदै थियो। बजारमा नयाँ लुगा किनेका मानिसहरू ओहोरदोहोर गरिरहेका थिए। पसलका अगाडि रङ्गीचङ्गी बत्ती झुन्ड्याइएका थिए। सरिता झ्यालबाट ती बत्तीहरू हेरिरहेकी थिइन्।

“घरमा अहिले आमाले के गर्दै हुनुहुन्छ होला?” उनले बिस्तारै भनिन्।

सागरले केही भनेन।

“बुवाले आँगनमा बाँस काट्दै हुनुहुन्थ्यो होला।”

“सरिता...”

“हँ?”

“नसम्झ।”

सरिताले झ्याल बन्द गरिन्।

त्यो रात उनले आमाले पकाउने खसीको मासुको गन्ध सम्झिइन्। बिहानैदेखि भान्सामा हुने चहलपहल सम्झिइन्। बाबुले टीकाका लागि सबैलाई बोलाएको आवाज सम्झिइन्। सिरानीमा अनुहार लुकाएर धेरैबेरसम्म पल्टिरहिन्।

समय बित्दै जाँदा उनीहरूबीच साना कुराले पनि मन दुख्न थाल्यो।

एक साँझ सागर कामबाट ढिलो फर्कियो। ढोका खोलेर भित्र पस्दा सरिता ढोकाछेउमै बसेकी थिइन्।

“आज पनि ढिलो?”

“काम थियो।”

“खाना चिसो भइसक्यो।”

“तातो पार न।”

“कति पटक?”

सागर रोकियो।

“के भयो?”

“केही होइन।”

“त्यसो भए किन रिसाएकी?”

सरिताले चुलोतिर हेर्दै भनिन्, “म पनि दिनभरि काम गर्छु।”

“मैले काम गर्दिनँ भनेको हो?”

“भनेको होइन।”

“अनि?”

सरिताले केही भनिनन्।

त्यस दिनको झगडा ठूलो थिएन। तर त्यसपछि उनीहरूबीच सानो कुराले पनि पुराना कुरा निकाल्न थाल्यो।

दोस्रो वर्ष लाग्दा दुवैको अनुहारमा पहिलेको किशोरावस्थाको चमक थिएन। सरिताले छिमेकीका घरसँगै नजिकैको एउटा पसलमा सामान मिलाउने काम पनि गर्न थालिन्। सागरको काम कहिले चल्थ्यो, कहिले बन्द हुन्थ्यो।

एक दिन सरिता कामबाट फर्कँदा निकै थाकेकी थिइन्। ढोका खोलेर भित्र पस्दा सागर ओछ्यानमा पल्टिरहेको थियो।

“आज काममा गएनौ?”

“गइनँ।”

“किन?”

“शरीर ठीक थिएन।”

सरिताले झोला भुइँमा राखिन्।

“मलाई पनि आज ठीक थिएन।”

सागर उठेर बस्यो।

“अनि?”

“अनि के?”

“के चाहन्छौ?”

सरिताले केहीबेर उसलाई हेरिन्। आँखाको कुनामा दिनभरको थकान थियो।

“घर सम्झिन्छु।”

सागरले नजर झुकायो।

त्यसपछि धेरै दिनसम्म त्यो कुरा दुवैबीच निस्किएन। तर घरको सम्झना सरिताको मनबाट हटेन।

एक रात उनले मोबाइल निकालेर आमाको नम्बर खोजिन्। पहिला बुवा र आमाको नम्बरबाट फोन आउँदा उनी चुपचाप हेरिरहन्थिन्। स्क्रिनमा औँला केहीबेर रोकियो। बाहिर पानी पर्न थालेको थियो। टिनको छानोमा पानीका थोपा बज्न थाले।

उनले फोन गरिन्।

“हेलो, आमा।”

उताबाट आवाज आयो।

“कहाँ छेस्, छोरी?”

सरिताको घाँटी भरियो।

“म... ठीकै छु।”

“खाना खाइस्?”

उनले आँसु पुछिन्।

“खाएँ।”

तर चुलोको छेउमा बिहानदेखि नछोएको चामलको भाँडो थियो।

“आमा...”

“भन्।”

“तपाईंहरूलाई धेरै सम्झन्छु।”

उताबाट केहीबेर आवाज आएन।

"तिमीले घर छाडेपछि मेरा पनि कैयौँ रात ननिदाई फरलङ्गै बिते।"

"आमा, मलाई घर आउन मन लागेको छ।"

“घर तिम्रो लागि खुल्लै त छ, तर बुवालाई सोध्नुपर्छ,” आमाले बिस्तारै भनिन्।

सरिताले आँखा चिम्लिन्।

“बुवा रिसाउनुहुन्छ?”

“रिसाउनुभएको छ। तर तिमी मेरी छोरी हौ। घर फर्किन चाहन्छ्यौ भने म कुरा गर्छु।”

फोन काटिएपछि सरिता धेरैबेर त्यहीँ बसिरहिन्।

ढोकाछेउमा सागर उभिएको थियो। उसले फोनमा भएको कुरा सुनेको थियो।

“आमाले के भन्नुभयो?” उसले सोध्यो।

सरिताले मोबाइल टेबलमा राखिन्।

“घर आउन सकिन्छ रे।”

सागर केहीबेर बोल्न सकेन।

“तिमी जान चाहन्छ्यौ?”

सरिताले उसको अनुहारतिर हेरिन्।

“म घर जान चाहन्छु।”

“अनि म?”

सरिताले नजर झुकाइन्।

“त्यो तिमीले आफैँ सोच्नुपर्छ।”

सागरले केही उत्तर दिएन।

दुई दिनपछि सरिताले फेरि आमालाई फोन गरिन्।

“आमा... बुवाले के भन्नुभयो?”

आमाले केहीबेर केही बोलिनन्।

“पहिला त धेरै रिसाउनुभयो। तिमीले गरेको कुरा सम्झेर उहाँको मन अझै दुखेको छ।”

सरिताको आँखाबाट आँसु झर्‍यो।

“अनि?”

“मैले धेरै सम्झाएँ। घरबाट निस्कँदा जे भयो, भयो। अब छोरी फर्किन चाहन्छे भने ढोका थुनेर राख्नु हुँदैन भनेँ।”

“बुवाले के भन्नुभयो?”

“केही बोल्नुभएन।”

“म आउन सक्छु?”

“आउनू। बुवाको रिस बिस्तारै घट्छ।”

फोन राखेपछि सरिताले झोलातिर हेरिन्। झोलाको तल केही पुराना कपडा थिए। माथि विद्यालयमा पढ्दाका दुई–तीनवटा कापी अझै थिए।

उनले एउटा कापी निकालिन्।

पहिलो पानामा मिति लेखिएको थियो। त्यही दिनको मिति, जुन दिन सागरले पहिलोपटक उनीसँग गणितको कापी मागेको थियो।

सरिताको औँला त्यो मितिमाथि केहीबेर अडियो।

उनले कापी बन्द गरेर झोलाभित्र राखिन्।

बाहिर साँझ पर्न थालेको थियो। गल्लीका पसलहरूमा बत्ती बलिसकेका थिए। कोठाभित्र भने झोलाको चेन बन्द गरेको सानो आवाज मात्र सुनियो।

घर फर्कने निर्णय भइसकेको थियो।

अब त्यो बाटोबाट उनीहरूका पाइलाहरू अलगअलग दिशातिर मोडिँदै थिए।

० ० ०

त्यो रात उनीहरूबीच खासै कुरा भएन। दिनभरको थकानले दुवै चाँडै ओछ्यानमा परेका थिए। तर केही समयदेखि उनीहरूबीच बढ्दै गएको चिसोपन भने त्यत्तिकै बाँकी थियो।

सुरुसुरुमा सागर सानोतिनो कुरामा पनि हाँसेर टारिदिन्थ्यो। सरिताले खाना ढिलो पकाउँदा पर्खिन्थ्यो। कपडा नमिलेको भए आफैँ मिलाउँथ्यो। कहिलेकाहीँ पैसा कम भएको दिन चिया नखाई फर्किंदा पनि “भोलि खाउँला” भनेर हाँसिदिन्थ्यो।

तर पछिल्ला दिनमा उसको व्यवहार फेरिन थालेको थियो।

सरिताले बिहान चिया बनाउन केही ढिला गर्दा ऊ झर्किन्थ्यो।

“कति बेर लगाउँछ्यौ एउटा चिया बनाउन पनि?”

सरिता केही नबोली चिया राखिदिन्थिन्।

एक दिन उसले आफ्नो कमिज खोज्दै थियो।

“मेरो निलो कमिज कहाँ छ?”

“मैले धोएर डोरीमा सुकाएकी छु।”

“भन्न त सक्थ्यौ नि।”

“तिमीले सोधेनौ त।”

सरिता यति मात्र भन्थिन्। तर सागरको अनुहार झन् कसिन्थ्यो।

“हरेक कुराको जवाफ फर्काउनैपर्छ?”

त्यसपछि सरिता पनि पहिलेझैँ चुप लागेर बस्न छाडेकी थिइन्।

“जवाफ दिएको होइन, सोधेको कुराको उत्तर दिएको।”

सागरले उनको अनुहारतिर हेर्‍यो।

“तिमी पनि आजभोलि धेरै बोल्न थालेकी छ्यौ।”

सरिताले केही क्षण उसलाई हेरिरहिन्।

“पहिले नबोलेर के पाएँ र?”

त्यो वाक्यपछि कोठाभित्र केहीबेर कसैले केही बोलेन।

यस्ता साना कुरा दिनदिनै दोहोरिन थाले।

कहिले खाना नुनिलो भयो भनेर सागरले थाल पर सार्थ्यो। कहिले सरिताले पैसा सकिन लागेको कुरा गर्दा ऊ झर्किन्थ्यो।

“मलाई मात्रै किन सम्झाउँछ्यौ पैसा छैन भनेर? मसँग रूखमा फल्छ र पैसा?”

सरिता पनि चुप लाग्दिनथिन्।

“मैले रूखमा फल्छ भनेकी छैन। घरबाट ल्याएको पैसा कति बाँकी छ भनेर मात्र सोधेकी।”

“त्यही त, सधैँ हिसाब।”

“हिसाब नगरे भोलि के खाने?”

“भोलिको चिन्ता भोलि गरौँला।”

“तिमीलाई सजिलो छ भन्न।”

सागरले झर्किएर ढोका खोल्यो।

“तिमीलाई जे मन लाग्छ गर।”

ढोका जोडले बन्द भयो।

सरिता केहीबेर त्यहीँ उभिरहिन्।

पहिले यही मान्छेले उनको अनुहार अलि उदास देख्दा कारण सोध्थ्यो। अहिले आँखा रसाए पनि ढोका खोलेर बाहिर निस्कने गर्दथ्यो।

उनलाई रिसभन्दा बढी चोट लाग्थ्यो।

तर उनले पनि आफूलाई रोक्न छाडेकी थिइन्।

एक साँझ सागर कामबाट फर्किंदा सरिता झ्यालछेउमा बसेर पुरानो कापी पल्टाइरहेकी थिइन्। सागरले झोला राख्यो र पानी खोज्यो।

“पानी छैन?”

“छ। भान्सामा छ।”

“अनि यहाँ बसेर के गर्दैछ्यौ?”

सरिताले कापी बन्द गरिन्।

“कापी हेर्दै थिएँ।”

“दिनभरि घरमै बसेर पनि पानी राख्न भ्याउँदिनौ?”

सरिताको अनुहार फेरियो।

“दिनभरि घरमै बसेर? घरको काम गरेको देखिँदैन?”

सागरले हातले इशारा गर्दै भन्यो, “फेरि सुरु नगर।”

“तिमीले सुरु गरेको होइन?”

“सधैँ उल्टो कुरा गर्छ्यौ।”

“तिमीले यस्तो बोलेपछि चुप लागेर बसिरहन पनि त सकिँदैन।”

सागर केही क्षण उनलाई हेरिरह्यो।

“त्यसो भए आफ्नै बाटो लाग।”

सरिताको आँखामा एक्कासि आँसु भरिए।

उनले केही भनिनन्।

त्यो रात खाना दुबैले राम्ररी खाएनन्।

भोलिपल्ट बिहान सागर काममा जाने तयारी गर्दै थियो। सरिता झोलाभित्र आफ्ना कपडा मिलाउँदै थिइन्। कपडा राख्दा बीचमा पुरानो कापी भेटियो। विद्यालयमा पढ्दाका दिनमा लेखेको त्यही कापी थियो।

उनले कापी हातमा लिइन्। केहीबेर पाना पल्टाइन्। एउटा पानामा पुगेपछि औँला रोकियो। पुरानो मिति र कापीमा लेखिएका अक्षरहरू केहीबेर हेरिरहिन्। त्यसपछि कापी फेरि झोलाभित्र राखिन्।

सागर जुत्ता लगाउँदै थियो।

सरिताले बिस्तारै भनिन्, “म घर जान्छु।”

सागरले फर्केर हेर्‍यो।

“अहिले?”

“हो।”

“केही दिनका लागि?”

“थाहा छैन।”

सागर केहीबेर चुप लाग्यो।

“के फेरि रिसाएकी?”

सरिताले टाउको उठाइन्।

“हरेक कुरा रिसाएर मात्रै हुन्छ?”

“अनि किन जान लागेकी?”

“किनकि यहाँ बस्दा मलाई आफू नै मन पर्न छाडेको छ।”

सागरको अनुहारमा एकछिन केही देखियो, तर उसले त्यो कुरा समात्न खोजेन।

“जाने भए जाऊ।”

सरिताले उसको अनुहारतिर हेरिन्। उसले रोक्ने कुनै शब्द भनेन।

“ठीक छ।”

त्यसपछि उनले झोला काँधमा हालिन्।

ढोकाबाट बाहिर निस्कँदा एकपटक पछाडि फर्केर हेरिन्। सागर जुत्ताको फित्ता मिलाउँदै थियो।

उनलाई लागेको थियो—उसले बोलाउँछ होला।

उसले बोलाएन।

सरिता बाहिरिइन्।

दुई दिनपछि उनी एक्लै दमकतिर लागिन्।

बसको झ्यालबाट बाहिर हेर्दै उनी धेरैबेर बाटो नियालिरहिन्। परिचित ठाउँहरू नजिकिँदै गए। बजारका पुराना पसल, चोकका घर र सडकछेउका रूखहरू देखिन थाले।

बसबाट ओर्लिएपछि उनले झोला काँधमा हालिन् र आफ्नो घर जाने बाटो लागिन्। घर वरिपरिका केही छिमेकीहरूले बरण्डा, आँगन र झ्यालबाट आफूलाई चियाएर हेरेझैँ उनलाई लाग्यो। उनी त्यसको वास्तै नगरी अगाडि बढिरहिन्।

घरको आँगनमा पाइला टेक्दा आमाले उनलाई टाढैबाट देखिन्। हातमा कपडा थियो। उनी केहीबेर त्यहीँ उभिइन्।

सरिताले झोला भुइँमा राखिन्।

“आमा...”

आमाले केही बोलिनन्।

सरिता अगाडि बढेर आमालाई अँगालो हालिन्। आमाको हात छोरीको ढाडमा पुग्यो। दुवै केहीबेर त्यसै उभिरहे।

भित्रबाट बुवाको स्वर आयो।

“को आयो?”

आमाले उत्तर दिइनन्।

बुवा बाहिर आए। सरितालाई देख्नेबित्तिकै उसको अनुहार कडा भयो।

“किन आएकी?”

सरिताले टाउको झुकाइन्।

“घर आउन मन लाग्यो।”

“घर सम्झना त्यतिबेला आएन, जब घरबाट निस्कँदै थियौ?”

सरिताको आँखामा आँसु भरिए।

आमाले बिस्तारै भनिन्, “अहिले आइसकेकी छे। पहिले भित्र आउन दिनुस्।”

बुवाले केही भन्न खोजे, तर फेरि रोकिए।

त्यो साँझ सरिताले धेरै खाना खान सकिनन्। आमाले उनको मन पर्ने तरकारी पकाएकी थिइन्। थाल अगाडि राखेर छोरीलाई हेरिरहिन्।

“अलि खा।”

सरिताले दुई गाँस खाइन्।

“आमा।”

“हँ?”

“म फेरि पढ्न चाहन्छु।”

आमाले छोरीको अनुहार हेरिन्।

“पढ्नुपर्छ।”

“म मेहनतले पढ्छु।”

आमाले टाउको हल्लाइन्।

“बुवासँग कुरा गरौँला।”

त्यस रात सरिता आफ्नै पुरानो कोठामा सुतिन्। झ्यालको पर्दा उस्तै थियो। भित्ताको कुनामा विद्यालयका केही पुराना कागज अझै थिए। ओछ्यानमा पल्टिएपछि उनले मोबाइल सिरानीछेउमा राखिन्।

धेरै समयपछि आफ्नै घरको छानोमुनि उनलाई निद्रा आयो।

उता सागर भने त्यही कोठामा केही दिन बसिरह्यो।

सरिता गएपछि कोठा पहिलेभन्दा फराकिलो लाग्थ्यो। साँझ कामबाट फर्किएपछि ढोका खोल्दा उसले स्वाभाविक रूपमा “सरिता” भनेर बोलाउन खोज्थ्यो, तर भित्रबाट कुनै आवाज आउँदैनथ्यो।

एक साँझ कामबाट फर्किएपछि उसले झोला भुइँमा राख्यो। बिहान सरितासँग भएको भनाभरी सम्झियो।

“हरेक कुरा रिसाएर मात्रै हुन्छ?” सरिताको स्वर उसको कानमा फेरि सुनियो।

उसले त्यसपछि आफूले भनेको कुरा सम्झियो—“जाने भए जाऊ।”

त्यो वाक्य सम्झँदा उसको मन भारी भयो।

उसले आफैँलाई सोध्यो—सरिताले साँच्चै जान चाहेको थिई कि आफूले नै उनलाई जान बाध्य बनाएको थियो?

उसको आँखाअगाडि घरको आँगन आयो। बुवाआमाको अनुहार सम्झियो।

“मारे पनि काटे पनि बाउआमा नै हुन्,” उसले आफैँसँग भन्यो, “घरै जान्छु।”

त्यस दिन काम सकेर सागरले घर फर्किने तयारी गर्‍यो।

तीन–चार दिनपछि ऊ पनि दमकतिर लाग्यो।

बसको झ्यालबाट बाहिर हेर्दै उसले बाटोभरि केही सोचिरह्यो। घरबाट निस्कँदा बोकेको उत्साह थिएन। फर्किंदा पनि कुनै ठूलो योजना थिएन। केवल घर जाने इच्छा थियो।

दमक पुगेपछि ऊ आफ्नो घरतिर लाग्यो।

आँगनमा बुवा बाहिरै हुनुहुन्थ्यो। सागरलाई देखेर उहाँले केहीबेर उसलाई हेर्नुभयो।

“घरको सम्झना भयो?”

सागरले टाउको झुकायो।

“हजुर।”

बुवाले अरू केही सोधेनन्।

केहीबेरपछि केवल यति भने—

“गल्ती बुझेपछि अब त्यसलाई दोहोर्‍याउनु हुँदैन।”

सागरले टाउको झुकायो।

“बुझिसकेँ।”

“अब के गर्ने विचार छ?”

“पढ्न चाहन्छु।”

बुवाले केहीबेर उसलाई हेरे।

“पढाइ छुटेको छ। फेरि सुरु गर्न सजिलो हुँदैन।”

“गाह्रो भए पनि गर्छु।”

त्यसपछि घरमा केहीबेर कसैले केही बोलेन।

केही दिनपछि सागरका बुवाले उसलाई सहर पठाउने निर्णय गरे। उतै बसेर पढ्ने व्यवस्था मिलाइदिए। सागरले झोला मिलाउँदै गर्दा झ्यालबाहिर केहीबेर हेर्‍यो। दमक छोडेर फेरि अर्को ठाउँमा जानुपर्ने थियो, तर यसपटक उसको पाइला पहिलेको जस्तो हतारमा थिएन।

सरिताले पनि नजिकैको क्याम्पसमा भर्ना हुने तयारी गरिन्। क्याम्पसका लागि चाहिने कापी, किताब र कलम आमाले मिलाइदिइन्। पुरानो झोलामै नयाँ किताबहरू अटाइन्।

दुवै आफ्नो–आफ्नो पढाइमा लागे।

सागर सहर पुगेपछि बिहान कलेज जान्थ्यो। दिउँसो पुस्तकालयमा बसेर पढ्थ्यो। साँझ कोठामा फर्किएपछि दिनभरि पढेको कुरा दोहोर्‍याउँथ्यो। आफूभन्दा अगाडि पुगेका साथीहरूको कुरा सुन्दा कहिलेकाहीँ आफू धेरै पछाडि छुटेको महसुस हुन्थ्यो, तर किताब बन्द गरेर उठ्नेबित्तिकै फेरि आफूलाई सम्हाल्थ्यो।

सरिता पनि बिहान घरको काममा आमालाई सघाउँथिन्। त्यसपछि किताब बोकेर क्याम्पस जान्थिन्। पहिले आफ्नो खाएको थालसमेत त्यहीँ छोडेर उठ्ने छोरी अहिले बिहान उठेर भान्सामा आमासँगै उभिन्थिन्।

एक बिहान सरिता किताब झोलामा राख्दै थिइन्। आमा भान्सामा चिया बनाउँदै हुनुहुन्थ्यो। सरिताले चुपचाप गिलासहरू मिलाइन्।

“आज ढिलो हुन्छ?” आमाले सोधिन्।

“हुँदैन।”

त्यति भनेर सरिता क्याम्पसतिर लागिन्।

दिनहरू आफ्नै गतिमा बित्दै गए।

एक साँझ सागरले लामो समयपछि मोबाइल हातमा लियो। नम्बरहरू पल्टाउँदै जाँदा सरिताको नम्बरमा उसको औँला रोकियो। केही क्षण स्क्रिन हेरिरह्यो। अन्ततः फोन गर्‍यो।

केहीबेरपछि फोन उठ्यो।

“सरिता, के छ?”

“सबै ठीक छ।”

“केही कुरा सम्झनामा आउँछ?”

उताबाट केही क्षण आवाज आएन।

“आउँदैन र सम्झिन पनि चाहन्न?”

सागर केहीबेर चुप लाग्यो।

“त्यसो भए त्यो के थियो?”

सरिताको स्वर यसपटक स्थिर थियो।

“अपरिपक्व दिमागको एउटा खेल...”

केही क्षण दुवैतिर आवाज आएन।

सरिताले फोन राखिन्।

बजारका चियापसलमा केही दिन त्यो कुरा चर्चाको विषय बन्यो। कुरा काट्नेले काटिरहे, तर दुवै घरपरिवारले त्यस कुराको वास्ता गरेनन्।

त्यसपछि उनीहरूबीच फेरि कुनै संवाद भएन।

दुवैले आफूले छोडेको पढाइ सम्हाल्ने र बाँकी जीवनलाई आफ्नै खुट्टामा उभ्याउने बाटो रोजे। विगतलाई कोट्याएर पछुताउनुभन्दा अगाडिको बाटो हेर्नुपर्ने कुरा दुवैले बुझिसकेका थिए।

समयसँगै पुराना कुराहरू किताबका पानाबीच थन्किँदै गए। चार वर्षअघिको हतारमा लिएको निर्णय अहिले उनीहरूलाई सम्झँदा टाढाको घटना जस्तो लाग्न थालेको थियो।

चाडपर्वमा सरिता घरमै रहन्थिन्। आमासँगै काम गर्थिन्। बुवासँग घरायसी कुरा गर्थिन्। कहिलेकाहीँ बुवाले पढाइबारे सोध्थे।

“क्याम्पस कस्तो छ?”

“राम्रो छ।”

“पढाइमा ध्यान दिइरहेकी छौ?”

“दिएकी छु।”

बुवाले फेरि केही भन्दैनथे।

तर पहिलेको रिस बिस्तारै कम हुँदै गएको सरिताले महसुस गर्थिन्।

एक साँझ आँगनमा बुवाले मकै छोडाउँदै गर्दा सरिता किताब लिएर नजिकै बसिन्।

बुवाले किताबतिर सरसर्ती हेरे।

“परीक्षा कहिले हो?”

“अर्को महिना।”

“नानी, राम्ररी पढ्नु है।”

सरिताले बुवाको अनुहारतिर हेरिन्।

“हुन्छ।”

त्यो छोटो कुराकानीले उनको मन हलुका भयो। आज पहिलो पटक बुवाको मुखबाट पहिलाकै जस्तो नानी शब्द सुन्दा उनी भित्रभित्रै रमाइन्।

समय बित्दै गयो।

दुवैले आफ्ना अधुरा पाना फेरि खोल्दै गए।

केही दिनपछि कक्षा १२ को नतिजा प्रकाशित भयो।

बिहानैदेखि क्याम्पसको गेटअगाडि विद्यार्थीको भीड थियो। मोबाइल हातमा लिएर कोही नतिजा खोजिरहेका थिए, कोही साथीको नाम हेर्दै थिए। कसैले खुसी भएर कराएको आवाज आउँथ्यो, कसैको अनुहारमा निराशा देखिन्थ्यो।

सरिताले आफ्नो नतिजा हेरिन्।

केही क्षणसम्म स्क्रिनमै आँखा अडिरहे।

उनको नतिजा राम्रो थियो।

उनले तुरुन्तै आमालाई फोन गरिन्।

“आमा!”

“के भयो?”

“नतिजा राम्रो आयो।”

उताबाट आमाको हाँसो सुनियो।

“घर आऊ, आज मिठो बनाउँछु।”

सरिताले फोन राखिन्। क्याम्पसबाट घर फर्कँदा बाटोभरि उनको अनुहारमा हल्का मुस्कान थियो।

घर पुग्दा साँझ पर्न लागेको थियो।

भान्सामा आमा धारोमुनि भाँडा माझ्दै हुनुहुन्थ्यो। सरिता चुपचाप पछाडिबाट पुगिन् र आमालाई अँगालो हालिन्। बुवा पनि त्यहीँ आइपुगे। सायद छोरीको नतिजाको खुसी थाम्न नसकेर होला। उनले सरिताको टाउकोमा हात राखेर आशीर्वाद दिए। बुवाको हात टाउकोमा परेको त्यो स्पर्शले सरिता खुसीले भरिइन्।

“आमा, आज मलाई अलि भोक लागेको छ। नास्ता बनाइदिनु न।”

आमाले पछाडि फर्केर हेर्दै भनिन्, “भाँडा माझिसकेर बनाइदिन्छु।”

“भैगो, यत्तिकै छोडेर जानुस् न। भाँडा म माझ्छु।”

सरिताले आमाको हातबाट माझ्दै गरेको गिलास लिइन् र बाँकी भाँडा आफैँ माझ्न थालिन्। आमा र बुवाले एकअर्कालाई मुस्कुराउँदै हेरे। बुवाले छोरीतिर हेरेर लामो सास फेरे। त्यसपछि उनी बैठक कोठातिर लागे।

आमाले केहीबेर छोरीलाई हेरिरहिन्।

यही छोरी पहिले आफ्नो खाएको थालसमेत त्यहीँ छोडेर उठ्थिन्। भान्साको काम देखेपछि बाटो बदल्थिन्। आज भने आमाको हातबाट गिलास लिएर आफैँ भाँडा माझिरहेकी थिइन्।

आमाले हात पखालिन् र नास्ता बनाउन थालिन्।

भान्साको झ्यालबाहिर फूलको बोट देखिन्थ्यो। केही दिनअघिसम्म त्यसका कोपिला एकपछि अर्को गर्दै भुइँमा झरेका थिए। आज एउटा कोपिला बोटमै अडिएको थियो। पातबीचबाट त्यसको रङ देखिन थालेको थियो।

भान्साभित्र पानीको धारो बगिरह्यो। सरिताको हातमा रहेको गिलासबाट पानीका थोपा एकपछि अर्को गर्दै तल झरिरहेका थिए।

सरिताले गिलास पखालिन् र भाँडाको थुप्रोमा राखिन्।

झ्यालबाहिरको त्यो कोपिला हावासँगै बिस्तारै हल्लियो।

सरिताले एकछिन त्यसतिर हेरिन्।

आमाले चुलोमा कराही बसालिन्।

भान्साभरि तातो तेलको हल्का सुगन्ध फैलियो।

---०---

नोट:-सरिता र सागरको भविष्य कस्तो रह्यो भन्ने बुझ्नको लागि "परिपक्वताको खुसी" शीर्षकको कथा हेर्नुहोला।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।