खेलीगीत र चन्द्रदत्त पाँडे अर्थात् पाँडे बा

- तुलसी प्रवास

लोकगीतका विभिन्न प्रकारहरूमध्येको महत्वपूर्ण एउटा गीत ‘खेली’ हो । खेली गीत नेपाली ग्रामीण समाजका उपज हुन् । यिनको स्रोत पनि गाउँ नै हो । गाउँका बूढापाकाले जसरी गाउँछन् त्यो नै यसको मूल स्वरूप हो । गाउँका बूढापाकाहरू नै यस गीतका जन्मदाता र संरक्षक हुन् । यसलाई फरक –फरक लयमा गाउन सकिन्छ । खेली गीतको विषयवस्तु मूलतः प्रेम नै हो । दोस्रो, यसको विषयवस्तु धर्म, संस्कार हो । पूजाआजा तथा विभिन्न धार्मिक कार्यहरूमा खेली भजनको रुपमा पनि यसलाई गाउने गरिन्छ । त्यसैगरी खेलीगीत भावपूर्ण लोकगीत हो । यसमा प्रेम, करुणा, भक्ति आदिजस्ता भावहरू अभिव्यक्त भएका हुन्छन् । यो गीत रोचक र आकर्षक गीतका रूपमा विकसित भएको छ । जहाँ शिक्षाको प्रकाशले स्पर्श समेत गरेको हुँदैन त्यस्तो समाजमा खेलीगीत अझै मौलाउन सक्दछ । खेलीगीतमा अन्जानमै भए पनि लय, छन्द, विम्ब, अलङ्कार आदि काव्यात्मक गुणहरू भित्रिएका हुन्छन् ।
‘खेल’ मूल शब्दमा ‘ई’ प्रत्यय लागेर ‘खेली’ शब्द बनेको हो । लोकगीतका सन्दर्भमा यसको अर्थ एक प्रकारको गीत भन्ने बुझिन्छ । हाँसखेलका रूपमा व्यक्त हुने अर्थात् कुनै पूजा–आजा, रोदी आदिमा युवायुवतीहरू जम्मा भएर व्यक्त गर्ने सरस र प्रेमपूर्ण अभिव्यक्तिलाई खेली भनिन्छ । यो गीत कहिले भजन बनेर, कहिले प्रेमगीत बनेर त कहिले चुड्का बनेर नेपाली समाजमा गुञ्जिँदै आएको छ । यस खेली गीतलाई विभिन्न विद्वान तथा अनुसन्धानकर्ताहरूले आ—आफ्नै तरिकाले खेली, ख्याली, आँधीखोले भाका, रोइला, चुड्का, लोइरो गीत आदि नामले पुकारेको पाइन्छ । ख्यालख्यालमा गाइने, खेलेर गाइने तथा यही भाकामा दोहोरी खेल्ने भएकाले यसलाई खेली नै भन्नु सान्दर्भिक देखिन्छ । गाउँघरका बूढापाकाहरूले पनि यस्ता गीतहरूलाई खेली नै भन्ने गरिएको पाइएको छ । ब्राहमण, क्षेत्री लगायतका जातिमा प्रचलित यो गीत घर, गोठ, वन, पाखा, आदि ठाउँमा गाइन्छ । बाजाका रूपमा खैँजडी, मुजुरा लगायतका बाजा बजाउँदा रमाइलो भए पनि यसको गायनमा बाजाको अनिवार्यता हुँदैन । त्यस्तै यसमा नृत्यको पनि अनिवार्यता हुँदैन । यो गीत विभिन्न लयमा गाइन्छ । यो गीत रोचक र आकर्षक गीतका रूपमा विकसित भएको छ । यस लेखमा खेलीगीतका एकजना प्रतिभाशाली वृद्धको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ ।
स्याङ्जा जिल्ला थुमपोखरा गा.वि.स. वडा नं.५ स्थित तिवारीपसल भन्ने ठाउँमा गा.वि.स. भवनको पछाडि एउटा सानो र एक्लो घर छ । त्यही घरमा एक दम्पती आफ्नो दुःख सुख जीवनयापन गर्छन् । यी जोडी कुनै समयमा दोहोरी गीतका सक्कली नायक÷ नायिका थिए ।
उमेरले ८०(असी) नाघेका वृद्घ चन्द्रदत्त पाँडे अर्थात् सारा खोलाभरि पाँडे बाका नामले प्रसिद्घ उनी खेलीगीतका महानायक नै हुन् । सामान्य लेखपढ मात्र जानेका पाँडे बाले १६ वर्षको उमेरदखि नै गीत गाउन सुरु गरेका हुन् । उनी गीतमै सवाल जवाफ गर्छन् । गीतमै बात मार्छन् । कोही नौलो मानिस देख्यो कि गीतमै उसको परिचय सोध्ने देखि लिएर गीतकै माध्यमबाट प्रशंसा, गुणगान गाउन थाल्दछन् । यस्तो अद्भूत प्रतिभा छ उनीभित्र । पाँडे बाको सम्बन्धमा गाउँलेहरू अनेक चर्चा गर्छन् । उनका पहिले पहिलेका गीत गाउँदाका क्षणहरू आज सबैका लागि किंवदन्ती जस्तो बनेका छन् । गाउँलेहरूको मुखबाट सुनिएको एउटा सत्य तर किंवदन्ती जस्तो लाग्ने प्रसङ्ग यस्तो छ ः —
पाँडे बा सानैदेखि गीत गाउन खप्पिस थिए । घरमा आर्थिक अवस्था राम्रो नभएकाले उनी पेखुमा तत्कालीन राजासाहेब खाँणहरूकहाँ गोठालो बसेका थिए (पाँडे बाकै मुखबाट भनिएको ) । दिनभर साहुकहाँ काम गर्थे साँझ परेपछि उनी गीत गाउने ठाउँ खोज्दै हिँड्थे । त्यतिबेला भुम्रेबजार (अहिलेको वालिङ नगरपालिका) अत्यन्तै प्रसिद्घ थियो । जताततैबाट गाउँलेहरू नुन,तेल, मरमसला र अन्य सामान लिन भुम्रे आउने गर्थे । मोटर बाटो खनिएको थिएन । डोकोमा सामान बोकेर आउने र साँझ त्यतै बस्ने गर्दथे । यसरी बस्ने बेला रातपरेपछि उनीहरू रोदी बस्थे । ठिटा—ठिटीहरू रातभर दोहोरी गाएर बस्ने क्रममा कोही त्यतैबाटै बिहे गरेर भाग्ने चलन थियो । पाँडे बा पेखुमा गोठालो बस्थे, तल सुर्कौदीमा रोदी गाउन जान्थे । यसरी गाउँदै जाँदा एउटी महिलासँग उनको पिरती बस्यो । गाउँदा —गाउँदै उनीहरूले तीन दिन र तीन रात बिताए । अनि ती महिला जो विवाहित थिइन् र श्रीमान इण्डिया थिए, तिनैसँग उनले गीतकै माध्यमबाट विवाह गरे । विवाह गरेको केही समय पछि कुनै रोगको कारण उनकी श्रीमती अन्धी भएपछि पाँडे बा मर्माहत भए । उनले पत्नीको उपचार गराउने निधो गरे । अर्काको घरमा गोठालो बसेको मानिससँग उपचार गराउन लैजाने सुको पैसा थिएन । थियो त उनीसँग केवल गीतको खानी थियो । प्रतिभै प्रतिभा मात्र थियो । त्यतिबेला सिद्घार्थ राजमार्ग बनिसकेको थियो र वलिङदेखि काठमाडौं बसहरू चल्न थालिसकेका थिए । उनी पत्नीलाई लिएर बसमा चढे । बसमा चढेपछि उनले आफ्नो सिटमा बसेर गीत गाउन सुरु गरे । बसको ड्राइभर, कन्डक्टर खलासी सबैको प्रशंसा गर्दै उसको रुपरङ्ग चाल,चलनको बयान गर्दै गीत गाउन सुरु गरे । उनको सिट वरिपरि बस्ने मानिसहरूको समेत प्रशंसा गर्दै गीत गाउन सुरु गरे । गीतकै माध्यमबाट आफ्नी पत्नी अन्धी भएको, आफूसँग पैसा नभएको र काठमाडौँ उपचार गराउन लैजान लागेको कुरा बताएपछि गाडीका स्टाफ, यात्रीहरू सबैले उनीलाई सहयोग गरे । एक रुपैयाँ नतिरी उनी काठमाडौँ उत्रे । वीर अस्पताल पुगेर पत्नी भर्ना गरे । त्यहाँ पनि डाक्टर नर्स लगायत अस्पतालका सबैलाई गीत सुनाएर निःशुल्क उपचार गरेर पत्नीलाई आँखा देख्ने बनाएर गीत गाउँदै घर फर्के । यो उनको स्मरणमा अझैँ पनि ताजै छ । यसबाट हामी उनको अद्भूत क्षमता सजिलै बुझ्न सक्छौँ ।
नेपाली लोकगीतको यस्तो जिउँदो महाकाव्य आज गाउँमा फालिएको छ । उनका गीतहरू बाएँखोलाको भेलजस्तै उर्लँदै बग्दै हराएर गएका छन् । उनी एकै पटकमा १२ वटा लय ÷भाका निकालेर गाउने दावी गर्छन् । यति मीठो स्वर, लय र यति मार्मिक शब्द छन् उनीसँग कि जसलाई यहाँ लिपिवद्घ गर्न म असमर्थ छु ।
वर्तमान समयमा नेपाली लोकगीतको बजार तातेको छ । जता गयो, जता हे¥यो, जता सुन्यो लोकगीत नै लोकगीत छन् । एउटा कार्यक्रममा स्टेजमा गयो भने एउटा लोकगायकले एक लाख रुपैयाँसम्म कमाएका प्रसङ्गहरू बेलाबेलामा मिडियामा आउँछन् । कोठाभित्र बसेर चार— पाँच वटा लयलाई मिश्रण गरेर आफ्नो नयाँ लय सिर्जना गर्ने र आफूलाई लोकगायक हुँ भन्नेहरू देख्दा लाज लागेर आउँछ । लोकगीतमा ‘लोक’ अर्थात् समाज प्रतिबिम्बित हुनुपर्छ । लोकका आवाजलाई मात्र लोकगीत भन्न सकिन्छ । ती सबै हराउँदै गएको वर्तमान अवस्थामा पाँडे बा एउटा जिउँदो लोकमहाकाव्य हुन् । उनी अब डाँडापारिका जून भैसकेका छन् । असी बर्ष नाघिसकेका वृद्घलाई समयमै चिनेर समयमै उनीभित्रको प्रतिभा , उनका गीतहरू रेकर्ड गराउन सक्यौँ भने नेपाली लोकगीतले वास्तविक स्वरुप भेट्ने थियो कि ? कहिँ छ होला र त्यस्तो उदार मन ??
अन्त्यमा तिनै पाँडे बाद्वारा गाइएका केही गीतहरू उल्लेख गर्न चाहन्छु ः

पोखरीको पानी, चामल धोए चौलानी, सम्झेकै त हौला नि ।
म त स्याङ्जा जिल्ला, बैनी पाल्पा जिल्लाकी, माया लाउन मिल्ला कि ?
भन्छन् दाइ गाउँलेले, बोले हाँसे लइभ्यायो, घरिबारे भैभ्यायो ।
खर काटेर राखे, भाटा काटी छाइदिउँला, डबल माया लाइदिउँला ।
उराठिलो मन, बतासिलो चौपारी, यो बैनीले सौपारी (शोक) ।
पोखरीको पानी, कल्ले लयो खोलेर, के काम लायो बोलेर ।
जगतै उज्यालो, जूनले र घामले, सीताले र रामले ।
गाई कराउँदै गोठ, बाच्छी कता गैछर, अचाल के काम रैछ र ।
मैले माया लाको, तिम्लाई हैन उनलाई हो, घामलाई हैन जूनलाई हो ।
पारि वनपालेमा, चिलाउनेमा चील बस्यो, ए दाइ तिम्लाई दिल बस्यो ।
दिल बसेको फूल, सुके पनि लाउनी हो, अब कहिले आउनी हो ।
अब भेट हुनी, अब आउने दशैँलाई, नभने है कसैलाई ।
तिमी भन्दा खेरि, असिना र पसिना, एकछिन कतै बसिन ।
धन्नै आउनुभयो, उतै मया रसिलो, उकाली पाइ असिलो ।
तेतै पाइ परेको, तेतै सालिम लर्केको, दिलमयालाई पर्खेको ।

(लेखक नेपाली लोकगीतमा पि.एच.डी. अनुसन्धानरत छन् । )

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 19 आश्वीन, 2069

लेखकका अन्य रचनाहरु