कृत्रिम रेखा

कविता राजेन्द्र कार्की December 6, 2025, 8:45 am

राजेन्द्र कार्की
राजेन्द्र कार्की
वर्णमालाको

पहिलो अक्षर ज्ञ

अन्तिम अक्षर क

चेतमा घोकाइएको भए

वर्णमालाको पहिलो अक्षर

ज्ञ हुने थियो।

घाम

उदाउने दिशा पश्चिम

अस्ताउने दिशा पूर्व

चेतमा भरिएको भए

जताबाट घाम झुल्केपनि

त्यो पश्चिम दिशा हुने थियो ।

मान्छेका कृत्रिम चेत

भाषा नाममा मात्र छैन्

दिशाका नाममा मात्र छैन्

धर्मका नाममा छन्

संस्कृतिका नाममा छन्

सिद्धान्तका नाममा छन्

तिनले सीमाना खडा गदै

चेतनालाई कैद गरिरहेका छन्।

कृत्रिमताको जालोमा बाँधेर

आफ्नै रङ्ग घोल्दै

भाषाको सुगा रटाउँछन्

धर्मको जालमा फसाउँछन्

संस्कारको बल्झीमा अल्झाउँछन्

आदर्श र सिद्धान्तको खोल ओढाउँछन्

मानौं,

चिरिबिरी चराको भाषा होइन

उड्नु चराको धर्म होइन्

रुखमा गुँड लगाउनु संस्कृति होइन

आकाशमा काखा खेल्नु अधिकार होइन

फेरि मान्छे त्यही चरोलाई बन्दुक ताक्दै

अनि हरेक प्राणीको जिउने

हक र स्वतन्त्रताको बिन बजाउँछ !

आफ्नो मात्र स्वर्ग खडा गर्न

विभाजनका रेखालाई मजबुत बनाउँदै

शान्तिको गीत गाउँदै युद्धको सारंगी रेटेर

निरीहको बली चढाउँछन्

अनि विजयको शंखघोष गर्दै

प्रकृतिको निशुल्क उपहारलाई

आफ्नो पुल्ठोमा एकलौटी कस्न

कुनै कसुर बाँकी राख्दैनन्

हरेक जीव निर्जिवका

प्राकृतिक अस्तित्वलाई समाप्त पार्दै

आफ्नो साम्राज्य खडा गर्छन्।

घाम सँधै उज्यालो छ

न कहिल्यै उदाउँछ

न कहिल्यै अस्ताउँछ

पृथ्वीको छाँयामा

दिन र रात गनेर

बनाइएको कृत्रिम रेखामा

पूर्वको पूर्व कता हो?

हजारौं वर्णमालामा कति क होलान्?

फेरि क भन्दा अगाडिको अक्षर के हो?

क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।