18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अर्थहिन बनाइएको त्यो प्यारो रंग !!

कविता शिलु शर्मा June 8, 2024, 12:19 am
शिलु शर्मा
शिलु शर्मा

धर्तिमा पदार्पण भएदेखि नै प्रकृति प्रदत्त
सबै रंग अतिनै प्यारा थिए,
किनकी त्यहाँ समाजले बिछ्याइदिएको
काँडे तारको सिन्दुरे घेरा थिएन,
समाज नामको अदृश्य अनि कुनै
मानवता नभएको जमातको
आफूखुसी कैद बनाउने
नियम नामको जेल थिएन ।।

त्यसैले सानोमा देखिएको थियो
मायाको रंग जुन,
स्वतन्त्र रुपमा प्राप्त थियो,
सान, वैभव र ममताको छाँयामा बस्दा
जुन सुकै रंग कति निर्भयता पुर्वक प्यारो थियो ।।

जब अलिक उमेर बढ्दै गयो,
आफ्नै शरिरबाट सृजित
रातो रंगले अत्यन्त डर पैदा गर्यो,
एक्कासी समाजका
विष पात्रले आफ्नो सुरक्षाको
घेरा छुटाएर पर पुर्याउने
प्रपन्च रच्दै गरेको पाइयो,
आफ्नै धर्तिलाई संकुचित गरी
आँगनिमा टेक्न नहुने अछुतको
नमिठो विषको प्याला दिइयो,
र आफनै परिवेश अघिल्तिर
स्वतन्त्रताको नमिठो बध गरीयो ।।

जुन सुकै लिङ्गको प्राणी भए नि
प्रकृतिले सृष्टिलाई जीवित राख्न
नारी नै चुनेकी छिन्,
तर तिनै मध्य पनि अरुको सन्तानलाई अत्यन्त उत्कर्षक
पीडा दिएर खुसी हुन सक्ने अर्को
नारी पात्र कस्ता
मनस्थितीका हुन ??
फेरि आफ्नो सन्तानको हर रंग र स्वतन्त्रता
उस्लाई प्यारो भैदिन्छ ।।


एउटा मानिस जसरी अपराध
गरे पश्चात मात्र जेलमा पुग्दछ,
उसैगरी एउटा सरल किशोरी
यौवनकालमा आफ्नै आँगनी र
समाजले दिएको अग्नि ज्वाला भित्र
मानसिक प्रताडनाकी कैदी भैदिन्छे ।।

त्यो रातो रंगको आगमन पश्चात् ,
चाहे महिनाबारी बनेर आवस,
चाहे सुत्केरी बनेर आवस,
चाहे सिन्दुर बनेर आवस,
चाहे रातो चुरा पोते र फरिया बनेर आवस,
निगरानी छ चारै तिरबाट,
कलंकित छ रातो ,
कहिले शरिरबाट आउँदा, त कहिले,
देखावटी संस्कार मापन गर्नेहरुको
नजरमा रातो नपहिरि दिंदा ।।

खै इन्द्रेणीले त कुनै रंगमा विभेद गरेको छैन,
जसरी समाजका
पहरेदार महिलाले अर्कोलाई खोट
लगाउन रातोको अनेक सहारा लिए,
शक्तिशाली वर्गले !!
उमेरदार सिंहले
आफ्नो भोक शान्त पार्न आफ्नै
सन्तानको आहारा खोसेझैं,
कहिले कहिँ उसैलाई टोके झैं,
कहिले सम्म ईर्ष्याको आगो शान्त पार्न
अर्काको सन्तानको सरल सौम्य र
शालिन तस्बिरमा हिलो छ्यापी रहन्छौ ??

कहिले सम्म धावा बोलिरहन्छौ?
कुपात्रहरु हो,
अब सरल नारी र किशोरीले
सहने छैनन तिम्रा ढोंगी बिभेदी
र, खोटपूर्ण आचरणलाई,
किनकी अर्काको जून जस्ती सन्तानको
जति गर्यौ आलोचना,
अब तिम्रो दैलोसम्म छिटै आउँछिन्
तिम्रो खिल र वंश धान्ने बनेर
अर्को नारी,
कसरी फाल्छौ तब तिम्रा उन्मादका पोकाहरु ??
जीवन भरी अर्काको छोरीको
पहरेदारी गर्ने विशाक्त नयन र चालले
आफ्नै घरमा विषको बटुका कसरी पोख्ने हो ??

दया करुणा नभएको
सुख्खा मरुभूमिमा समेत
आफूलाई जीवित राख्नु छ भने,
त्यो रातो रंग र गहनाका जंजिर भन्दा पर
इमान र स्वतन्त्र वर्सातको इन्द्रेणी किरण बनेर
जिउनु है सरल सुन्दर नारी तिमी,
अनि मात्र तिम्रो पूजा हुनेछ,
अनन्त आकाशबाट,
जीवन रहँदा पनि र सकिँदा समेत ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।