18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समाधिस्थल

कविता शिलु शर्मा November 4, 2024, 2:54 pm
शिलु शर्मा
शिलु शर्मा

जन्मिएको थिए एउटा सुक्ष्म जीव बनेर,
धराका सम्पुर्ण प्रकृति पुन्ज चुमेर,
बामे सर्दै, घिस्रदै र पल्टदै,
आफ्नै पाइलाले
उभिएर संसार नियाल्न
चाहन्छु, सोचेर ।।

वर्सौं लगाएर धर्तिमा टेक्न थालेपछि,
आफ्नो हातले आफैं खान
जानेपछि,
टेकेको भूमि आफ्नै लाग्न थालेपछि,
दुई चार अक्षर चिन्न सक्ने भएपछि,
आफ्नो जीवन कसैलाई बोझ नहोस भनी
हिड्न थालेपछि,
पुन : कसरी सजिलै आफ्नो बिगतको गोरेटो
भुल्न सकिन्छ भनेर सुत्रहरु खोज्न विवस
भएको रहेछु ।।

वर्सौंपछि अक्षरहरु जोडेर शब्द बनाउन
जानेपछि,
शब्द जोडेर वाक्य बनाउन जानेपछि,
ती वाक्यलाई जीवनमा जोड्न
सिकेपछि,
बल्ल फेरि म ती जिवनलाई
बिगत बनाउने र भुल्ने शिक्षा लिन
आफैंबाट भाग्न थाल्छु,
कहिले गुरु वाणीबाट त कहिले
अलौकिक जीवन दर्शनबाट,
जसरी पनि
म सिकेको र कण्ठ भएको तितो
यथार्थ भुली पुनः अध्यात्मिक यात्रामा
जिउन चाहन्छु ।।

म कहिले ठूलो हुन्छु र संसार आफ्नो
बनाउछु भनेर,
धेरै समय सोच, मेहनत र परिश्रममा
बिताउँछु,
म कसरी आफ्नो परिचय राख्ने
भनेर कर्ममा लगाव दिन खोज्छु,
आफू भन्दा विशेष लाग्ने आफ्नैले
धोका दिए पछि म फेरि कसरी
तिनैबाट जोगिने भनेर,
भाग्ने बाटो खोज्छु ।।
ठूलो मानिसका ठुलै पीडा देखिसकेपछि
म फेरि आफूलाई सानो हुँदै ठिक देख्न थालिरहेछु ।।

म जागिरे बन्न चाहन्छु,
जागिर खाएपछी त्यो ठूलो हाकिम जस्तै
बन्न चाहन्छु,
नभए हाकिमको प्रिय पात्र बन्न चाहन्छु,
जब नजिकबाट नियाल्छु, हाकिम,
देख्छु दुस्चक्र अनि दुस्साहस पश्चात्
पैसारुपि अग्नि ज्वालाले
नैतिकताको जरो उखलिएको
तब म पुनः कारीन्दा हुनु नै उचित ठान्छु,
वर्सौं जागिर खाइसकेपछि,
कुकर्महरुले माला, खादा र समाज सेवाको खोल
ओढेको देखेपछि
बेरोजगारीलाई पो म अत्यन्त धन्य देख्दछु ।।

म मर्न अत्यन्त डराउछु,
मलाई बाढी, पहिरो, जल, अग्नि
पानी, प्रकोप तथा रोग सबैसँग
अत्यन्त डर लाग्दछ,
र कुनै मानव, आफन्त वा प्रेमिल पात्रको
सानिध्यताको अभाव लाग्दछ,
र म अत्यन्त निकट कोहि हुन्छ कि
भनी चिहाउन थाल्दछु,
तर,
जब म विवस्ता र परीबन्धले आफ्ना
बनाएका एक जमात, कुनै पाप
धारी प्राणिबाट एक्कासी विश्वासघातको
उपहार प्राप्त गर्दछु,
धाप मार्नेहरु कै हातले चोटमा छोएर
सहानुभुतिको झुटो नाटक गरेको
देख्दछु,
आशिर्वादको वर्सात पाउनु पर्नेकै
नजरमा घृणित भएको पाउँदछु,
तब म पुनः माटो मै पोखिन चाहन्छु,
मेरा सम्पुर्ण मस्तिष्कका अवयवलाई
डरको अन्तिम तत्वमा समाहित गर्न चाहन्छु,

म यो धर्तिको नाटकिय
कृडालाई अन्त्य गरेर समाधिस्थलमा
पुग्न चाहन्छु ।।

दोलखा, हालः काठमाडाैं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।