18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जीवनका रङ्ग

कविता शिलु शर्मा October 24, 2024, 8:53 am
शिलु शर्मा
शिलु शर्मा

बुझ्न सक्नुपर्छ चोट र पीडाभित्र पनि त छ जीवन
सङ्घर्षभित्र छ सफलता
साँझपछिको कालो रातपछि नै छ सुनौलो बिहानी,
पहराको गुप्त चट्टानभित्रबाटै
बहेको छ, कलकल झरनाको शुद्ध पानी ।
आकाश गङ्गाको गडगडाहटबाट
सृजना हुन्छ सप्तरङ्गी इन्द्रेणी
धर्तीको गहिराइबाट नै सृजना हुन्छ
सुन्दर सरोवर रानी ।
आँखाको अश्रुधारा पुछेर त हेर
संसार छ कति सुन्दर
मनको बह भुलाएर त हेर सूर्यास्तपछिको
सूर्योदयका सुनौला लहर ।
बाँच्नका लागि मुस्कुराउ
मुस्कुराउनका लागि कर्म गर
जीवनले दिएको रङ्गलाई बुझ्न
अन्तिम पटक पुनः कोसिस गर
शून्यतामा जीवनको रङ्ग छ
हारेर उठ्ने मनलाई सोध
अदृश्य कणमा सृष्टि अडेको छ
अदृश्य जीवन्त रक्तकोशिकालाई सोध ।

म अझै जीवित रहेछु
शून्य भावबाट विराट् विचारको रचना हुन्छ
पीडाका गहिराइमा नयाँ जीवनको आशा हुन्छ
सानो तरङ्गले विशाल तलाउ हल्लाउन सक्छ
सानो आशाले जीवन्त सपना सजाउन सक्छ ।
सङ्घर्ष र जीवन, प्राणीका पर्याय
सुख र दुःख हुन एकआपसका सहायक
सूर्यास्त नभई सूर्योदय हुन्छ कहाँ ?
प्यासपछिको पानी पो अमृत बन्छ त्यहाँ ।
बीज अङ्कुराउन धर्ती फाट्नुपर्छ
घना वृक्ष बनिदिन
सयौँ दिन घामपानी, असिना, हुरी सहनुपर्छ
सुन्दर पुष्पवाटिका निर्माण हुन पनि
चट्टानका रङ्गहरू माटोमा परिणत हुनुपर्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।