19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यादका झिल्काहरू र जीवनको लय

कविता शिलु शर्मा November 5, 2026, 2:12 pm
शिलु शर्मा
शिलु शर्मा

जीवन नामको किताबका पन्नाहरूमा
नमेटिने गरी कोरिएर बसेका छन्
धेरै लय र शृङ्खलाबद्ध यादका झिल्काहरू।

जहाँ सूर्योदयपूर्वका कहालीलाग्दा रातहरूले
कहिले सिरानी भिजाउँथे,
कहिले आफ्नै छायालाई भूत बनाउँथे,
कहिले अँध्यारोमा आँखा नदेखिएर
ठेस लाग्ने अवस्था सिर्जना गर्थे,
त कहिले मीठा सपनामा भुलाएर
अन्तहीन यात्रामा डोर्‍याउँथे।

एक दिन त्यही कालो रातले
एक झिल्को प्रकाशको सपना बुन्न सिकायो।
एउटा निश्चल, निर्भीक र सुन्दर व्यक्तित्वको
आवरण तयार गरी
आफ्नै छायालाई जीवनमा रूपान्तरण गर्न सिकायो।

नमीठा यादहरूले
जीवनका उतारचढावलाई व्यवस्थापन गर्न सिकाए।
अभावमा परिचित अनुहारहरूको
वास्तविक रूपको दर्शन गराए।

सानो उमेरमा आफ्नो जीवनको
तस्बिर निर्माण हुँदै गर्दाका ती दिनहरूमा
शून्य धरातलबाट आफ्नै अञ्जुलीले
सयौँ पटक अभिवादन गरेर थाकेका हातहरू,
अनि स्नेहको प्रतीक्षामा थाकेका नजरहरू
कसरी उपेक्षित भएका थिए !

एउटा सिङ्गो मानव र
सिङ्गो समाजको तीतो आवरणभित्र
नातागोताको साइनो गाँसेर लुकेका
मानवताहीन हृदयहरूको यथार्थ
त्यही समयले उजागर गरेको थियो।

तन, मन, वचन र कर्मले
समर्पित हुँदासमेत आफ्नै नठान्ने,
कसिङ्गरकै रूपमा बढारिएका
ती तमाम यात्राहरूले गर्दा नै
धुलोको कणरूपी जीवन
कसैको स्वार्थी पर्खालको कैदबाट मुक्त भई
बाटोमा फ्याँकिनु नै
जीवन नामको यात्राको पहिलो पाइला रहेछ।

यो यात्राको श्रेय
त्यही तीतो याद र अँध्यारो समयलाई जान्छ,
जहाँ आफ्नाहरूले
मिल्काउने बहाना खोजिरहेका थिए,
अरूहरू भने मिल्काइएको हेर्ने चाहना
पालिरहेका थिए।

एकातिर अदृश्य ईश्वर थिए,
अर्कोतिर कहिल्यै नदेखिएका
नौला आकृतिका बटुवाहरू थिए।
सहारा दिने मन नभए पनि
उनीहरूसँगैको यात्रा
बतासले हुर्‍याएर जोडिएको एउटा संयोग थियो !!

यसरी जीवनयात्रामा
नमीठा पलहरूले
कठिन समयमा कसैको भर पर्न नसकिने
चेतना दिएर गए।

त मीठा पलहरूले
प्रेमिल र न्यानो घामको किरणझैँ,
आमाको ममताको स्पर्शझैँ,
सुन्दर सपनाझैँ,
स्वर्गीय अनुभूति बोकेको एक झिल्को
तेजिलो ज्योति दिन सफल भए।

र त,
जीवनका तमाम अन्धकारमय क्षणहरूलाई
पार लगाउन
त्यही एक झिल्को उज्यालो पर्याप्त बन्यो।
जीवनको आधा अन्धकारमय युग पार गर्न
त्यसैले सहज बनाइदियो।

दोलखा, हालः काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।