समय–त्रासदीका प्रहारः 'ताप'

- छविरमण सिलवाल

नेपाली साहित्यमा प्रिय नाम हो शारदा शर्मा । कविताका सुन्दर वान्कीहरू सिर्जना गर्ने शर्मा पछिल्ला समयमा आत्मपरक निवन्धहरूमा रमाएकी छिन् । उनका निवन्ध प्रस्तुति गर्ने शैली आम निवन्धकारको भन्दा बेग्लै छ । कविता, कथा, निवन्ध, नियात्रा आदी विधाहरूमा आफ्नो पकड बलियो बनाई सकेकी शर्माले उपन्यासमा पनि आफ्नो प्रभुत्व जमाउने जमर्को गरिरहेकी छिन् । कविता सङ्ग्रह ३, कथा सङ््ग्रह १, समिक्षा १, निवन्ध १ र यात्रा निवन्ध १ गरि सात ओटा पुस्तक प्रकाशित गरिसकेकी शर्मा भर्खरै ‘ताप’ उपन्यास लिएर देखा परेकी छिन् । विजयादशमीको संघारमा आएको यो उपन्यास धेरैलाई दसै बिदाको खुराक पनि भयो ।
ताप भन्नाले पोल्ने तताउने वा सङ्घर्षबाट प्राप्त हुने शक्ति भन्ने जनाउछ, अर्को कुरा मान्छेका जीवनमा पर्ने आधिदैविक, आधिभौतिक र आध्यात्मिक आदिबाट पर्ने दुःख र सन्ताप परेका उसका जीवनका सङ्घर्षले सिकाएका पाठबाट मान्छेले सिक्ने, भोग्ने क्रम पनि हो ताप । यस्तै यस्तै ताप पर्दै गए पछि मान्छेमा अझै जिउने उर्जा प्राप्त हुँदै जान्छन् । त्यसैले त भनिन्छ, जीवन सङ्घर्ष हो, सङ्घर्ष नै जीवन हो । एउटा पात्रले आफ्नो जीवन जिउने क्रममा भोगेका भोगाईहरू ताप उपन्यासका कथावस्तुहरू हुन । मूलतः यस उपन्यास भित्र नारीसंवेदनाका विविध पाटाहरूलाई उजागर गर्न खोजिएको छ । लेखक पनि नारी नै भएको कारणले नारीसंवेदनाका कुराहरू उल्लेख्य रुपमा रहेका छन्, भने पुरुष प्रवृतिलाई पनि उनले छर्लङ्याएकी छिन् । एउटा मन्त्री जस्तो गरिमामय पदमा रहेर एउटा पुरुषको घिनलाग्दो करतुत उपन्यास मार्फत व्यक्त भएको छ । मान्छेले आफ्नो पदप्रतिष्ठाको ख्याल नगरी कतिसम्म निच बन्न सक्दो रहेछ भन्ने प्रमाण उपन्यासमा स्पष्ट देखिन्छ । लेखक नारी भए पनि पुरुष प्रवृतिप्रति उनीले निकै गहिरिएर अध्ययन गरेको देखिन्छ तापमा । पुरुष मनोवृतिलाई सहजै प्रस्तुत गर्नु उपन्यासको महत्वपूर्ण पक्ष हो । हालैका नेपाली राजनीतिक आकाशका पनि यस्ता पात्रहरू सल्वलाई रहेको आभाष हामीले पाएका छौं ।
उपन्यास भित्रको एउटा पात्र जीवन भोगाईकै सन्दर्भमा मान्छे प्रति घृणा उत्पन्न हुन्छ, र, ति पात्रको मान्छे प्रतिको निष्कर्ष यस्तो छ ः–‘सम्भवतः मान्छे भनेको सभ्यताको मुखुण्डो भिरेको पशु नै हो ।’ कृतिका हिसावले शर्माको ‘अग्निस्पर्श’ निबन्ध सङ्ग्रह नेपाली साहित्यको विशिष्ट ग्रन्थको रुपमा लिन सकिन्छ । ‘भुईँफूलको देश’ यात्रा निबन्धहरूको सङ्ग्रह पनि उत्कृष्ट रहेको छ शर्माको । उनका लेखनको विशिष्टतालाई मध्यनजर गर्दै नेपाली साहित्यमा उत्कृष्ट पाँच महिला सहित्यकार भित्र शर्मालाई गणना गर्न सकिन्छ ।
तापकै कुरा गर्दा पाठकलाई यो पुस्तक पढ्दा निबन्धात्मक झझल्को भने लागि रहन्छ, । अलग अलग शिर्षकहरूले यो आभाष गराउछ नै, र, त्यस भित्र विभिन्न प्रसंङ्गहरू प्रस्तुत भएका छन् । उनको निबन्धात्मक शैली ताप उपन्यासमा पनि वैशिष्टताका साथ प्रस्तुत भएको पाइन्छ । बौद्धधर्म सम्वन्धि जानकारीहरू प्रशस्त भेटिन्छन् । नारी मनोविज्ञान त्यसमा पनि आनी भएर बस्दाका पीडालाई पोखिएका पाइन्छन् हेरौं उपन्यास भित्रको एउटा अंशः–‘जीवनमा राग बलवान छ । त्यसैका कारण दुःखको सङ्ग्रह हुन्छ । कलेजी लुगामा बेरिएका यी नादान केटीहरूले कसरी जोगाउलान् आफूलाई तृष्णाको ज्वारभाटाबाट ?’ गुम्बामा पुगेकी सुजाताले बौद्ध गुरुहरूको विलासी जीवन देख्दा अचम्म पर्छिन, आइप्याड, कम्प्युटर र जुत्ताका सोखिन रहेको पाउँदा निकै अचम्म लाग्छ उनलाई । बदलिदो समयसंगै भएको परिवर्तनले धर्मलाई पनि छोएको पाउँदा अचम्मित हुनु कुनै नौलो लाग्दैन उनलाई । तर यहाँ के कुरा व्यक्त गर्न खोजिएको छ भने, ति कलेजी लुगा भित्र रहेको आधुनिक रहनसहनले बौद्धमार्गमा लागेका भिक्षुहरूको दिनचर्याले समयसंगै बदलिएको सुविधालाई सदुपयोग गर्न सफल रहेका देखिन्छन्, साथै आफूलाई सधैं अपडेट छु भन्ने कुरा देखाउन खोजिएको छ । यी कुराहरू यहाँ पढिरहदा आनी छोइङ डोल्माको फूलको आँखामा पुस्तकको झझल्को गराउछ । फरक यती मात्र हो आनीको पुस्तकमा आफ्नै संघर्षका कथाहरू रहेका छन्, भने तापमा काल्पनिक । काल्पनिक भित्र पनि कैयौ यथार्थहरू छरपष्ट भएर पोखिएका छन् तापभित्र । ताप एउटा महिलाको सङ्घर्षका कथाहरू बोकेको उपन्यास हो, जसले आम महिलाहरूलाई उत्साह प्रदान गर्न सफल देखिन्छ । धनि परिवारकी केटी गरिव परिवारको केटासंग भएको प्रेम प्रसंगले उनीहरूका जीवन प्रवाहमा अवरोध उत्पन्न भएको देखिन्छ । सायद धनि हुनुको अहम्ले गर्दा उपन्यासकी पात्र चन्द्रावतीको जीवनमा उत्पन्न भएको अवरोधले सिकाएका पाठहरू नै तापका मूल विषयवस्तु भएका छन् । उनले जीवन यापनका समयमा विविध पात्र र परिवेशको वर्णनले उपन्यासलाई पठनिय बनाएको छ । जसमा इतिहास देखि बर्तमान सम्मका दस्तावेजहरू प्रस्तुत भएका छन् । वरिष्ठ सहित्यकार जगदीश घिमिरेको उपन्यास सकसको पनि झझल्को गराउछ ताप पढ्दा, जनयुद्ध र इतिहासको संयोजन गर्ने कला यी दुबै स्रष्टाहरूको वैशिष्टता हो । फरक यति नै हो सकस ऐतिहासिक तथ्यमा आधारित छ र तापमा एउटी नारीले जीवन यापन गर्ने क्रममा जोडिएका सन्दर्भहरू मात्र प्रस्तुत भएका छन् ।
शुरुमा निकै क्रान्तीचेतनाले भरिएको उपन्यास अन्तत शुन्यता तर्फ गएको छ । संसार यो केही होइन रहेछ आखिर ईश्वर नै एक रहेछ भन्ने भाव पनि यहाँ पाइन्छ । यो उपन्यासको अर्को विशिष्टता हो । पक्कै पनि अन्ततः शुन्यता नै त हो । मूलतः अध्यात्मिकताले पनि उपन्यासमा प्रसय पाएकै छ । अन्तमा गुरुको शरणमा जानु गुरुधर्ममा आफुलाई सम्माहित गर्नुले यी कुराहरू बताई रहेका छन् । हेरौं गुरु धम्मपदका पङ्क्तिहरूः–‘आफूभित्रका समस्त संवेदनालाई तटस्थ भावले निरीक्षण गर, दुःखका संवेदनाले पीडित नहोऊ र सुखका संवेदनाले मुदित पनि नहोऊ । हरेक अनुभवमा सम्झिरहनू–यी सबै संवेदना परिवर्तनशील छन्, अस्थायी हुनु, यिनका प्रति राग किञ्चित् उत्पन्न नगर्नू । हरक्षण सम्झिरहनू–शरिरले अनुभव गर्ने यी सबै अनुभव अनित्य हुन्, अनित्य हुन् ।’
उपन्यासकारकै शब्दमा हेरौं– ‘यहाँ भूत, वर्तमान र भविश्यत्का विविध समय–खण्डका अनेक रङ्गहरूलाई मिसाएर बनाएको अमूर्त पानी–तस्बिर छ । यस तस्बिरमा इतिहासको छाया देखिन सक्छ । धर्म र अधर्मका झलक देखिन सक्छन् । हाम्रा वरपर कतै हालसालै छुटेका युद्धका त्रासदी देखिन सक्छ । भविश्यको जिम्मामा छाडिएका सम्भावना देखिन सक्छन् । समयले उपेक्षा गरेका केही जटिल मुद्दाहरू देखिन सक्छन् ।’ यसरी ताप मार्फत जीवनका आरोह–अवरोहहरू पढ्न सकिन्छ । यति हुँदाहुँदै पनि उपन्यासले दिन खोजेको मूल सन्देश चाहिँ स्पष्ट हुन खोज्दा खोज्दै पुस्तकका पाना सकिन्छन् । जेहोस् ताप पाठकका लागि सरल र मन छुने छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 माघ, 2069

लेखकका अन्य रचनाहरु