16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अमरग्रन्थ ‘अन्तर्मनको यात्रा’ को

कृति/समीक्षा रमेश गोर्खाली November 1, 2010, 10:15 pm

सार्थक जिजीविषा

अमर र अद्वितीय कृति लेख्न प्रायः अगण्य स्रष्टाहरू लालायित भए पनि सबैको भाग्यमा त्यो श्रेय जुर्दैन । जिजीविषाचेत नैसर्गिक प्रतिभायुक्त कुनै पनि महत्वाकाङ्क्षीले सरल ढङ्गमा लाखौँ करोडौँ पाठक समक्ष आफ्नो कुरा इमान्दारीले अथ्र्याएमा त्यो सजीव र सटीक हुने यथार्थलाई स्वनामधन्य लेखक एवं राष्ट्रवादका अनन्य चिन्तक जगदीश घिमिरेले आत्मालाप अन्तर्मनको यात्रा (२०६४) मा प्रमाणित गरेको भेटिन्छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको फिरङ्गीसँग भएको सिँधुलीगढीको निर्णायक लडाइँका एक जना युद्धकालीन नायक, विश्वसनीय सहयोगी र वीरयोद्धा उदयनारायण घिमिरे, जगदीश घिमिरेका पूर्वज हुन् । मान्छेको जीवन र नियति ‘म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’ को उखान अनुरूप रहेको पाइन्छ । इच्छित र अनिच्छित दुवै रूपमा अस्तित्ववादी विसङ्गतिवादलाई प्रत्येक मान्छेले समानान्तर ढङ्गमा स्वीकार गर्नुपर्ने परिस्थिति हुन्छ । आख्यान विधाका प्रणेता विश्वेश्वर प्रसाद कोइरालाले बन्दी जीवनमा उल्लेख्य कृतिहरू लेखेभैmँ जगदीशले कडा रोगको बन्धनमा बाँधिएर नियतिको बन्दी बनेपछि पुनः सशक्त सिर्जना कोरेको हामी पाउँछौँ । पूर्ववर्ती समयमा यिनले लिलाम (२०२७), साबिती (२०३२) र सन्तान (२०३७) जस्ता विधागत दृष्टिले चर्चित र विचारणीय कृति दिएको भेटिन्छ । परोक्ष प्रत्यक्ष र ज्ञात अल्पज्ञात ढङ्गमा मान्छेले जीवनमा कतिपय निर्दयी आघात र अभिघातहरूलाई सहन्छ । वैद्य, हकिम, चिकित्सक र स्वास्थ्यवेत्ताहरूको विचारमा प्रत्येक शिशुले जन्मसँगै आनुवंशिक रूपमा केही स्वास्थ्यजन्य समस्या लिएर आएको हुन्छ ।

पूर्ण स्वस्थ कोही नभएकाले समयान्तरका स्वास्थ्य र चिकित्सासूचक रोगव्याधि पनि यस्तैमा दरिन्छन् । अल्पविकसित र विकासोन्मुख देशका नागरिकको प्रमुख चुनौती भन्नु स्वावलम्बन र आर्थिक पक्ष हो । तन्नम, निम्नमध्यम, मध्यम र सम्पन्न कुनै परिवार र परिस्थितिमा आँखा उघारे पनि आर्थिकरूपले सबल र स्वावलम्बी बन्ने प्रत्येकको चाहना हुन्छ । विद्यार्थीकालमा धेरथोर भावुक, बेपर्वाह र विद्रोही जगदीश उच्च शिक्षा प्राप्ति पश्चात् कालान्तरमा कतिपय कर्म र सामाजिक दायित्वमा गम्भीरताले प्रवृत्त भएको देखिन्छ र आफ्नो लगनशीलताले गर्दा विदेशीबाट प्रसस्त प्रशंसा पाउनेमा पर्छन् । लामो कालखण्ड अन्तर्राष्ट्रिय क्षेत्रमा बिताएकाले तिनबिस पश्चात्को जीवन नेपाली कर्मभूमिको पत्नी दुर्गा र छोराछोरी हिमाल र जून सहितको राष्ट्रिय परिवेशमा बिताऔँ भन्ने यिनको आन्तरिक इच्छा हुन्छ । समाज, देश, मानवता र सिर्जनाको फाँटमा केही गर्नु र थुप्रै कुरा देखाउनुछ भन्ने स्पष्ट गन्तव्य भएका यी कर्मशील नागरिक हुन् ।

पदोन्नति र अर्थोपलब्धिका अपूर्व अवसर र सम्बद्ध ठुलाबडाको सविनय आग्रह हुँदाहुँदै एउटा मोडमा यी स्वदेश फर्केका देखिन्छन् । अविकसित ग्रामीण क्षेत्रका लागि दुर्गा र जगदीशले आफ्नो सक्रिय उर्वर र स्वस्थ अवस्थामा कतिपय सङ्घ र संस्थाको बीजारोपण गरिसकेका हुन्छन् । तिनमा तामाकोसी सेवा समिति सर्वाधिक विशिष्ट एवं सुव्यवस्थित रहेको पाइन्छ । आफ्नो कार्यक्षेत्र बढाऔँ र अवकाशप्राप्त जीवन परिवार तथा राष्ट्रिय जीवनमा व्यतीत गरौँ भन्ने यिनको प्राञ्जल इच्छा रहिआएको हो । संवत् २०६३ को वैशाख १ गते समाजसेवामूलक कार्य वापत प्रदान गरिएको विशिष्ट अन्तर्राष्ट्रिय पुरस्कार ग्रहण गर्न घिमिरेदम्पति संयुक्त राज्य अमेरिका पुग्दा अनायास त्यहाँ लेखक अस्वस्थ हुन्छन् र डरलाग्दो मल्टिपल माइलोमा (रक्त अर्बुद) ले यिनलाई गाँजिसकेको ज्ञात हुन्छ । एक्कासि दृष्टिगत यस वज्रपातले यिनी र यिनको सम्बद्धपरिवारको वmुटुम्बवृत्त जिल्लिन पुग्दछ ।

सिकारू खेलन्तेले गहिरो खोँचमा बन्जी जम्पिङ्ग गरेझैँ, सगरमाथाको शिखरबाट कसैले हुत्याँएझैँ अप्रत्यासित जीवन र जगत्प्रति उद्विग्न बने पनि यी पूर्णतया निरासिएको भने भेटिँदैन, परिवार, समाज र राष्ट्रको लागि आपूmले धेरैथोक गर्नुपर्नेमा कतिपय गर्न नसेकेको र जीवन छोट्टिएकामा परिस्थितिलाई स्वीकारी यी कर्मठ बन्ने मार्गमा प्रवृत्त भएको पाइन्छ । प्रसिद्ध कृति अन्तर्मनको यात्रा त्यसैको छोटो आत्मकथ्य र आत्ममन्थन हो । स्वस्थताको परिकल्पना गर्दा मान्छे, समाज, परिवार र विश्वले कहिलेकाहीँ अपूर्व सिर्जना फेला पार्दछ भने त्यो यस्तै कृति हुन जान्छ । विश्वसाहित्यमा आफ्नो गुणवत्ता र अर्थवत्ताले अकस्मात् इतिहास बनाउने कतिपय कृतिमा दक्षिण एसियाली नेपाली स्रष्टा जगदीश घिमिरेको कृति परिदिएकोमा शुभ चिन्तकहरूलाई खुसी लाग्नु स्वाभाविकै हो ।

लेखकको कथन यस्तो छ — ‘आज नेपाल भनिने भूभाग कुनै महत्वपूर्ण मानव सभ्यताको उद्गमस्थल भएको पुष्टि भएको छैन ।’

‘राजनीति अविकसित मुलुकहरूमा धन र मान कमाउने सर्वश्रेष्ठ मेलो हो । औसत मान्छेले जीवनमा खोज्ने मुख्य कुरा धन र मान नै हो ।’

‘हेर्नुस्, हामी खसहरूमा सयकडा पचहत्तर जाली फटाहाहरू हुन्छौँ ।’

‘गिरिजाकै नेतृत्व र संलग्नताका लामा लामा बहुदलीय दुःशासनकालमा नेपालको सबभन्दा ठुलो जनसङ्ख्याले सबभन्दा बढ्ता पीडा भोग्यो ।’

नेपाली आध्यात्मिक राष्ट्रवादका मनीषि पं. सोमनाथ घिमिरे व्यासले एकपल्ट जनमञ्च साप्ताहिक — २०५० मा भनेको भेटिन्छ — ‘नारायणले विश्वको उच्चभूमिमा बसेर संसारको सृष्टि गरेका हुन् ।’ दैवी (डिभाइन) र वैज्ञानिक (साइन्टिफिक्) दुवै सिद्धान्त अध्ययन मनन गर्दा नेपाल विश्वको प्राचीनतम आदिभूमि ठहरिन्छ । नेपाली जनसङ्ख्याको समाजशास्त्रीय बनोट उत्तर र दक्षिणबाट आएका कालक्रमिक अनेकौँ जातीय र सामाजिक संरचनाबाट तयार भएको हो । वर्गीय, जातीय, लिङ्गीय र क्षेत्रीय नाराहरू राजनीतिको दृष्टिले आफ्नो ठाउँमा भए पनि समकालीन नेपाली भन्नु मिश्रित आर्य, मिश्रित अनार्य, मिश्रित नागरिक र मिश्रित नेपाली हुन् । हिन्दूधर्मी प्रभाववृत्तले जोडिए पनि नेपालमा आफ्नै किसिमको सहिष्णुता मिश्रित संस्कृति (हारमोनियस मिक्स्ड कल्चर) फस्टाएको भेटिन्छ । विद्वान्हरूको भनाइमा समाजार्थिक र जलवायु जस्ता सन्दर्भ मानवीय जीवनशैलीका प्रमुख आधार हुन् । अन्य समाज र राज्यजनित कतिपय कुरा मानवनिर्मित एवं कृत्रिम हुन् ।

वैयक्तिक र समष्टिपरक रूपमा लेखकले आफ्नो अभिकथ्य र आत्मज्ञानलाई कृतिका अधिकांश खण्डमा तरल ढङ्गले व्यक्त गरेको पाइन्छ । संवत् २०६५ को लोकतान्त्रिक गणतन्त्र प्राप्ति पश्चात्को राष्ट्रिय वातावरणमा समेत लेखक आवश्यक रूपमा खुसी भेटिँदैन ।

प्रा.कृष्णचन्द्र सिंह प्रधानको सङ्कथन छ — ‘पद्धति (सिस्टम) र प्रवृत्ति (टेन्डेसी) ठिक भएपछि नेपालमा समृद्ध (प्रोसपेरिटी) र प्रविधि (टेक्नोलोजी) आफै झुल्किन्छ ।’

जगदीश सुदृढ राष्ट्रतन्त्र, सुदृढ अर्थतन्त्र र सुदृढ लोकतन्त्र एवं सार्थक शासनतन्त्रका हिमायती हुन् । यिनी विश्वको अमेरिका र युरोप लगायत कतिपय महादेशका थुपै्र मुलुक घुमेका प्रबुद्ध व्यक्तिमा पर्छन् । नेपाललाई इथियोपिया र सोमालियासित तुलना गरिएको एवं भ्रष्टाचारमा अग्रणी कहलिएको बहुसङ्ख्यक स्वाभिमानी नेपालीले झैँ यिनीलाई अत्यधिक अप्रिय छ र त्यस पानीमरुवा स्थितिलाई यिनले असह्य ठानेको तथ्य कृतिमा फेला पर्छ । राजनीतिका मार्गदर्शक विश्वेश्वर प्र. कोइराला, सुवर्ण शमशेर, टङ्क प्र. आचार्य, गणेशमान सिंह, पुष्पलाल मनमोहन अधिकारी र मदन भण्डारीको तह र स्तरका नेता देशमा पुनः दृष्टिगोचर नभएको यिनले बुझेका छन् ।

केही छोडी कालावधिक नेपाली राजनीतिज्ञ र नेता विश्वमा सर्वाधिक अयोग्य र नालायक छन् भन्न यिनले कुनै साइत कुरेको भेटिँदैन । (ज्ञानगुनका कुरा, पूर्णाङ्क २६, २०५३÷नगेन्द्रराज शर्मा ः अभिनन्दन अङ्क — भाग २)

अन्तर्मनको यात्रा लेखकको भित्री आत्मा प्रदीप्त भएको जीवन–चिन्तन हो । कृतिको उच्चतम श्रेष्ठता, सबैप्रति रहेको सम्मान र सर्वपक्षीय सहिष्णुता देख्दा यिनी वीरसंस्कृतिका सम्पोषक धीर र वीर गोर्खाली हुन् भन्न प्रत्येकलाई कर लाग्छ । यिनको परिवारले जहानियाँ राणाशासन विरुद्धको क्रान्ति, लोकतान्त्रिक गणतन्त्रको आन्दोलन र त्यसको सुव्यवस्थापनको प्रत्यक मोड र चरणमा सक्रियरूपमा सहभागिता जनाएको पाइन्छ । आधुनिक नेपालको समाजसेवा, राजनीति, साहित्य, संस्कृति र जागृतिका विविध आयाममा समर्पणको भावनाले संलिप्त राष्ट्रभक्त नागरिकहरूको सामूहिक वृत्त देखिन्छ रामेछापको मन्थलीनिवासी घिमिरेपरिवार । संवत् २००७, २०१७, २०४७ र २०६३ आदि कतिपय राजनीतिक आरोह र अवरोहको समयक्रमले प्रदत्त जनसन्देशलाई यहाँका शासक र नेतृत्वले ठिक रूपमा दिशा दिन नसकेको लेखकीय चिन्तनमा प्रत्येक नेपाली घोत्लिँदा बेस हुने मैले देखेँ । वृत्तान्तकारको अन्य गुनासो यस रूपमा प्रस्टिन्छ ः

‘बिँडी बेर्न सिक्नुपर्छ, रिक्सा हाँक्न सिक्नुपर्छ, दाउरा चिर्न सिक्नुपर्छ । तर राजनीति गर्न, सरकार जस्तो जटिल संस्था चलाउँन सिक्नुपर्दैन । उमेर पुगे पुग्छ । ... राजनीति गर्नेको बोझ धरतीमातालाई थेगी नसक्नु भयो ।’ ‘२०६४ सालमा आइपुग्दा समस्त परिस्थिति ठिक विपरीत छ । नेपाललाई त्यस शतप्रतिशत प्रतिकूलतासम्म ल्याउन प्रमुख दलहरू र तिनका नेताहरूको मुख्य भूमिका छ ।’

‘कैलेकाहीँ रोग भन्दा उपचार खतरनाक हुन्छ । थाइलैन्डका डा.नोरेनसाकले भने — तिमीजस्ताको आयु औसत तिन चार वर्ष हो । तर यो औसत हो । घटीबढी हुन सक्छ । आधा जति रोगीहरू त्यसको आधा समयमै जान्छन् । हिमाल (छोरो) सुनिरहेका थियो । उसका आँखाबाट ठुल्ठुला आँसुका थोपा झरे । मैले हिमाललाई भने — यो कुरा तँ र मलाई मात्र थाहा छ । कसैलाई नभन्नू ।’

‘बटारिएका घिमिरेहरूको पारिवारिक सद्भाव वृद्धिमा दुर्गाको असाधारण भूमिका रह्यो ।’

आफ्नो श्रम, अध्यवसाय र वंशाधिकारले गर्दा जगदीश र यिनको परिवारलाई झन्डै हातमुख जोर्ने एकपुस्ते बाध्यता रहेन भनिदिए हुन्छ । व्यक्तिगत रूपमा निजात्मक घरद्वार मात्र नभई देशभित्रका लाखौँ करौडौँ घरका बासिन्दा नेपाली नागरिक स्वस्थ, समृद्ध र आत्मनिर्भर बनून् भन्ने यिनको प्रबल सदाशय देखिन्छ । विद्यार्थीकालमा एकताका यिनी र मनु ब्राजाकी जस्ता केही उत्साही युवकले क्रान्तिकारी जनयुद्धको अभ्यास गर्ने, कठोर प्रण गर्नु र त्यसमा दत्तचित्त हुनु त्यसैको दृढ परिणाम हो । एक जना साधारण मानिसमा हुने दोष र गुणबाट जगदीश स्वयं मुक्त र पृथक् छैनन् । तर राष्ट्रको लागि गम्भीर भएर इमान्दारीले सोच्ने र लाग्ने थोरै मेधावीमा यी एक हुन् तथा सङ्कल्पशील छन् भनी यिनलाई स्याबासी दिन कसैले आइतवार कुर्नु आवश्यक छैन । जीवनपरक मृत्युबोधले गर्दा यिनको दृष्टिबोध र कर्तव्यबोध जागृत भएको होइन ।

राष्ट्रको स्थिति र प्रगति कस्तो हुनुपर्छ त्यसको सानो छनक पूर्वकालीन रचनाहरूमा दिइसकेकाले दुस्साहसी जगदीशको कृतिकारिताले विनम्र दृष्टि राखी आवश्यक ठाउँमा देश, काल, परिस्थिति अनुरूप अरूहरूलाई ठिक निर्णय सुझाएका हुन् । केहीले जगदीशलाई धेर थोर अभिमानी मानेको भेटिन्छ । मदनमणि दीक्षित, तारानाथ शर्मा, कृष्णभक्त प्रभृत्ति कतिपय ज्ञानचेत ज्ञानाभिमानीझैँ यिनी दम्भी र लुब्ध व्यक्तिको सातो झार्न उद्यत स्रष्टा लाग्छन् । सत्तातन्त्रीय मोहपाश, संरचनाको विनिर्माण, इतिहासको नयाँ व्याख्या, उपभोक्तावादी संस्कृति र नवयथार्थवादी चिन्तनका माध्यमले यिनले उत्तरआधुनिकतावादी अस्तित्ववादी दुनियालाई छामेको भेटिन्छ । यिनी कृष्ण र बुद्ध जस्ता प्रकाण्ड ज्ञानीका पूर्वीय दर्शनमा समेत त्रुटि र अपूर्णता रहेको सप्रमाण समीक्षा गर्छन् । वस्तुतः प्रत्येकको प्रौढ र सुन्दर दर्शनले जीवनको परिभाषा र सारतत्वलाई अथ्र्याउँछ भन्ने निचोडमा यिनी पुगेको पाइन्छ ।

धर्म, अर्थ, काम र मोक्ष जस्ता प्रवृत्तिले बाँधिएका प्रत्येक मान्छेको आफ्नो सङ्कीर्णवृत्त र स्वार्थ भएकाले सम्बद्ध लेखकको पनि अवश्य यस्तो प्रभावान्विति हुँदोहो । एकाएक कडा रोगले थलिएर जीवनको सीमा बुझ्दा विगत र आगतलाई रेखाङ्कनका दृष्टिले कसरी थाम्नुपर्ने हो — जगदीशले त्यस क्षितिजलाई स्पर्श गरेका छन् । नेपालीले राष्ट्रवाद र विश्ववादलाई बुझ्न तराइली, हिमाली र गोर्खाली दृष्टि एवं आत्माले मात्र नभई विश्वपरिवेश र परिमण्डलमा के भइरहेछ तथा शक्ति र महाशक्ति राष्ट्रको अभीष्ट के हो ? त्यसप्रति सबैको ध्यान चनाखो हुनुपर्ने यिनको सुझाउ छ । द्विध्रुवीयको ठाउँमा बहुध्रुवीय विश्वजीवनको कुटिल र अस्वस्थ प्रतिस्पर्धाको नवीन दौड सुरु भएकाले विकासोन्मुख राष्ट्रहरूको भविष्य धूमिल रहेको यिनले पाएका छन् । भूमण्डलीकरण र आधुनिकीकरणको आवश्यक बहुलता र विविधिताको गरिमाशाली पक्षलाई सैन्यकृत ध्रुवीकरणतिर तानिएको देख्दा जगदीश दुःखी छन् र विश्व कजाउन खोज्ने पश्चिमी फिरङ्गीको चाला निको नरहेको प्रस्ट पार्छन् । प्रकटित कतिपय कुरा प्रचलित र सामान्य लागे पनि इमान्दार अनुभव र अनुभूतिले गर्दा गाउँँ, नगर, महानगर र प्रत्येक ठाउँका स्वदेशी स्वजनका लागि कृतिकारले नवपथको निर्माण गरेको भेटिन्छ । आफ्नो असहनीय पीडामा पनि अरूलाई ज्ञानवद्र्धन गर्नु र सन्तोष दिनु यिनको लक्ष्य रहेको स्पष्ट छ । कृतिकारले जसरी निर्भीक र पारदर्शी रूपमा आफ्नो अन्तर्मनलाई खुलस्त पारेका छन् त्यो त्यसै स्वाभाविक किसिमले आएको हुनु सुखद छ । समग्रतः नेपालका कतिपय वरिष्ठ सर्जकले जगदीशपूर्व यसरी यथार्थलाई पस्केको इतिहास पाइँदैन । स्रष्टाका अनुभूति र स्वीकारोक्ति यस्ता समेत छन् ः

‘मान्छेले जीवनको विश्लेशण गर्ने प्रयास नगरेको होइन, तर आजसम्म सम्भव भएन । जीवन जिउने कुरा हो । अन्तिम विश्लेषणमा जीवन दृष्टिकोण हो । त्यसपछिको विश्लेषणमा जीवन मृत्यु हो ।’

‘मान्छे दुःखमा जन्मन्छ । बाँचुन्जेल सुख पाउँदैन । जो सुखसँग मर्छ त्यही सुखी हो ।’

‘मलाई एक पटक मर्न देऊ, खुसीसँग मर्नेछु पटक पटक नमार ।’

‘तर्क भन्छ खरानी छरेर तामाकोसीको सफा पानी नधमिल्याऊ । मेरो खरानी मन्थलीको कुनै पनि पाखामा छरिदिए पनि हुन्छ ।’

सिर्जनालाई विवेचना गर्दा यिनी आस्तिक नरहेको लाग्दछ । प्राणवायु रहेसम्मको खेलचक्र ठान्दछन् यिनी मान्छेको जीवनसूचक गतिविधिलाई । कृतिकार सन्त, महन्त र अन्य शिखरपुरुषका सूक्तिलाई अधिमूल्यन गर्छन् र प्रकृतिको नियतिलाई प्रत्येकले बुभ्mनुपर्ने ठान्छन् । जीवनोन्मुख र सोद्देश्यपूर्ण भएकाले यो कृति शाश्वत र सम्प्रेरक बन्न पुगेको हो । शक्तिधर्मी उठान, बैठान र विग्रहले विश्वको नेपाल लगायत कुनै पनि मुलुकको स्थायी कल्याण नभएकाले बहुमतीय र सहमतीय प्रणालीले सबै अगाडि बढ्न यिनी अभिप्रेरित गर्छन् । शक्ति र सत्ता हत्याउन षडयन्त्रपूर्वक कुरूप दौडमा लागेकालाई नवदृष्टि दिएर यिनले सबैको हित हुने सन्दर्भ प्रस्ट्याएको भेटिन्छ ।

वैवाहिक बन्धनले घिमिरेमा परिणत विदुषी दुर्गा आचार्यले ठुलो परिवारमा सद्भाव, स्नेह र आत्मीयताको न्यानो सुवास छरेर पारिवारिक सुकीर्तिलाई अभिवृद्धि गरेको पाइन्छ । कुनै समयमा ध्रुवचन्द्र गौतम, विश्वम्भर चञ्चल, मोराश, मनु ब्राजाकी, कविताराम, भाउपन्थी, कुमार ज्ञवाली, सनत रेग्मी र गोपाल पराजुलीको समस्तरमा म जगदीशको कृतित्व र व्यक्तित्वको तुलना गर्थें । परिवर्तित समयमा मौलिक ढङ्गमा जगदीशको उज्ज्वल अब्बल छवि तयार भइसकेको देखिन्छ । जीवनको क्षणभङ्गुरता र नश्वरताको प्रशस्त आलेखनले मृत्युचेतनाको परिभाषेय कृति लागे पनि सर्वत्र उज्यालो र जीवनदृष्टिको खोज रहेको यो आत्मालाप आफ्नो उदाहरण आफै बन्न पुगेको छ ।

बाल्यावस्था र युवाकालदेखि असाध्य रोगको उपचारको क्रमसम्मका घटनाक्रमले लेखकीय जीवनको लेक र बेसीलाई सूचित गर्दछ । एसिया, युरोप र अमेरिका सहित विश्व बौद्धिकताको कतिपय ठाउँका विद्वान्हरूको विचार सँगेटेर गद्यकारले जीवनसत्यलाई उजिल्याएका छन् । नेपाली राजनीतिको कतिपय आरोह र अवरोहको वस्तुगत विश्लेषण गर्दैै लेखक सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी बहुदलीय पद्धतिप्रति आश्वस्त हुन खोजे पनि यसको भविष्यप्रति सजग छन् । समयापेक्षी पुनःसंरचना र पुनर्निर्माणले राष्ट्रको सार्वभौमिक आधार नखल्बलियोस् र मुलुक कमजोर नहोस् भनी यी अत्यधिक चिन्तित लाग्छन् । कृतिमा कायाकल्पको रूपमा बैङ्ककको हस्पिटलमा स्टेमसेल ट्रान्सप्लान्ट गर्नु, मृत्युको चौघेरामा उभिनु र धेरथोर स्वस्थ हुने परिदृश्यमा लेखकले राष्ट्रकैबारे चिन्ता र व्यग्रता प्रकट गरेको भेटिन्छ । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, वैज्ञानिक, प्राविधिक र सामरिक प्रत्येक विधामा नेपाल सम्मुन्नत होस् एवं बाह्य वैरीको कुदृष्टि नेपालमा नपरोस् भनी यिनले ससक्त राष्ट्रियताको पौरखी महिमा गाएको पाइन्छ ।

सांस्कृतिक दुर्भावको कुचक्रमा परी कतिपयको मस्तिष्क पटलमा माओवाद, मधेसवाद, थरूहटवाद, ब्राह्मणवाद, खसराष्ट्रवाद र पहाडिया जातिको नाउँमा पारस्परिक अविश्वास र हिंसक शङ्कालु भाव उत्पन्न हुनुलाई लेखकले बेठिक मानेका छन् तथा नेपाली नेपालीबिचका प्रत्येक मुद्दालाई एक आपसको सौहाद्र्र र आत्मीय वातावरणमा समाधान गर्नुपर्ने यिनको परामर्श छ । कुनै पनि आस्था, सिद्धान्त र दर्शन अकाट्य नहुने एवं ती प्रत्येकलाई खण्डन र समर्थन गर्न सकिने जनाएर समीक्षात्मक दृष्टिले जगदीशले द्वन्द्ववाद र विघटनवादको व्याख्या गरेको पाइन्छ ।

कोइरालाबन्धु (मोहन÷शङ्कर), मल्लबन्धु (गोविन्द÷विजय), प्रधानबन्धु (हृदयचन्द्र÷कृष्णचन्द्र), गौतमबन्धु (धु्रव÷धनुष), साकारबन्धु (परशु÷शैलेन्द्र) र लोहनीबन्धु (दीपकमणि दाजुभाइ) प्रभृतिझैँ घिमिरेबन्धु (जगदीश र नगेन्द्रराज शर्मा) आधुनिक नेपाली साहित्यका वाङ्मयप्रेमी चेतनशील बन्धु हुन् तथा यी दुवैले मनोयोगले भाषाभवानीको अथक सेवा गरेका छन् र यो अत्यधिक प्रेरक छ ।

सम्परीक्षण गर्दा कृतिगत समस्त अंशमा समानुरूप सरस एकरूपता भेटिँदैन । कृतिको पूर्वाद्र्ध भन्दा उत्तराद्र्धमा शिल्पगत र निबन्धगत दृष्टिले लेखक अत्यधिक जमेका छन् एवं यिनको उपलब्धि त्यही चूडान्तमा प्रतिबिम्बित छ । कतिपय घटनात्मक अंश असरल्ल पनि छन् । पर्यावरणीय प्रदूषणले ग्रस्त राष्ट्रको नागरिक भएकाले पाश्चात्य जीवनको सुस्त र द्रुत जीवनशैलीमा कुन ठिक भन्ने सोचमा कृतिकार पर्नुको आफ्नो महत्व छ । कवि हरिभक्त कटुवालले जीवनकालमा नगेन्द्र र जगदीशलाई ‘तँ’ भन्दा अरूले ‘तोँ’ सुन्नु, नीरविक्रम प्यासी र मदन रेग्मीबिचको मलोत्सर्ग समयको पारस्परिक कविता वाचन–श्रवण, बाजेबज्यैको सन्तान भएकाले आमाबाबु पाल्ने बाध्यता पछिल्लो छोराछोरीलाई नरहेको भन्नु तथा फ्रायडलाई यु.जी. कृष्णमूर्तिले शताब्दीको सबभन्दा ठुलो ठग मान्नु जस्ता प्रसङ्गलाई हास्यचेत वक्रोक्तिपूर्ण ढङ्गमा लेखकले प्रस्तुत गरेको पाइन्छ । यिनको व्यङ्ग्यको आफ्नै क्षमता देखिन्छ । बाल्यकालमा आमाको दुध अपुग भएकाले रूखी र छुच्ची, तर ममतामयी नारी बुबुधाई माइली गौरुङनी मझिनीको दुध खाएकाले जगदीशको स्वभाव धेरथोर छुच्चो भएको कुराको उनलाई उनको आमाले भनेको भन्ने पनि छ कृतिमा ।

कृतिलाई ‘खेस्रा’ भनी जगदीशले आफ्ना आलोचकहरूको मुखमा एक प्रकारले बुजो लगाएका छन् । कृतिकारमा महान् लेखकको उष्मा भेटिन्छ र त्यो यही रूपमा मौलाउँदै जाने निश्चित छ । अनवरत जीवनसङ्घर्ष र सार्थक जिजीविषाको महागाथा एवं अमर ग्रन्थ हो — अन्तर्मनको यात्रा ।

समाधि, समर्पण र आनन्दको त्रिवेणी प्रवाहित यस कृतिमा आत्मप्रस्तुतिको आफ्नो लक्ष्य भएकाले कसैले यसलाई आत्मरोदन ठान्दछ भने त्यो उसको मूर्खता मात्र हो । लेखकीय चिन्तनप्रवाहमा निस्सारताको अंश भए पनि यसमा अरूलाई प्रभावित गर्ने जीवनशक्तिको प्रशंसनीय सुवास विद्यमान छ र कालखण्डमा नवपुस्ताले त्यसै रूपमा यसको विविध पक्षलाई आत्मग्रहण गर्ने प्रस्ट छ ।

चेतनात्मक, संवेदनात्मक र साधनात्मक दृष्टिले आधुनिक नेपाली साहित्यको गद्यधर्मी उन्नयनमा मदनपुरस्कार प्राप्त अन्तर्मनको यात्रा (२०६४) कृतिले कालजयी उपलब्धिमूलक सुकिलो फड्को मार्न सकेको देखिन्छ । मेरो विचारमा आधुनिक नेपाली गद्यविधामा नसोचिएको कुराको अप्रत्यासित उठान गर्ने छापामारशैलीका उन्नायक समेत जगदीश घिमिरे हुन् । संवेदना र सञ्चेतनाका दृष्टिले समुद्रजस्तो बहुस्वर भएको यस वृmतिमा प्रत्येक जिज्ञासुले आआपूmले इच्छित अन्तर्वस्तु फेला पार्न सक्दछ ।

औषधोपचारले दुःसाध्य व्याधि बिसेक भएर यिनलाई शताधिक जीवन प्राप्त होस् भन्ने थुप्रै शुभेच्छुकको असीम शुभेच्छामा दिनानुदिन वृद्धि हुँदै गएको देखिन्छ ।

अस्तुः ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।