महाकवि भानुभक्त पाेखरेलजीसँग रमाइलो सम्झना

संस्मरण/स्‍मृति होम सुवेदी November 8, 2026, 12:39 am

होम सुवेदी
होम सुवेदी
कुनै साल अनिल पौडेलजी साझा प्रकाशनको सञ्चालक भएको बेला विराटनगरमा साझाको पुस्तक मेलाका साथ अहिलेका कोशीप्रदेशका कविहरूका माझमा कविगोष्ठी पनि गरे गराएको सम्झना छ । तिथी मिति अहिले म ठ्याक्क भन्न सक्तिनँ । माघ फागुनतिर हिउँदको बेला थियो । अहिलेभन्दा लगभग एक दशक वा केही अघिको कुरा हुनुपर्छ । त्यति बेला साझा प्रकाशन जीवित नै थियो मरिगएको थिएन । तर घिटिक घिटिक थियो । त्यसलाई सास हाल्न अनिलजीहरू लागिरहनु भएको थियो । समयका बारेमा मलाई फुम रहेन । रेकर्ड छँदैछ । एक डेढ दशक अघिजस्तो मलाई लाग्छ तलमाथि भए बेलैमा क्षमा माग्छु । विराटनगरमा आयोजित सो कार्यक्रमका पुस्तकविक्री कक्षको कुनै स्टलनिर सो चलेको थियो । कार्यक्रममा कविता वाचन लगायतका कार्य पनि दैनिक जसो हुने गरेका थिए । मित्र अनिलजीलाई यकिन छँदैछ म ता संस्मरण लेख्ने न हुँ ।

एक दिन हामी झापाका साहित्यकारहरू अवलोकनार्थ गएका थियौँ सायद पालो परेर होला । संयोगले म पनि गएको थिएँ । हाम्रो टोलीमा झापाका निकै साहित्यकारहरू थियौँ ।

कार्यक्रम बडो भव्यताका साथ सञ्चालित रहेछ । मेरो ता आफन्तको भेटघाटको सुअवसर हुन लाग्दै थियो । दाजु अनिरुद्ध तिमसिनासँग भलाकुसारी गरिरहेको थिएँ । त्यही बेला 'मृत्युञ्जय' महाकाव्यका रचयिता महाकवि एवम् मेरा भिजानु पनि मेरा छेउमा आएर बस्नुभो र मसँग भलाकुसारी गर्न थाल्नुभो ।

"के छ साला झापाको हालचाल ?"

"ठिक छ भिनाजु ।"

"अनि अलाई बाइमात्रा आएनन् ?"

"भन्नाले ?"

"अलाई तल्कुरे, अलाई दोलख, अलाई लखकानो क्या कस्तो नबुझेको ?"

"अझ पनि बुझिनँ भिनाजु !"

"ए, यो पनि लाटै छ के गरी नेपाली विभाग चलाएको छ ? चिउरा मुरै क्या !!"

"अब मलाई हाँसो उठ्न थालिसकेको थियो ।"

फेरि भन्नु भो- "चिउरा मुरै क्या चिउरा मुरै !"

"भेउ पाएन हजुरका सालोले । क्षमा पाऊँ भिनाजु, क्षमा पाऊँ ।"

"हैट् क्या यो मान्छे पनि....."

"अब के गर्नु त हजुरको सालो यस्तै छ ।"

अझ कुरा नखोली अर्को प्रहेलिका हाल्नु भो- "प्रस्ताव लेख्ता 'प् र् स् ताउ' लेख्ने क्या ।"

"ए ए अब मैले बुझेँ । बुझेँ भिनाजु बुझेँ । बल्ल बुझेँ । चूडामणि रेग्मीको कुरा गर्नु भएको रहेछ ।"

"चूडामणि हैन चिउरा मुरै क्या ।"

अब बल्ल कुराको चुरो खुल्यो । हाँसो थाम्न सकिएन र मुख छोपेर हाँसिरहेँ । उहाँ अरूअरू केके भनिरहनु भएको थियो नसुनेझैँ गरेँ ।

"तिमी त त्यहाँको विभागीय प्रमुख । अलिक झपार्नु पर्दैन !" भनेर मलाई फेरि र्‍याखर्‍याख्ती पार्नु भो ।

"के गर्नु भिनाजु हामी पनि सुनिसम्म दिन्छौँ, केही गर्न सकिएको छैन । फेरि अलिक पत्रकारिता, भाषा र साहित्यमा निजको योगदान पनि छ । यसैले पनि उहाँलाई हामी चलाउँदैनौँ । समाजमा सम्मान्य पनि हुनुहुन्छ यसैले हामीले पनि मानेका छौँ" भनेर म पन्छिएँ ।

तैपनि भिनाजु एक्लै केकेके भनिरहनु भयो । मैले नसुनेझैँ गरेँ ।

उहाँको कुरा भाषाबारेको र रेग्मीज्यूको तत्काल प्रस्ताव गर्नु भएको लेख्य वर्णविन्यासबारेको थियो । लगभग स्थिर भइसकेको लेख्य भाषालाई नचलाउनु पर्नेमा उहाँ दृढ हुनुहुन्थ्यो । पाेखराका मुकुन्द गुरुको लेखनप्रणालीको समेत कडा प्रतिवाद गर्नुहुन्थ्यो । तर त्यहाँ त चूडामणि रेग्मीको प्रस्तावमाथि आलोचना र व्यङ्ग्य गरिरहनु भएको थियो ।

चूडामणि रेग्मीले त्यो बेला नेपाली वर्णहरुको सन्दर्भमा वा नेपालीको लेख्यभाषामा एक नयाँ प्रस्ताव गर्नु भएको थियो । रेग्मीको सो लेख्य प्रस्तावमा अ, आ, अि, अी, अु, अू, अे, अै, तथा र‌ु र‌ू अनि सबै रेफहरूलाई र् नै लेख्नु पर्ने कुरा निजको प्रस्ताव थियो । अर्ध नलेखेर सबै व्यञ्जन वर्ण हलन्त मात्र लेख्ने प्रस्ताव थियो । र वर्णमा तल्कुरे बर्धन्ने र अ मा बाइमात्रा दाहिना तल्कुरे बर्धन्ने एकलख दोलख लेख्ने कुरा थियो । यस्तो ता अब कुनै कुनै फन्टमा अब कम्प्युटर र मोबाइलमा लेख्न पनि मिल्दैन । यसैमा युनिकोडले पनि अ लाई बाइमात्रा दाहिना दिन मान्दैन । अनि उहाँको त्यो प्रस्ताव प्रचलनमा आउने कुनै सम्भावना नै थिएन । निजको एकोहोरो ढिपीप्रति भिनाजु अग्नि शर्मा हुनुहुन्थ्यो । चूडामणि रेग्मीका प्रकाशनहरूमा जेनतेन आफ्नो प्रस्तावित लेखनको उपयोग गर्नुहुन्थ्यो त्यसमा पनि फन्ट नपाएर उहाँ नै रनथनाउनु हुन्थ्यो । उहाँका केही लेखहरूमा यसको उपयोग पनि गर्नु भएको थियो । त्यो बाहेक अन्यत्र यो लेखनको सम्भावना अलिकति पनि थिएन । प्रचलनलाई हल्लाउन यस्ता वैयक्तिक प्रयत्न काम लाग्दा हुँदैनन् भन्नेमा भिनाजु दृढ हुनुहुन्थ्यो र चूडामणि 'रेग्मीको उट्पट्याङ्को चुटपट्याङ' भन्ने लेख नै दमकको 'प्रतिभा' पत्रिकामा लेखेर प्रकाशन नै गरिसक्नु भएको थियो । मूल प्रवाहमा एकछिन सामान्य रोकावट लगाए पनि यस्ता प्रयासहरू हिलो माटोले खोलो थुन्नु जस्ता मात्र हुन जान्छन् भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्थ्यो र मलाई खुलस्तसँग भन्नुहुन्थ्याे ।

भिनाजुको त्यो भाषिक लगाव र प्रेम अपूर्व थियो । जुनसुकै बेला पनि रचनामा तल्लीन हुनु पर्ने र एक्लै पनि वाचन गरिरहनु पर्ने सद्‌भाव व खल्बलिएको नसहने त्यस्तालाई कटाक्ष, हास, परिहास गर्ने बानी थियो । उहाँसँग बस्ताका रमाइला र मजाका स्मृति मसँग दर्जनौँ छन्: हामी तीनचार वर्ष सँगै बसेकाेले । तलकाे फाेटाे त्यही बेलाकाे हाे, जति बेला चिउरामुरैकाे सन्दर्भ चल्दै थियाे ।

भिनाजुमा हार्दिक श्रद्धा तथा कडा बिरामी परिरहनु भएका चूडामणि रेग्मीज्यूको स्वास्थ्यमा सुधारको कामना ।

झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।