सशक्त कविताहरुको संगालो

- छविरमण सिलवाल

नेपाली साहित्यमा युवापुस्ताको अग्रिम पंक्तिमा उभिएकी मोमिलाका सृजनाहरु सशक्त छन् । ‘पैयु फुल्न थालेपछि’ कवितासंग्रह (२०५२) उनको पहिलो प्रकाशित कृति हो । दोस्रो कृति जूनकीरीहरु ओर्लिरहेछन्(२०५५), तेस्रो कृति दुर्गम उचाईमा फूलको आँधी(२०६०) लगायत उनको दुई ओटा कविताकृति Selected Poem अङ्ग्रेजी संस्करण र भीमसेन थापाको सुसाइट नोट(२०७०) प्रकाशन भएका छन् । यहाँ मैले उल्लेख गर्न खोजेको कृति चाहिँ भीमसेन थापाको सुसाइट नोट(२०७०)को हो ।
कविता लेखनमा अत्यन्त लोकप्रिय रहेकी मोमिला कविता, निवन्ध लगायत साहित्यका विविध विधाहरुमा आफ्नो प्रभुत्व जमाउन सफल भएकी छिन् । प्रज्ञा पदक, युवावर्ष मोती पुरस्कार लगायत थुप्रै पुरस्कारहरु प्राप्त गरेकी मोमिला कुशल सम्पादक पनि हुन् । पछिल्लो अवधिमा प्रकाशित भएको पुस्तक ‘सगरमाथाको नृत्यमग्न आत्मा’ यसको उदाहरण हो । एकसय पैतिस जना कविहरुलाई एकै थलोमा उभ्याउन सफल भएकी छिन मोमिला । यस संग्रहहरुमा धेरै पुस्ताका कविहरुलाई भेट्न सकिन्छ ।
‘मेरो जीवनको सम्पूर्ण आस्था कवितामै केन्द्र्रित छ र मलाई कविताको सत्तामाथि पूरा विश्वास पनि छ । जसरी मलाई कविताले आजसम्म बचाएको छ, यसरी नै प्रलयपछिको महाशुन्यमा पनि ईश्वर जस्तो अनुपस्थिति कविको आत्माले नै जीवन गुनगुनाउने सृष्टिको प्रथम या अन्तेम फूल सुरक्षित राख्ने छ र सभ्यताकको प्रथम या अन्तिम निर्देशक पनि उहीँ कविको कविता नै हुनेछ भन्नेमा म ढुक्क छु ।’ कवितामा मोमिलालाई धेरै विश्वास छ, त्यही आत्मविश्वासले उनलाई धकेलिरहेको छ कविता लेख्नको लागि । जीवनका सुन्दर पाटाहरुमा कविताले सिर्जित गर्ने कवि हुन् मोमिला । भीमसेन थापाको सुसाइट नोट(२०७०) भित्रका कविताहरु यसको ज्वलन्त उदाहरण हो । प्रस्तुत कवितासङ्ग्रह भित्र बतिस ओटा सुन्दर कविताहरु रहेका छन् । नेपाली राजनीतिले आक्रान्त बनाएको हाम्रो जस्तो विकासोन्मुख देशका इमान्दार व्यक्तिले आत्महत्या गरेका जीवन्त बिम्ब कवितामा पोखिएका छन् । देशका मार्गनिर्देशकहरुले दृष्टि गुमाउदाको परिणामको भागेदार हामी बनिरहेका छौं । क्रमशः झरीरहेका हाम्रा अंगहरुले हामीलाई दिनप्रतिदिन कङ्काल बनाईरहेको अवस्थामा पनि हामी मुक दर्शक भन्दा केही गर्न सक्दैनौ । यो हाम्रो लाचरी पन हो यीनै मौन आवाजहरुलाई कविता मार्फत उठाएकी छिन मोमिलाले । रात पछिको दिनको कल्पना, अध्यारो पछिको उज्यालोको प्रतिक्षाको पक्षमा उभिएका मोमिलाका कविताहरुले सुन्दर जीवनको पक्षमा सकारात्मक आशा जगाउने पक्षमा वकालत गरिरहेका छन् । र, कविता मार्फत लेख्छिन्ः–
प्रिय प्रेम !
छेउढोकाबाट कसैले गोली नहानून ।
मानवजीवनको जोखिममा तिमीलाई
मूलढोकामै सदा स्वागत छ ....।।

मानविय संवेदनाहरुलाई ध्यानमा राखेर लेखिएका उनका यी कविताहरुले देश प्रेमप्रति सर्मर्पित छन् । नारी पात्रलाई समाजले कमजोर बनाएर पुरुषहरु नारीप्रति दयागर्ने र अझ कमजोर बनाउने संस्कार प्रति विमति छ कविको र नारीहरु पनि कम छैनन् भन्ने कुरा उनले देखाएकी छिन् । मान्छे आफैले आफुप्रति विश्वास गर्न सक्नुपर्छ । सकारात्मक विचारहरुलाई सम्प्रेषण गर्नूपर्छ । सम्पूर्ण मानवहरुको पीडा नै आफ्नो सम्झनु पर्छ, भात्तृत्वप्रेम जगाउँन सक्नुपर्छ भन्ने सकारात्मक सन्देशहरु मोमिलाका कविताहरुले बोलिरहेका छन् । नारी र पुरुष विचको विभेदलाई तिमी र म शिर्षकको कविता पोखेकी छिन्ः– हेरौं केही अंश –
‘हेर न !
हामी दुईको आँखादेखि संगै भागेका सपनाहरुको दुरी उस्तै नै छ,
हामी दुईको संवेदन हुँदै संँगै बगेका नदीहरुको रङ्ग तरङ्ग उस्तै छ
हामी दुईको छातीदेखि सँगै बाफिएर उडेका बादलहरुको हैरानी उस्तै छ
हामी दुईको मनदेखि सँगै उठेका लहरहरुको चञ्चलता पनि उस्तै छ .........।’

समकालीन अनुहारहरूको भीडभित्रै पनि भीडबाटै छुट्टिने मोमिलाका रचानाहरुले आफ्नो समयको निरङ्कुशता, अहमन्यता, विद्रोह, उत्पीडन, साहसिकता, चुनौती, स्वतन्त्रता आदि प्रतिनिधित्व गरिरेका छन् । र, यिनीहरूलाई समेटेर प्रवाहित गर्ने दुई किनारा हुन्– उन्मुक्तिको कामना र उज्यालोको खोज यसैद्धारा उत्कर्षित छन् उनी र उनका कविताहरू यही भावनात्मक केन्द्रियताभित्र मोमिलाका कविताले संस्कार पाएको छ ।
वर्तमान समयमा पोखिएका मान्छेहरुको स्वभावले त्रस्त बनाएको हाम्रो नियतिलाई धिर्कादै अबको दिन सुखमय बनाउँनु पर्छ भन्ने कामना छ उनको । खाटा बसिसकेका घाउलाई नचलाएर अब हामीले हाम्रा वस्तिहरु जल्नबाट रोक्नु पर्ने चाहना छ उनको । के गाऊँ के शहर केही विभेद नगरेर कवितात्मक बनाएर मान्छेहरुलाई प्रेमिल बनाउनु चाहन्छिन मोमिला कविता मार्फत । कविहरुलाई सम्मान गर्छिन्, वर्तमान बानिरा र इतिहास र शब्दचित्रमा सिद्धिचरण यी दुई कविताले पुष्टि गरिहेका छन् । राजमार्ग नहुँदो हो त मान्छेहरु कसरी यात्रा गर्थे होलान ? विकाससंगै बिनासले पनि डेरा जमाएको हुने रहेछ । राजमार्गमा हुने गरेका दुर्घटना र दुर्घटनाबाट मर्नेहरु त मर्छन् नै बाँच्नेले भोग्नु परेका पीडाकाहरुलाई मोमिलाले ‘शून्य राजमार्गको चिया पसल’ शिर्षकमा पोखेकिछिन् । हेरौं–
हो, शुन्य राजमार्गमा चिया पसल छ
चिया पसलमा चिया होइन
मनमायाको आँसु पाक्छ ।
.................................
के तपाईँ गुलियो चियाको बदला
नुनिलो आँसुको मूल्य तिर्न तयार हुनुहुन्छ ।
याम्बुरी बुक व्वाइन्टद्धारा प्रकाशित कवि मोमिलाको नविनम कृति भिमसेन थापाको सुसाइड नोट सशक्त्त कविताहरुको संगालो हो । पठनिय छ, सङ्ग्रहनिय पनि छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 जेठ, 2071

लेखकका अन्य रचनाहरु