18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अमृततुल्य एक प्याला

कविता शिलु शर्मा July 16, 2024, 6:02 pm
शिलु शर्मा
शिलु शर्मा

तिर्खाएर आएकुल व्याकुल बनेको
एउटा विवस पेटको अगाडि
पनि कति मीठो हुन्छ
एक थोपा पानी
जसलाई दिनेहरुको जहर र क्रुध्द वाणी
त्यस पश्चात् प्राप्त गरिएको नै किन नहोस!!
व्याकुल हृदयको गति पछि
नापौँला,
सायद धेरै शताव्दिको आगमन र
बहिर्गमन पश्चात् !!
अहिलेलाई
यो एक मुठ्ठी सास धान्न
आफ्नै काख र पेटमा रहेको प्राणको
समेत रक्षार्थ,
जमिनमा एउटा सजिव जीव बनी
उभिनकै निमित्त,
मीठो मानेर पिउनु पर्छ,
इतिहास, विरता र सन्ततिको रक्षार्थ
एक गिलास
कटुताका प्याला
एक गिलास
ईर्ष्या र आक्रोश मिसिएको प्याला
अर्को दिन एक मुठी विभेद मिसिएको
झोलसँग दबाई समेत निल्नुछ
अर्को साँझ स२र्य किरणले बिदा
हुन लाग्दाको पल
घुटुक्क निल्नुछ कसैले नदेख्ने गरी
वेदनाको झोल अमृत मानेर
किनकी,
परिचय, अस्मिता र आफ्नो ममताको
माटो छोडेपछि,
श्रमले विश्व आफ्नो बनाउछु भनेर
नयाँ गन्तव्य ताकेपछि,
वा विवशताको पहिरोले
गर्ल्याम गुर्लुम सपनाको घर ढालेपछि
काँधमा समय पूर्व नै कर्तव्यको
गह्रुँगाे ढिस्को खसेपछि,
अत्यन्त मीठो मानेर पिउनु पर्छ,
तिरस्कार, अहंकार र भेदभाव
मिश्रित झोल
अर्को हुनुको परिणामस्वरुप
अर्को परिवेशको प्राणी हुनुको स्वरुप
या त परजिवी भएर बाँच्नुको स्वरुप
यो दण्डलाई स्विकार्नु पर्छ
किनकी,
आवाज निकाल्दा निल्न सकिन्न
स्विकार नगर्दा बाँच्न सकिन्न ।।
सारै अमृत समान हुनेछ,
कैद भित्रको भोकमा,
विषको प्याला,
त्यसैले त सुकरातले खुशीसाथ
पिएका थिए
नयाँ युग निर्माणको निमित्त,
मूल्यवान विषको प्याला ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।