प्रिय मालिक,
म जबर्जस्ती
तिम्रो जस्केलाभित्र
हक जमाउन पसेको थिइनँ।
जीवन नामको नियतिले
पछार्दै, ठोक्काउँदै,
घिसार्दै र लतार्दै,
एकपछि अर्को परीक्षा पार गराउँदै,
खहरे सरी बग्दै गर्दा
सागर सरी फैलिएको
कब्जामा रहेको तिम्रो भूमिमा
आएर तैरिएको थिएँ!
ती अनकन्टार खोंचहरूमा
लड्दै गर्दा मलाई हुत्याउने
मेरा आफ्नाभन्दा पनि अन्तिममा
बजारिएको तिम्रो भूमि नै
कता-कता आफ्नो लागेको थियो!
त्यसपछिको मेरो अन्तिम
गन्तव्य तिमी थिएनौ।
त्यति साह्रो सताउने विचार
मभित्र थिएन।
बस्, म त आफ्नै संघर्षको तुफानमा
तिम्रो जस्केलाभित्र पस्दै गर्दा
अहोभावले तिमीलाई
सघाउँदै थिएँ।
तर एक दिन मेरो खानामा
एक्कासि ढुङ्गा बस्यो,
दाँत कुँडियो।
अर्को दिन म कामबाट फर्किंदा
भोको पेट सुत्नुपर्यो।
त्यसपछि एक-एक गर्दै
मेरा निद्राहरू हरण हुन थाले।
मेरा सपनाहरू कैद भएको
अनुभूति हुन थाल्यो।
गर्दै नगरेका सयौँ गल्तीको बोझ बोकेर
रातभरि एक्लै पौडिँदा
रित्तिएका मेरा मस्तिष्कले
केही प्रश्न आफैँलाई सोध्न थाले।
गरिबी र अभावबाट आएपछि
मालिकको आँखामा कसिङ्गर
कसरी बनिन्छ?
जब उसको स्वार्थअनुसार
आफ्नो दैनिकी मिल्दैन,
तब मानिस कसरी पराइ बन्छ?
भन्ने चेत पाएँ।
अब म तयार भएँ।
भोको, अनिँदो,
एउटा अस्तित्वविहीन प्राण,
जसको पुकार सुन्ने
अब त्यही नबोल्ने ईश्वरका
मूर्तिहरू मात्र बाँकी छन्।
जुन तिम्रो भक्ति गर्दागर्दै नै
कतिखेर बुझिसकेको रहेछु।
अनि मात्र हो मैले
स्वाभिमानसहित आफ्ना पाइलामा
विश्वास गर्न सिकेको।
त्यसैले पनि मालिक,
तिमी मेरो लागि अमूल्य छौ।
तर स्मृतिमा एउटा यथार्थ चित्र
उसैगरी आज मौन ध्यानमा बस्दा पनि
किन उभिइरहन्छ?
त्यो बिनागल्तीको दिन,
तिमीले मलाई संसारकै
बुद्धिहीन प्राणी बनाउँदै गर्दा
म मरेतुल्य बनेको थिएँ।
भोको पेटको पीडा खप्न
बरु अभ्यस्त भएको थिएँ,
तर नैतिकता र इमानमा खोट देखाएर
मलाई आफ्नो जस्केलाबाट
पर हटाउने तिम्रो दाउपेच
आफैँमा युद्धभूमिको तयारी थियो।
आफ्नै जीवन बचाउने युद्ध!
हो, त्यही दिनबाट मालिक,
मैले श्मशानसम्मको यात्रामा समेत
तिम्रो सामीप्यता नरहोस् भनी
प्रार्थना गरेको हुँ।