लिम्बुवानको भय

- अर्जुनबाबु मावुहाङ

उपभोक्तावादी पाठकहरूको पुस्तक बजारमा देश सुब्बा रचित उपन्यास 'आदिवासी' मुस्किलले ठम्याउन सकिन्छ। उपन्यासको आञ्चलिकता पूर्वी नेपालका भूमिपुत्र वा आदिवासी लिम्बूहरूको सस्कृतिले रङ्गिएको छ। सार्वभौम पात्र 'म' को सर्वज्ञता नै उपन्यासको दृष्टि बिन्दु हो। 'म' पात्र नै उपन्यासकार र नायक (निसाम्) पनि हुन। पात्रहरू बाबु र छोरा (मुख्यनायक) बीच आदिवासीहरूले अधिकार र अवसरको प्राप्तिका लागि आन्दोलन चर्काउनु भन्दा पहिले आफ्नो मौलिक संस्कृतिको संस्थापन गर्नुपर्ने नायकको जिकिर सगै ल्पट (कथानक) को आरम्भ हुन्छ। नायकको आङमा पुर्खौली देवत्व चढेपछि उनी आदिवासीहरूको गाउमा पुग्छन र उनीहरूको जीवनचर्या र आस्था सग सामेल हुन्छन। नायक जङ्गलबाट फर्किएपछि उनी धामी निस्किने गाउघरमा चर्चा हुन्छ। यसरी उपन्यासको उपसंहार हुन्छ। नायक आङ्खनो भाषा, संस्कृति, इतिहास सङ्कटमा देख्छन। उनलाई आफ्नो पहिचान गुम्ने भय छ। उपन्यासको सारवस्तु नैै यत्ति नै हो। भयबाट मुक्त हुन भयलाई नै चिन्नु पर्ने उपन्यासकारको आग्रह छ।

भयको बोध

उपन्यासकारले आफ्नो नैसर्गिक भय र मौलिकतालाई सादृष्य रुपमा मुखरित गरेका छन। नायकको काप्ने र मनोरोग निको पार्न घर देवताको पनि स्तुति गर्नु पर्ने चिकित्सक बाट सुम्काव आउछ। मानवशास्त्री लाईनल काप्लानले भनेजस्तै लिम्बूहरू पुर्खौली माटोका मालिक हुन्छन भने लिम्बूनीहरू देवताका। लिम्बू समुदायमा पूर्वजहरूलाई देवतुल्य मानिन्छन। यस्ता देवहरूको (पुर्खा) को देहमा प्रवेश भएपछि थक्लेसाम्माङ (देहदेव) का रुपमा चिनिन्छन। जस्तै चेम्जोङ थरका लिम्बूनीको देहमा युमादेवी विराजमान हुन्छिन। यिनको मानमनितो पुर्‍याउदा यिनले शक्ति प्रदान गर्छिन। त्यस्तै हेम्ब्या थरका लिम्बूनीको देहमा बादर देउको बास हुन्छ। यिनीहरूको रिसाएको वा विनाशकारी स्वरुपलाई पोतोच्याङ भनिछ। यिनीहरूबाट जोगिन पनि स्तुति गाउनै पर्छ। वर्तमान सन्ततीहरूमा तिनै आत्माको अवतरण हुदै आएको छ। सर्वात्मावादि नायक आफ्ना पुर्खौली विमार र अफापसिद्धता माथि आस्थागत उपचार रोज्न वाध्य हुन्छन। यस्तो नैसर्गिक मूल्य मान्यताहरू भित्र उनी भयको महसुुस गर्छन।

भयको बचावट

उनी बीच जङ्गलमा आदिवासी समूहहरू सग परिचित भइरहदा आश्चर्यजनक ढङ्गले 'ॐ' उच्चारण गरेर आगोको धुनी लगाइरहेका मान्छे भेटछन। तिनीहरू यायावर वा आदिवासी हुंदैनन। कथानकको मुख्य द्वन्द्व नै यहा पाइन्छ। भय माथिको अतिक्रमण र प्रतिकार। हिन्दूधर्मालम्वीहरू आजपनि यस्ता कयौ यायावर आदिवासीहरूको सामरिकत्व लुट्न सांस्कृतिक अतिक्रमणमा लिप्त छन। सत्यहाङमा पन्थमा लागेका लिम्बूहरू हिन्दूहरूले जस्तै आगोको धुनी लगाउदै महायज्ञ गर्छन। उनीहरू हिन्दूधर्मका मूल्य र मान्यताहरूलाई जबरजस्त आफ्नो समुदायमा पनि लागू गरिरहेका छन। लिम्बूहरू बीच वि.सं. १८७५ देखि नै नीति (परम्परागत मुन्धुम मान्नेहरू) र स्मृति (हिन्दू धर्मशास्त्र ग्रहण गर्नेहरू) मान्नेबीच फाटो रहदै आएको छ। लिम्बू संस्कारलाई कम खर्चिलो बनाउन र लिम्बू भाषा, साहित्यको निरन्तरता राखिराख्न महागूरु फाल्गुनन्दले सत्यहाङमा पन्थको निर्माण गरेका थिए तर उनका अनुयायीहरूले उनका बाटालाई कायम राखिराख्न सकेनन्। वर्तमानमा सत्यहाङमा पन्थ आत्मानन्द, ओमनन्द र देउनन्द समूहमा विभाजित भएका छन। आत्मानन्द समूहले हिन्दू मूल्य र मान्यतालाई मुन्धुमका नाममा मात्र अनुशरण गरिरहेका छन् भने ओमनन्द समूहले इसाई मूल्य र मान्यताको प्रचारप्रसार गरिरहेका छन्। कारण आज लिम्बूहरू सत्यहाङमा वा हत्तेहाङमा (सनातनी मान्यतालाई मान्ने र स्तुतिमा भोगबली चढाउने) मतको पक्ष र विपक्षमा बाडिएका छन। नायक सनातनी मूल्य र मान्यताको पक्षमा वकालत गर्दै निर्णायक मोडमा उभिएर भय माथिको अतिक्रमणको प्रतिकार गरिरहेकाछन।

भयको उत्खनन

कथानकको मुख्य स्रोत मिथक हो। मिथक भनेको आदिमताको पुर्नव्याख्या हो। मिथक इतिहास र साहित्यकको स्रोत पनि हो। लिम्बूहरूको मुन्धुम भनेको अध्यात्मिक लाग्ने जनश्रुतिहरू भन्दा पनि नीतिकथाहरू नै हुन्। मुन्धुमलाई मिथक भन्न सकिन्छ। यस्ता पूराकथाहरू भित्र लिम्बूहरूको समाजिक, सांस्कृतिक र न्यायिक सभ्यताको चित्रण भेटिन्छ जुन वर्तमानमा संस्कारमा मात्र सीमित छ।

उपन्यासमा 'तुत्तु' जस्ता मुन्धुमका पात्रहरूको मुख्य सहायक भूमिका भेटिन्छ। नायक बारम्बार 'तुत्तु' बाट निर्देशित हुन्छन। लिम्बू जातिमा 'तुत्तु' वा तुत्तुतुतुम्याङ (पञ्चभलाद्मी), फेदाङबा, साम्बा, र येबाहरू जस्ता पुरोहितहरूको मर्यादा उच्च छ। उनीहरूनै मुन्धुमका ज्ञाता हुन्छन। तत्तुतुम्याङहरू पृथ्वीका सृष्टिसगै जन्मिएका मानिन्छन्। उनीहरूलाई गोभ्रे च्याउमा ओत लाग्नेहरू (होपत्ते?यो वाःकेइम्सिङबा), बाख्राको बडक्यौलामा भारी बिसाउनेहरू (मेदा हिः सम्दो कक् केनाम्बा), खुर्सानीको बोटमा झटारो हान्नेहरू (मच्चि बुङमेओ थाङ केलेप्पा), उन्यूको बोट ढाल्नेहरू (कात्ताक्वा कुबुङ पेःना केदाङबा), जुम्राको मासु काट्नेहरू (सिःपुत्रुकमा साः केजेप्पा) भनेर सम्बोधन गरिन्छ। उनीहरूलाई लिम्बूहरूका सबैभन्दा आदिम र सर्वमान्य पुर्खा मान्ने गरिन्छ। उनीहरूले नै लिम्बू समुदायमा परम्परागत र सांस्कृतिक ढङ्गले शासनको स्वरुप कायम गरेका थिए। फेदाङबा, साम्बा र येबाहरूको सम्बन्धित कार्य अनुसार निर्देश गर्ने कार्य तुत्तुतुम्याङहरूकै हुन्थ्यो। त्यस्तै सुदुक्युखेदुक्यु फेदाङ्बा, फुङजिरीफुङ्काप्पो फेदाङ्बा, थिरि वसोफुङवा फेदाङबा, सिङसारा थेयाप्मि फेदाङबा, मुगप्लुङखागप्लुङ साम्बा, नेन्जिरिनेम्पत्थाङ साम्बा, साजुवेत्मुदाङवेत् साम्बा, सिङदुमइङ फेत्लाइङ साम्बा र नाङगेत्छो फु?लुम साम्बाहरूलाई पेगिफाङसाम (नौ पुरोहित) भनिथ्यो। यिनीहरू नै लिम्बू जातिका संस्कृतिका सृष्टिकर्ता थिए। मिक्नुसो लुम्बाहाङ, मुधिङ्गे साङ्लेक्हाङ, साउन्दु उन्दुहाङ, लालासो पाङ्बोहाङ, फुरुप्सो थेजङहाङ, सगिम्सो सङमिहाङ, खेत्चुयेत् उप्पानहाङ, सेच्छेरे सेनिहाङहरूलाई सावा येहाङ (आठराजा) भनिन्थ्यो। उनीहरूका चेली येबाहरूलाई कमाउने (कमाउने गुरु) सामेधुङ येप्मेधुङ थिइन। फेदाङबा र साम्बाहरूले मात्र लिम्बू जातिको संरक्षण हुन नसकि येबाहरूको उत्पत्ति भयो। याभोक्को यासिरिङ येबा र तेल्लेरे तेन्छामुक येबाहरू क्षेतक्षती मानिन्थे। कुनै बादशाहका वंशावली जस्तै लाग्ने यिनै तुम्याङ, फेदाङबा, साम्बा र येबाहरू लिम्बु समाजका परिचालक थिए।

तिगेन्जोङना र चीलको कथाहरू मुन्धुम सगै सम्बन्धित छन। तिगेन्जोङनाका दुइटा छोराहरू मध्य नाम्सामि (मानिसको छोरा) मानवीय कर्मका प्रतीक हुन्छन भने केसामि –बाघको छोरा) नरसंहारक। नाम्सामि बाट केसामिको हत्या हुन्छ। त्यस्तै नेग्रादेन (ताप्लेजुङ) मा चीलले सावा येहाङका जहान परिवार बालबच्चा ओसार्दै उत्तिसिङपारामसिङ (टुनीको) रुखमा लगेर खान्छ। पोमुकेत्छाङ येबाले यिनको हत्या गरेर मानव समुदायको कल्याण गर्छन। यस्ता मुन्धुममा थुप्रै पुराकथाहरू सुन्न पाइन्छन। पितृदेव पोरोक्मी याम्फामिले फाक्सारा तिगेन्जङबासीहरूलाई ज्याला दिएर छेलो मागि पानीको मुहान फुटाएको, सेच्छेरे सेनिहाङले आगो ल्याएर आफना दाजुभाइहरू सग तरुल, भ्याकुर पोली खाएको, गोठालाहरूले बाली नष्ट गराइदिएपछि रुदै बसेकी सिकेरा एक्थुक्नामालाई तुत्तुतुम्याङहरूले न्याय दिलाएको, सुहाम्फेबा र लाहादोङनाका बीच हाडनातालाई तुम्याङहरूले दण्डित गरेको, मुन्धुमका गाथाहरूलाई नबिर्सने हो भने लिम्बूहरूले आदिम कालमा नै सभ्यता उमारेर न्याय, सुरक्षा, दण्ड, विनिमय र ज्याला जस्ता प्रशासनिक आधारहरू निर्माण गरिसकेको देखिन्छ। उपन्यास भित्र आदिवासीका च्याब्रुङनाच, धान नाच, र चर्खा बुन्ने तान बुन्ने जस्ता संस्कृतिको चित्रणले उनीहरूको राष्ट्रियता र जनजीविकाको निरन्तरता दिन्छ। जुन निरन्तरताले आदिवासीहरूको आदिमता र वर्तमानपनलाई जोडिदिएको छ। नायकले सुम्दो, तुम्बाहाङफे, तङवादेन गाउहरूको चर्चा गरेका छन। वास्तवमै वर्तमान मेची र कोशीका हिमाली, पहाडी सम्पूर्ण भुभाग र केही तराई (पहाडका फेदीहरू)का भागहरू मुन्धुममा वर्णित भएका छन्। नायकले सुम्दो, तुम्बाहाङफे, तङवादेन गाउहरूको चर्चा गरेका छन। यस्तो चर्चाले लिम्बूहरूका थातथलोलाई पनि सिमाङ्कन गर्छ। उपन्यास भित्र भेटिएका यस्ता मिथकहरूले लिम्बूहरूको आदिम सत्ताको पुर्नव्याख्या गर्छ। उपन्यासकारले आदिम पात्रहरूको बर्चस्व देखाउन र आफ्ना परम्परागत मूल्य र मान्यतालाई सजिव चित्रण गराउन प्रतीक, विम्व र मिथकलाई कलात्मक ढङ्गले खेलाएका छन। उनको चमत्कारिक शिल्प शैलीलाई मान्न कर लाग्छ ।

भयबाट मुक्त

नायक जङ्गलबाट फर्र्किए पछि गाउघरमा उनको धामी वा फेदाङबा निस्कने चर्चा हुन्छ। यो घटनाले के सङ्केत गर्छ भने अब नायक आफ्नो मौलिकतालाई जगाउन सनातनी मान्यतालाई अङ्गाल्न धामि (फेदाङबा बन्न) पुग्छन। धामी, फेदाङबा र येवाहरू मौलिक संस्कारका प्रतिक मानिन्छन। लिम्बू भाषाबाट राखिएको नायकको नाम 'निसाम्' को अर्थ ज्ञानी, विवेकशील लागे जस्तै विवेकशील नायक आफ्नो आदिम सभ्यताको छाया मुनी रुम्केर आफ्नो सास्कृतिक धरोहरको पुनः स्थापना र निरन्तरताका लागि जुम्कारु बन्दै भय बाट मुक्त हुन खोजिरहेका छन।

रहलपहल

उपन्यासको शिर्षक 'आदिवासी' र आवरणमा विरुपाक्षको मूर्तिको भावार्थ विरोधाभास देखिन्छ। अलग पहिचान (आफ्नै भाषा, लोकधर्म, संस्कृति, परम्परागत माटो र प्रशासन), लिखित वा मौखिक इतिहास भएका र सामुदायिक भावनाले ओतप्रोत भएका जो सदीयौं देखि राज्यको मूल प्रवाहमा सम्मिलित हुनबाट बञ्चित गराइएकाहरूलाई 'आदिवासी जनजाति' भनिन्छ। विशेष गरी 'आदिवासी' शब्दले बसोबास (समय) वा वंशजको उद्भवलाई जनाउछ। 'जनजाति' शब्द सामाजिक संरचना ( हिन्दू वर्णाश्रम व्यवस्थाभित्र नपर्ने ) सग सम्बन्धित छ। राज्यको यस्तो परिभाषाभित्र 'विरुपाक्ष' लाई आदिवासी मान्न सकिन्दैन। भाषा वंशावली अनुसार उनी अन्तर्वेदी नगरका क्षेत्रीय कुलका ब्राह्मण धर्मशर्माका पुत्र विपाक थिए। उनी पापमुक्त हुन नेपाल आएका थिए। उनलाई आर्यहरूका आस्थाका पुञ्ज शिवको प्रतिकको रुपमा पनि पुज्ने गरिन्छ।

नायकले बारम्बार चर्चा गरेका 'आदिम रुख' को नामाकरण हुनु पर्थ्यो। किनभने टुनी, चिलाउने, सिमल जस्ता रुखहरू नराम्रा आत्माका प्रतिक हुन। चिहान माथि गाडिने लाम्चो ढुङ्गालाई सुत्लुङ भनिन्छ। चङसेक्पा सेक्मुरी फूल संरक्षणको प्रतीक हो कारण चीहानमा भेटिन्दैन। लिम्बू समुदायमा फेदाङबा, साम्बा र येबा उत्रने संस्कार बनम्काक्रीले लगेर धामी उतार्ने विधि भन्दा बेगल हुन्छ। कम्तिमा पनि आफ्ना गूरुको चेला (माङवानेबा/साङलाङगोबा/यागाप्सिबा) भएर दश वर्षसम्म मुन्धुम गाउदै र नाच्दै हिड्नु पर्छ। मुन्धुममा पोख्त भैसकेपछि तिम्सिङमा (गुरु सगै डोहारिने), नाक्सिङमा (गुरु विध्या माग्ने) र थेःसिङमा ( तुत्तुतुम्याङहरू र गुरुसग वाचा गर्ने ) जस्ता परिक्षाहरू उर्तिण गर्नुपर्ने हुन्छ ।

बैठान
उत्तरआधुनिकतावादका संस्थापक फे्रडरिक नित्सेले मिथकलाई नै सहि संसार भनेका छन। मिथकमा भाषाको बढि प्रयोग हुन्छ। उत्तरआधुनिकतावादी ज्याक डेरिडा ज्ञानलाई भाषाको उपज ठान्छन। सत्य, ज्ञान र अर्थ माथि गोराहरूको एकलौटी कब्जा गर्न निर्माण गरिएको सृजनाको भ्रम विरुद्ध थियो उत्तरआधिुनिकतावाद। देश सुब्बाको भयवाद चाहि स्थानीय देशकाल, परिस्थिति विशेष अभिजात संस्कृतिको प्रतिकारमा उभिएको छ। उपन्यासकारले मिथकीय प्रयोग बाट 'आदिवासी' उपन्यासभित्र प्रतीकात्मक सौन्दर्य निर्माण गरेका छन। सर्वात्मावादी लिम्बूहरूको अस्तित्वलाई यो मुखरित गर्नु यो कृतिको मुख्य विशेषता हो। आज ऐतिहासिक लिम्बूवानको पुर्नव्याख्या (पुनःस्थापना) भइरहदा लिम्बूहरू बीचमै स्थायी विचार र नेतृत्वको अभाव देखिएको छ। लिम्बूहरूको यस्तो मनोदशालाई उपन्यासकारले तिखो प्रहार गरेका छन। यसका निदानका लागि लिम्बूहरूमा आफ्नोपनको महसुस हुन आवश्यक छ। आफ्ना सनातनी मूल्य र मान्यता सगै रहन सके मात्र अपनत्वको बोध गर्र्न सकिने उपन्यासकार देश सुब्वाको अनुरोध छ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 12 माघ, 2065

लेखकका अन्य रचनाहरु