18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जब मानिस ब्युँझन्छ

कविता शिलु शर्मा January 17, 2025, 2:11 pm
शिलु शर्मा
शिलु शर्मा

समयको पावन्दीबाट
घाम डुबेपछि,
मान्छे पुग्छ गहिरो
निन्द्रामा र देख्न थाल्छ सपना,

आफ्नै मेहनतको
तलाउमा सुकोमल फूल फक्रिएको,
आफ्नै हातले आफूले चाहेको दिन
त्यसलाई लिएर आफ्नो मनको भगवानलाई
चढाउन मन्दिर पुगेको ।
तर कुनै अन्जानले बिना सोधपुछ
एक्कासि चुँडिदिन्छ त्यो सपनाको
फूल, तब मान्छे ब्युँझिन्छ
शून्य तलाउ हेरेर टोलाउँछ ।।

अर्को दिन मान्छे पुग्छ
मस्त निन्द्राामा अनि फेरी देख्छ
सपना,
आफ्नो स्वर्णिम स्वतन्त्र संसार,
आफ्नाहरु सँगको इमान्दार
कर्मले हाँसेको जिन्दगी अनि
भुल्छ सोही परिवेशमा आफ्ना
सम्पूर्ण रहरहरु,
तर, एकदिन अचानक एउटा आफ्नै मानेको
मखुण्डोधारी मानिस उभिन्छ
पछाडि पार्न हजारौं धारीला
शब्दजालका हतियारहरु,
उसका खुशी लुट्न लगाइएका
दाउपेच र नियमका चाङहरु,
उस्को उमंग र सपना तोड्न रचेका
चक्रब्युहहरु,
अनि बल्ल मान्छे ब्युझिन्छ र
देख्छ मतलबी दुनियाका
आफ्नै भनिने जिउँदो अस्थिपन्जरहरु ।।


जब मान्छे निदाउँछ आनन्दले
थाकेको शरिर लोलाउन,
तब देख्छ अर्को सपना,
आफ्नो यथार्थका पहाडहरुको
यात्रा तय गरेर स्वप्निल दरबार निर्माण
गरेको,
आफूलाई माया गर्नेहरुसँग
केही पल बिताउन दिनरात
दिवारहरु सजाएको,
पसिना र रगतका सिंचाइबाट
भरपुर आफ्ना भन्नेलाई
खुसी बाँड्न चाहेको,
जब सुन्छ एकदिन आफ्नै
दिवारहरुका विभेदपूर्ण वार्तालाप,
तब मानिस ब्युँझन्छ र भन्छ
यो भौतिक सुख र नाटकी सम्बन्धका लागि
मैले किन अमुल्य जीवन खेर फालेको ।।

जब मानिस निदाउँछ,
आफ्नै मेहनतको बिछ्यौनामा,
तब देख्छ सपना,
भोलि माथि पुग्छु,
आफ्ना लागि रुनेलाई केही गर्छु,
एक्कसी जब उस्लाई पछाडिबाट आफ्नैले
धकेल्न आँटेको देख्छ तब
पुनः झल्यास्स ब्युझिन्छ र भन्छ
व्यर्थको भिडलाई मैले
जीवन भरी विश्वास गरेछु ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।