नारी,
योग्यताको परिक्षा
र कुसंस्कारको जंजिर !
हो म एक नारी हुँ भन्न
मलाई कुनै संकोच छैन,
म करुणाको गर्भाशयबाट
प्रकृतिको कोमल अञ्जुलीमा
मीठो सपना फुलाउन
रचना भएकी मनमोहक
सुन्दर आकृति अझै बढी
सुन्दर मन भएकी पात्र हुँ ।
सृष्टिको शुरूवातको चरणमा
मलाई धेरै बन्धन दिइएका थिएनन्,
एउटा जीवनको विकास गर्न
र सन्तानको रक्षा कवच बन्नु पर्ने
मूल कर्म थियो त अन्य
बाहिरी युद्धमा समाहित हुनको
निमित्त पुरुषलाई नै योग्यताको
प्रमाण पत्र दिइन्थ्यो,
तर समय क्रम यति छिटो
बिकशित हुँदै गयो कि
समयको रेखा सँगै
म स्त्री जातिका निमित्त
कोरिएका सिधा रेखाहरु
बक्ररेखामा परीणत
भयो, जिम्मेवारीहरु समयचक्र
विकास उन्नती भनेर थपिंदै
गए भने योग्यताको प्रमाण पत्र
अनि मुल्यांकन टोली भने उही
पुरानै शैलिका कायम रहे ।
सायद जिम्मेवारीका धेरै थरिका
गह्रुङ्गो भारी
सुम्पिएर हलुका महशुस गरेकोले
हुन सक्छ पुरुष साम्राज्य मौन रहँदै आयो,
जहाँ भएका शासक शैलीका
नारीहरु पनि
पुरुषका आफ्ना हुनाले
त्यो भारी एउटा नयाँ पात्र बनेर
आएको अर्को सन्तानलाई
सुम्पिदा कसैको मन कुँडिन कुरा
पनि भएन !
यस्तै गरी कानमा विकासका
गुन्जन त दैनिकी चरम विविधताका
कर्मलाई नियमका कठघरा भित्र
सज्जन पराई चेलीलाई सुम्पिएर
बिन्दास उडेको यो समाजको
पखेटा बाजको शैलीमा आज
पनि उडिरहेको छ,
नारीले ऐया भनेमा बाजले
एकै गासमा सक्काउन सक्छ,
काखमा लालाबाला
अनि हातमा डाडु पन्युको
जन्जिर मरुन्जेल सम्मलाई
त्यहीँ लैंंगिक दुस्चक्रमा फसेको
पात्रलाई दिएपछी
कतै भाग्ने सोच्न सम्म सक्दैन,
वा,
विकासको ढोलक बजाएर
रमिता हेरेका बाजहरु हो,
चरम यातना, अन्तमनको द्वन्द्व,
आर्थिक, सामाजिक, पारिवारिक रुपमा
कमजोर एक्लो बनाएर
अब सारै गनगन भयो भनेसी
ल गरेर देखाको शैलीमा
चुलो चौको सन्तान हुर्काउँदै
बाहिरसम्म योग्यतामा
तिमीभन्दा अब्बल भएको
देख्न कति गारो भएको छ है,
सोही कारण त
हजारौं युद्ध घर भित्र अनि
कार्यालय भित्र लडेर
समाजका विष बराबरका
केही पात्र घर जो घर तथा अफिसमा
आधिपत्य जमाएर
आफ्नो कलुसित, कालो
धमिलो हृदय शान्त पार्न
वर्षौंदेखि पसिना, रगत र आँशुमा
लपेटिएर मैदानमा उत्रिएकी उनै
स्त्री पात्रमा बर्बरता बर्साउछौ हैन ?
तिम्रो नजरमा राम्रो बन्न
बधाई पाउन अब कुन
योग्यताको परीक्षा दिनु पर्यो ?
कुन परीक्षा लिने
तयारीमा छौ त ?
आउ,
अथवा
पठाउ तिम्रा सिपाहिहरु
मैदानमा तिमीसँग बच्चा, डाडु पन्यौ र
सयौं कुसंस्कारका जंजिर बोकेर भिड्न म
अझै तयार छु ।