कर्मयोगी

कविता लीलाम्बर ढुङ्गाना November 5, 2026, 11:46 pm

लीलाम्बर ढुङ्गाना
लीलाम्बर ढुङ्गाना
(१)

सच्चा देश र भेषको धरहरा हे ! कर्मयागी ऊठ

सेवा भाव र देश खातिर सधैं कल्की उचाली जुट ।

हाम्रो कर्म र धर्ममा सुन फुले सच्चा धरा फुल्दछ

फुल्दा फूल र वासना सँगसँगै मौरी जहाँ डुल्दछ ।।

(२)

नाचौँ छम्छम देशका नजरमा चम्कौं उज्यालो दिंदै

हाँसौ मुस्मुस चेतको बगलमा लम्कौं दियालो लिंदै ।

सिङ्गो भाव र कार्यमा हरघडी चम्की रहोस् मित्रता

रित्तो वाद विवाद यो मगजको फालौँ झिनो तिक्तता ।।

(३)

चम्कौं चम्चम औ बगाइ पसिना माटो बनोस् उर्वर

सङ्लो निर्मल, भावना र सरलता बग्छन् जहाँ निर्झर ।

खम्बा सेवक होस् र जब्बर बनोस् तिम्रो र हाम्रो घर

वास्नादार सुधा कला कुशुमले डाली भकारी भर ।।

(४)

स्रष्टा चेत र भेटको प्रहरमा दैलो उघारौं सखी ।

नौलो बालक देशको बगलमा जन्मेर मासिन्न कि ॽ

सच्चा शासक हौ प्रशासक तिमी, यो राष्ट्रका हार हौ

खुल्दो दीपक हौ बले धपधपी संसारका सार हौ ।।

(छन्दः शार्दुलविक्रीडित)

भीरकोट-४ स्याङ्जा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।