18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खहरेका भेल र जीवनको यात्रा

कविता शिलु शर्मा April 27, 2024, 3:53 am
शिलु शर्मा
शिलु शर्मा

शान्त मुहानबाट शुरु भएको यात्रा
कहिले चाहेर त कहिले नचाहेरै पनि
समयको बेग सँग पैंठेजोरी खेल्दै खेल्दै
बेजोडको यात्रा तय गरिरहेछ ।।

कहिले शान्त शितल जंगलका कन्तराबाट
बगेको छ,
कहिले झरना रानी बनेर सबैको दिलको
मुस्कान बनेको छ,
कहिले आगन्तुक बनेर
नव आकृतीसँग मित्रता गाँस्दै आफ्नो
समयको घडीलाई चलायमान बनाउँछ ।।

न कहिले विश्राम न कहिले थकाई,
प्रत्येक सेकेन्ड र मिनेटमा अनन्त दुरी तय गरी
कलकल बगिनै रहेको छ
जीवनको यश अनन्त यात्राको
मापन खै कहाँ नेर छ कुन्नी,
दौडिने बाटो थाहा नै नभएपनी कुनै दिन त
शान्त सागर भेटिन्छ भनी चलिरहनु छ ।।

दिवामा सूर्य किरणको सहारा लिई
चम्किलो तरल अवशेष बन्नु छ,

अँधेरीमा कालो बतासको झंकार सहन गर्नुछ,
तर पनि बिहानीको पर्खाइमा
दौडिनै रहनु छ ।।

बर्सातमा धमिलो छालसँग मितेरी लाउँदै
ठुलाठुला चट्टानका तिखा धारसँगटकराउँदै
मिल्काईएका अवशेषहरुको संकलन गर्दै
अदृश्य सुरुङ्ग मार्गमा बिस्थापित गर्दै,
तय गर्दै छ खहरेले त्यो महासागरसम्मको
यात्रा बिना हिच्किचाहट अनि
बेहिसाब आफ्नै आकृती र लयमा
शान्त, शौम्य र सुरविर भएर ।।

यसमा पोखिन्छन बिना सिमांकनका
प्राकितिक प्रकोपहरु,
यसमा पोखिन्छन मानविय तथा प्राणी जगतका
आँसु अनि निर्जिव अवेशषहरु
र, हेर्नू पर्छ खहरेले
विश्राम गरेको प्राणीको अन्तिम आहुती
भुलाउनु छ पीडाका वर्सातलाई
आफ्नो छाल भित्र नदेखिने गरि
तय गर्नु छ पुनः साग सम्मको यात्रा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।